अवैध बाटो हुँदै तिब्बत पुग्छ यार्सा

कान्तिपुर संवाददाता

सुर्खेत/मुगु — डोल्पाका अधिकांश लेकाली पाटनमा यार्सागुम्बा पाइन्छ । ठूलीभेरीको माझपाल, ठाँगे, से–फोक्सुन्डो निकुञ्ज क्षेत्रको जगदुल्ला, कागमारालगायत पाटनमा बर्सेनि २० हजार बढीले यार्सा संकलन गर्छन् ।

यस वर्ष ४ सय ६६ किलो मात्र यार्सागुम्बाको छुटपुर्जी मात्रै जारी भएको डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ । अघिल्लो वर्ष २ सय १८ किलोको छुटपुर्जी जारी भएको थियो । केही वर्षअघिसम्म व्यापारीले हेलिकप्टर चार्टर गरेर सोझै तिब्बतमा यार्सा लाने गरेका थिए । पाँच वर्षयता अवैध रूपमा यार्सा तिब्बत नगए पनि लुकिछिपी जाने क्रम घटेको छैन ।

सबैभन्दा बढी ०६३ मा ९ क्विन्टल यार्साको छुटपुर्जी दिइएको डोल्पा डिभिजनले जनाएको छ । वन कर्मचारीका अनुसार माथिल्लो डोल्पाका विभिन्न क्षेत्रबाट बर्सेनि एकदेखि डेढ क्विन्टल यार्सागुम्बा अवैध बाटो हुँदै तिब्बत पुग्ने गरेको छ ।

Yamaha

डिभिजन वनबाट यस वर्ष कसैले पनि तिब्बतमा यार्सा पुर्‍याउने छोडपुर्जी लिएका छैनन् तर १२ जनाभन्दा बढी व्यापारी तिब्बतमा राम्रो भाउ नपाएको भन्दै यार्सा बेचेर फर्किएका छन् । देशभित्रै ओसारपसारका लागि अनुमति लिएका व्यापारीले समेत यार्सा तिब्बत पुर्‍याउने गरेका हुन् । कार्यालयले नेपालगन्ज हुँदै काठमाडौं लैजानका लागि मात्र छुटपुर्जी दिइएको जनाएको छ ।

‘अघिल्लो वर्षभन्दा बढी निकासी हुनुको कारण उत्पादन बढेर होइन,’ डिभिजन वन अधिकृत सन्तोषकुमार झाले भने, ‘क्रमश: अवैध बाटोबाट विभिन्न ठाउँमा यार्सा पुर्‍याउने लिगल हुन खोजेका हुन् ।’ अवैध यार्सा ओसारपसार रोक्न प्रहरी, सेना र निकुञ्जका अधिकारीसँग समन्वय गरिएको उनको भनाइ छ ।

डिभिजन वनले एक किलो यार्साको २५ हजार राजस्व संकलन गरिएको जनाएको छ । स्थानीय वन उपभोक्ता समितिले संकलकबाट पाँच सयदेखि एक हजार रुपैयाँ लिएर प्रवेश दिएका थिए । संकलन गरिएको यार्सा व्यापारीले पाटनमै खरिद गरेर विभिन्न ठाउँमा पुर्‍याउने गरेका छन् ।

झाका अनुसार वास्तविक व्यापारीले अवैध यार्सा लिन चाहँदैनन् । ‘उनीहरूलाई पनि आफ्नो लगानी सुरक्षित होस् भन्ने भएकाले कानुनी रूपमै लिन चाहन्छन्,’ उनले भने, ‘तर, भर्खरै व्यवसायमा हात हालेका र कम समयमै राम्रो आम्दानी गर्न खोज्नेहरू कानुनी दायरामा आउन चाहँदैनन् ।’ उनले केही व्यापारीले मुस्ताङ हुँदै काठमाडौंसम्म यार्सा पुर्‍याउने गरेको बताए । तर, स्थानीय बासिन्दाको दाबीअनुसार मुस्ताङको बाटो भएर पनि यार्सा अवैध रूपमा तिब्बत पुग्ने गरेको छ ।

अघिल्लो वर्ष यार्साको भाउ स्थानीय बजारमा २० लाख रुपैयाँ प्रतिकिलो थियो । पाटनमै पाँच सय रुपैयाँ प्रतिकिलोमा बिक्री भएको यार्साको भाउ काठमाडौंमा २८ लाखसम्म पुगेको थियो । डोल्पामा ३६ जनाजति यार्सा व्यापारी छन् । उनीहरूले अघिल्लो वर्ष राम्रो भाउ पाएको भन्दै १३ लाखदेखि २० लाखसम्ममा यार्सा संकलकबाट दुनैमा खरिद गरेका थिए । तर, तिब्बतमा १७ लाख रुपैयाँ बढीमा बिक्री नभएपछि समस्यामा परेका छन् ।

स्थानीयबासीका अनुसार डोल्पोबुद्ध गाउँपालिकाको तिन्जेसँग जोडिने क्याटो नाका र से–फोकसुन्डोको साल्दाङसँग जोडिने मरिम्ला तिब्बती नाकामा यार्सा बिक्री हुने गरेको छ । माथिल्लो डोल्पाका व्यापारीहरू कानुनी दायरामा आउन नमान्दा बर्सेनि लाखौं राजस्व गुम्दै गएको जनप्रतिनिधिको भनाइ छ । सहरतारा तलका क्षेत्रको यार्सा भने कानुनी दायरामै आउने गरेको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले अवैध रूपमा तिब्बत जाने यार्सा रोक्न चुनौती भएको बताए । ‘सरकारी संयन्त्र भएका स्थान भएर यार्सा बिक्रीका लागि लैजाने व्यापारीले वैध रूपमै यार्सा ओसारपसार गर्ने गरेका छन्,’ उनले भने, ‘तर, सरकारी निकायको उपस्थिति कम भएका ठाउँबाट तिब्बत यार्सा जान छोडेको छैन ।’

Esewa Pasal

प्रकाशित : भाद्र ११, २०७५ ०८:२८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छिट्टै सकियो टुसा

लगातार टुसा भाँचे निगालो मासिन्छ । संरक्षणका लागि टुसा टिप्न अवधि तोक्ने गरिएको छ
बिना थापा

कास्की — निगालाका टुसा पश्चिम क्षेत्रका बासिन्दाले चिनेको वर्षाको स्वादिलो तरकारी मात्रै होइन, अन्य सहरमा पठाउनका लागि कोसेली पनि हो । बितेका वर्ष पोखराका बजारमा दसैंसम्म किन्न पाइने टुसाका मुठा यसपटक नपाइने भएको छ ।

एक महिनाका लागि खुला गरिएको टिप्ने समयावधि आइतबारदेखि बन्द भएकाले बजारमा नदेखिने भएको हो । साउनको पहिलो सातादेखि खुला गरिएको एक महिने टुसा टिप्ने अवधि पूरा भएको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) ले जनाएको छ । ‘टुसा जेठको १५ देखि असोजसम्म पाइने भए पनि यसको संरक्षण गर्ने उद्देश्यले एक महिना मात्र खुलाइएको हो,’ एक्यापका स्रोत संरक्षण सहायक लेखनाथ गौतमले भने, ‘लगातार टुसा भाँचे निगालो मासिन्छ । संरक्षणका लागि पनि एक्यापले अवधि तोक्ने गरेको हो ।’

स्थानीयस्तरका प्राकृतिक स्रोत संरक्षण र व्यवस्थापनको जिम्मा स्थानीय संरक्षण व्यवस्थापन समितिलाई छ । संरक्षण समितिमार्फत टुसा भाँच्ने समयमा एकैपटक ठेक्का खुलाउने गरिएको छ । उनका अनुसार सार्दीखोला, माछापुच्छ्रे र ल्वाङघलेल कास्कीमा गरी तीन संरक्षण व्यवस्थापन समितिलाई जिम्मा दिइएको छ । निर्धारित अवधि अघिपछि टुसा टिप्नेलाई एक्यापले कारबाही गर्ने गरेको छ ।

‘टेन्डर खुलेका बेला स्थानीयलाई रोजगारी पनि हुन्छ,’ माछापुच्छ्रे संरक्षण व्यवस्थापन समिति अध्यक्ष सूर्य गुरुङले भने, ‘नटिप्नु भनेका बेला अनधिकृत रूपमा टिप्न पाइँदैन । कारबाही हुन्छ ।’ टुसा पोखरेलीले मन पराउने तरकारीमा पर्ने भएकाले यसको व्यापार राम्रो छ । प्रतिमुठा कम्तीमा ३५ देखि बढीमा ८० रूपैयाँ सम्ममा किनबेच हुन्छ । वर्षायाममा सबै प्रजातिका बाँसका टुसा धेरै पलाउँछन् ।

निगालो बाँसमध्ये निकै पातलो हुने प्रजाति हो । यसको टुसा पलाउने याममा बन्देज गरिए पनि संकलनहरू डाँडापाखा र जंगल पुगेर अनधिकृत रूपमा संकलन गर्न डराउँदैनन् । हूलका हूल टुसा संकलनमा निस्कने चलन रहेकाले पाइने सिजनमा एक्यापले क्षेत्र तोकेर ठेक्का खुला गर्ने गरेको हो । अवधि सकिएपछि भने अनधिकृत रूपमा संकलन गरेको भेटिए जरिवानासहितको कारबाही गर्ने गरिएको छ ।

संकलनमा जानेहरू दिनमा १० देखि ३५ जनासम्म हुन्छन् । उनीहरूले दिनमा ५ हजारसम्म कमाउँछन् । माछापुच्छ्रे संरक्षण व्यवस्थापन समिति अध्यक्ष गुरुङका अनुसार कास्कीका तीन ठाउँको गरी यसपटक ९ लाख ७५ हजारमा ठेक्का लागेको थियो ।

ठेकेदार पुर्खबहादुर पुनमगरका अनुसार टुसा पश्चिमका विभिन्न जिल्लामा खपत हुन्छ । ‘योपल्ट महिनामा अनुमानित २० हजार मुठा बजारमा झारेको थियो,’ उनले भने, ‘जुका लाग्ने भएकाले संकलन गरेर ल्याउन सजिलो छैन ।’

प्रकाशित : भाद्र ११, २०७५ ०८:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT