३२ अंकले घटयो नेप्से

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक यो साता करिब ३२ अंकले घटयो । उक्त अवधिमा साताका सबै कारोबार दिनमा नेप्से घटेपछि साप्ताहिक रूपमा पनि परिसूचकमा उच्च अंकको गिरावट आएको हो ।

३२ अंकले घटयो नेप्से

साताको पहिलो दिन (आइतबार) को तुलनामा नेप्से परिसूचक १७.७९ अंकले घटेको देखिन्छ । गत आइतबार १ हजार १ सय ९६.२९ विन्दुमा रहेको नेप्से बिहीबार १ हजार १ सय ७८.५० अंकमा ओर्लेको छ ।

यो साता सेयर बजारमा १ अर्ब १७ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १७.८४ प्रतिशत कम हो । उक्त अवधिमा १६ हजार ६ सय २० कारोबारबाट १ सय ८५ कम्पनीका ४४ लाख २१ हजार ९ सय ५० कित्ता सेयर खरिद बिक्री भए । गत साता २२ हजार ५ सय २० कारोबारबाट १ अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख २ हजार ४ सय ५० कित्ता खरिद बिक्री भएका थिए ।

सेयर लगानीकर्ताका लागि यो साता सुखद रहेन । एक साताको कारोबारमा सबै दिनजसो सेयरधनीको सम्पत्ति घटयो । तीमध्ये पनि बिमा, लघुवित्त, जलविद्युत्, विकास बैंक, होटल र बैंकिङ समूहका लगानीकर्ताको सम्पत्ति उच्च अंकले घटयो । साताभरको कारोबारमा बैंकिङ समूहको परिसूचक ३०, होटलको ४०, विकास बैंकको ३७, जलविद्युत्को ३९.३८, उत्पादन तथा प्रशोधनको ८२, जीवन बिमा २ सय ३५, निर्जीवन बिमा करिब १ सय ९४ र लघुवित्त समूहको परिसूचक ५०.२४ अंकले घटेको नेप्सेले जनाएको छ ।

विगतका सातामा जस्तै कारोबारमा वाणिज्य बैंकहरू आबद्ध बैंकिङ समूहको सबैभन्दा बढी नै रहयो । उक्त अवधिको कुल कारोबारमध्ये यो समूहको हिस्सा करिब ४१.४६ प्रतिशत रहयो । गत साताको तुलनामा यस्तो हिस्सा बढेको हो । गत साता कुल कारोबारमा बैंकिङ समूहको हिस्सा ३९.३१ प्रतिशत थियो ।

गत साताको तुलनामा यो साता कुल कारोबारमा बिमा समूहको हिस्सा घटयो । यो साता कुल कारोबारमा बिमा समूहको हिस्सा १८.१८ प्रतिशत छ । गत साता यस्तो हिस्सा २१.१५ प्रतिशत थियो । यसैगरी कुल साप्ताहिक कारोबारमा संस्थापक सेयरको हिस्सा ८.२, लघुवित्तको करिब ८.२२, विकास बैंकको ८.३ र जलविद्युतको हिस्सा ३.९८ प्रतिशत रहयो ।

यो साता कारोबार रकम (६ करोड ६१ लाख ६० हजार रुपैयाँ) का आधारमा एनएमबी बैंक अग्रस्थानमा छ । कारोबार सेयर संख्या (२ लाख १३ हजार कित्ता) का आधारमा एनएमबी बैंक नै सबैभन्दा अघि छ । तर, कारोबार संख्या (५ सय ७९ वटा) का आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको नेप्सेको तथ्यांक छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रहयो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन । उक्त अवधिमा भार्गव विकास बैंक, कर्णाली विकास बैंक र लुम्बिनी विकास बैंकको हकप्रद सेयर कारोबारका लागि सूचीकृत भए ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?