१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

छिट्टै सकियो टुसा

लगातार टुसा भाँचे निगालो मासिन्छ । संरक्षणका लागि टुसा टिप्न अवधि तोक्ने गरिएको छ
बिना थापा

कास्की — निगालाका टुसा पश्चिम क्षेत्रका बासिन्दाले चिनेको वर्षाको स्वादिलो तरकारी मात्रै होइन, अन्य सहरमा पठाउनका लागि कोसेली पनि हो । बितेका वर्ष पोखराका बजारमा दसैंसम्म किन्न पाइने टुसाका मुठा यसपटक नपाइने भएको छ ।

छिट्टै सकियो टुसा

एक महिनाका लागि खुला गरिएको टिप्ने समयावधि आइतबारदेखि बन्द भएकाले बजारमा नदेखिने भएको हो । साउनको पहिलो सातादेखि खुला गरिएको एक महिने टुसा टिप्ने अवधि पूरा भएको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) ले जनाएको छ । ‘टुसा जेठको १५ देखि असोजसम्म पाइने भए पनि यसको संरक्षण गर्ने उद्देश्यले एक महिना मात्र खुलाइएको हो,’ एक्यापका स्रोत संरक्षण सहायक लेखनाथ गौतमले भने, ‘लगातार टुसा भाँचे निगालो मासिन्छ । संरक्षणका लागि पनि एक्यापले अवधि तोक्ने गरेको हो ।’

स्थानीयस्तरका प्राकृतिक स्रोत संरक्षण र व्यवस्थापनको जिम्मा स्थानीय संरक्षण व्यवस्थापन समितिलाई छ । संरक्षण समितिमार्फत टुसा भाँच्ने समयमा एकैपटक ठेक्का खुलाउने गरिएको छ । उनका अनुसार सार्दीखोला, माछापुच्छ्रे र ल्वाङघलेल कास्कीमा गरी तीन संरक्षण व्यवस्थापन समितिलाई जिम्मा दिइएको छ । निर्धारित अवधि अघिपछि टुसा टिप्नेलाई एक्यापले कारबाही गर्ने गरेको छ ।

‘टेन्डर खुलेका बेला स्थानीयलाई रोजगारी पनि हुन्छ,’ माछापुच्छ्रे संरक्षण व्यवस्थापन समिति अध्यक्ष सूर्य गुरुङले भने, ‘नटिप्नु भनेका बेला अनधिकृत रूपमा टिप्न पाइँदैन । कारबाही हुन्छ ।’ टुसा पोखरेलीले मन पराउने तरकारीमा पर्ने भएकाले यसको व्यापार राम्रो छ । प्रतिमुठा कम्तीमा ३५ देखि बढीमा ८० रूपैयाँ सम्ममा किनबेच हुन्छ । वर्षायाममा सबै प्रजातिका बाँसका टुसा धेरै पलाउँछन् ।

निगालो बाँसमध्ये निकै पातलो हुने प्रजाति हो । यसको टुसा पलाउने याममा बन्देज गरिए पनि संकलनहरू डाँडापाखा र जंगल पुगेर अनधिकृत रूपमा संकलन गर्न डराउँदैनन् । हूलका हूल टुसा संकलनमा निस्कने चलन रहेकाले पाइने सिजनमा एक्यापले क्षेत्र तोकेर ठेक्का खुला गर्ने गरेको हो । अवधि सकिएपछि भने अनधिकृत रूपमा संकलन गरेको भेटिए जरिवानासहितको कारबाही गर्ने गरिएको छ ।

संकलनमा जानेहरू दिनमा १० देखि ३५ जनासम्म हुन्छन् । उनीहरूले दिनमा ५ हजारसम्म कमाउँछन् । माछापुच्छ्रे संरक्षण व्यवस्थापन समिति अध्यक्ष गुरुङका अनुसार कास्कीका तीन ठाउँको गरी यसपटक ९ लाख ७५ हजारमा ठेक्का लागेको थियो ।

ठेकेदार पुर्खबहादुर पुनमगरका अनुसार टुसा पश्चिमका विभिन्न जिल्लामा खपत हुन्छ । ‘योपल्ट महिनामा अनुमानित २० हजार मुठा बजारमा झारेको थियो,’ उनले भने, ‘जुका लाग्ने भएकाले संकलन गरेर ल्याउन सजिलो छैन ।’

प्रकाशित : भाद्र ११, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?