१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

रारामा महिनायता पर्यटक शून्य

राजबहादुर शाही

मुगु — रारामा अहिले पर्यटक संख्या शून्यमा झरेको छ । साउन पहिलो सातादेखि प्रतिकूल मौसमका कारण भरपर्दो हवाई र सडक यातायात नहुँदा पर्यटक संख्या शून्यमा झरेको हो । राराका होटलहरू अहिले खाली छन् ।

रारामा महिनायता पर्यटक शून्य

भारी वर्षाले गमगढी–नाग्मा सडक अवरुद्ध छ भने रारा विमानस्थलमा नियमित हवाई उडान हुन सकेको छैन । साउन पहिलो सातादेखि पर्यटक नआएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ । पर्यटक घुम्न नआउँदा रारा ताल वरपरका डाँफे गेस्टहाउस, भिलेज हेरिटेज रिसोर्ट, माझघट्ट होमस्टेलगायत ठूला र साना दुई दर्जन बढी होटल सुनसान छन् ।

आन्तरिक पर्यटकले प्राय: खाली नहुने डाँफे गेस्टहाउस र भिलेज हेरिटेज रिसोर्ट साउनदेखि खाली रहेको सञ्चालकको भनाइ छ । झरीका कारण रारामा आन्तरिक पर्यटक घटेको रिसोर्टका स्टेसन मेनेजर दीपक रावतले बताए । उनका अनुसार अरू समयमा दैनिकजसो ३० देखि ४० हजारसम्म आम्दानी हुने गथ्र्यो । अहिले होटलमा आम्दानी शून्य रहेको व्यवसायीहरूले बताएका छन् ।

मौसम सुधारिए आन्तरिक पर्यटकको आमगनमा वृद्धि हुने होटल सञ्चालकको भनाइ छ । सधैजसो आन्तरिक पर्यटकले चहलपहल हुने रारा सुनसान देखिएको स्थानीयले जनाएका छन् । खत्याड गाउँपालिका आवतजावत गर्ने बटुवाबाहेक पर्यटक देख्न मुस्किल भएको छ । पर्यटक शून्य भएपछि रारामा डुंगा चलाउनेदेखि घोडा व्यवसायीसमेत मारमा परेका छन् ।

दैनिक करिब ६० वटा घोडाले रारामा आन्तरिक पर्यटक बोक्ने गरेका छन् । आन्तरिक पर्यटक नआएपछि स्थानीय घोडा चराउन पाटनतिर लागेका छन् । ‘एक दिनमा घोडाबाट तीन/चार हजार कमाइ हुन्थ्यो,’ मुर्मा गाउँका गोर्ख रोकायाले भने, ‘हिजोआज एक रुपैयाँ कमाइ छैन ।’ रारामा सञ्चालन भएका तीनवटा रबरका डुंगा पनि एक महिनादेखि बन्द छन् । अहिले निकुञ्जका कर्मचारी र सेना मात्रै रारा क्षेत्रमा छन् ।

रारामा पर्यटक घटेपछि ताल्चा, रिगधारा, सल्लेरी र झयारी, जुम्ला घुच्चीडाबलगायत क्षेत्रमा सञ्चालित होटलको आम्दानी घटेको छ । रारा घुम्न पर्यटक नआएपछि स्थानीय उत्पादन दही, मही, घीउ, आलु, कुखुरा, तरकारीको बिक्री ठप्प भएको छ ।

रारा आउने सडक यातायात र हवाई सेवा भरपर्दो नहुँदा समस्या भएको पर्यटन व्यवसायी पदम न्यौपानेले बताए । उनका अनुसार यातायात भरपर्दो नहुँदा नै रारालाई बाह्रै महिनाको पर्यटकीय स्थल बनाउन सकिएको छैन ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?