१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

तरकारीले बदलियो दैनिकी

डीआर पन्त

डडेलधुरा — तीन वर्षअघिसम्म दाउरा बिक्री र मजदुरी गरी छाक टार्ने रत्ना ऐर अहिले दैनिक ७ क्विन्टलभन्दा बढी तरकारी बिक्री गर्छिन् ।

तरकारीले बदलियो दैनिकी

बिहान झिसमिसेमा जंगलबाट दाउरा ल्याउनु र १० किलोमिटर दूरीमा रहेको सदरमुकाममा बिक्री गर्नु उनको दैनिकी थियो ।गाउँमा सामूहिक तरकारी खेती सुरु भएपछि उनको दैनिकी फेरिएको छ ।

शोभादेवी पनि ३ वर्षयता तरकारी कृषक बनेकी छन् । उनी पनि दैनिक १० क्विन्टलसम्म तरकारी बिक्री गरी मनग्ये आम्दानी गरिरहेकी छन् । यसअघि परम्परागत खेतीपाती गर्ने शोभा पनि दाउरा बिक्री र मजदुरी गरी गुजारा गर्नेमध्ये एक हुन् । शोभा र रत्नाजस्ता ४२ जना महिलाको तरकारी खेती समूह छ । समूहमा २२ वर्षीया युवतीदेखि ६८ वर्षीया वृद्धासम्म आबद्ध छन् । सबैले मिलेर काम गर्न थालेपछि समयको पनि बचत र गाउँमा सदभाव पनि बढेको समूहमा आबद्ध महिलाहरूले बताएका छन् । विगतमा गाउँमा हुने सामान्यखाले झैझगडा पनि घटेका छन् ।

शोभा र रत्ना मात्र नभई अमरगढी नगरपालिका १ भेटाका ३७ परिवारका महिलाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी खेतीका लागि तालिम र प्राविधिक सहयोग पाएपछि उनीहरूको जीवनशैली फेरिएको हो । हरेक परिवारले ५ देखि १० रोपनीमा सामूहिक तरकारी खेती गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगै उनीहरूलाई अमरगढी नगरपालिकाको कृषि शाखाले पनि सहयोग गरिरहेको छ । बीउबीजन, प्राविधिक सहयोगदेखि समयसमयमा आवश्यक परामर्श मात्र होइन तरकारी ढुवानी गर्न परियोजनाले गाडीसमेत उपलब्ध गराएको छ ।

‘गाउँबाट दैनिक २ वटा गाडीमा ५० क्विन्टल तरकारी निकासी हुन्छ,’ कृषक रत्नादेवीले भनिन्, ‘दुई वर्षमा २ करोडभन्दा बढीको तरकारी बिक्री गरिसकेका छौं ।’ झन्डै २ सय रोपनी जग्गामा सामूहिक रूपमा तरकारी खेती गरिएको उनले बताइन् । रत्नाले भनिन्, ‘तरकारी खेती सामूहिक हुन्छ तर बिक्री गर्दा आफ्नो–आफ्नो जमिनमा फलेको तरकारी टिपेर बिक्री गर्ने गरेका छौं ।’ यसले सामूहिक रूपमा काम गर्ने अभ्यास पनि भएको छ भने एक्लाएक्लै गरेको खेतीभन्दा तेब्बर बढी उब्जनी हुने गरेको उनले बताइन् । सामूहिक तरकारी खेती गर्दा समस्या नहुने र सबैले मिलेर काम गर्दा धेरै फलदायी भएको रत्नाले बताइन् ।

महिलाहरूको समूहले उत्पादन गरेको तरकारी अहिले धनगढी, महेन्द्रनगर हुँदै नेपालगन्जसम्म पुग्ने गरेको छ । दुई वर्षयता महिलाको उक्त समूहले सबैभन्दा बढी टमाटार उत्पादन गरेका छन् । टमाटारसँगै आलु, सिमी, काउली, सिमला मिर्च, बैगन, भिन्डी उत्पादन गरेर मनग्ये आम्दानी गरेका हुन् । परम्परागत रूपमा लगाइने धान, गहुँ र मकै बदेलसँगै अन्य जंगली जनावरले सखाप गर्न थालेपछि ३ वर्षअघिदेखि उनीहरूले खेतीपाती गर्न छोडेका थिए । शोभादेवी ऐरले भनिन्, ‘बँदेल लगायत जंगली जनावरका कारण गाउँको सबै जग्गा बाँझो थियो ।’


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि बाँझो जमिनमा सामूहिक तरकारी खेती सुरु गरिएको हो । यस वर्ष मात्र उनीहरूले दैनिक ५० क्विन्टल तरकारीका दरले एक करोडको तरकारी बिक्री गरिसकेको उनले बताइन् । गत वर्ष सबै मिलाएर १ करोड २० लाखभन्दा बढीको तरकारी बिक्री गरेका थिए ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?