१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विद्यालय चलाउन च्याउ खेती

काशीराम डाँगी

रोल्पा — आर्थिक समस्याले पिरोलिएको थबाङस्थित वीर बलभद्र माविले च्याउ खेती गरेर खर्च जुटाउन थालेको छ । विद्यालय परिसरको करिब ७ रोपनी जग्गामा च्याउ खेती गरेर अतिरिक्त आम्दानी सुरु भएको हो ।

विद्यालय चलाउन च्याउ खेती

अभिभावकको सहयोगमा सुरु च्याउ खेतीको आम्दानीले शैक्षिक गुणस्तर बढाउन तथा विद्यालयको भौतिक अवस्था सुधार्न मद्दत पुगेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष अजय घर्तीले विद्यालयको आर्थिक अवस्था सुधारेर शैक्षिक गुणस्तर वृद्धि गर्न च्याउ खेती गर्न थालिएको बताए । ‘व्यवस्थापन समिति सदस्य, शिक्षक र विद्यार्थीको सहभागितामा च्याउ खेती गरिएको हो,’ उनले भने, ‘विदेश पुगेकाबाट समेत सहयोग माग्दै आएका छौं ।’


विद्यालयका नाममा पर्याप्त जग्गा रहेकाले विदेशी अनुसन्धानकर्ताको सहयोगमा च्याउ खेती थालिएको प्रधानाध्यापक कुलबहादुर वलीले बताए । ‘यहाँ विद्यावारिधि शोध गर्न आएकी अमेरिकी अनुन्धानकर्ता अगस्त मोल्नारले च्याउ खेतीका लागि तीन लाख रुपैयाँ उपलब्ध गराएपछि यसका बलमा खेती थालिएको हो,’ उनले भने ।

घुमघाममा थबाङ आइरहने मोल्नार अमेरिकामा मानवशास्त्र तथा राजनीतिक अर्थशास्त्र विषयकी प्राध्यापक हुन् । वलीका अनुसार पहिलोपटक ०४० सालमा रोल्पा आएकी उनले शैक्षिक गुणस्तर वृद्धि गर्न आफ्नो कमाइबाट केही रकम पठाउने गरेकी थिइन् । व्यवस्थापन समिति अध्यक्ष घर्तीले बेमौसमी च्याउ खेती गर्दा घाटा बेहोर्नुपरे पनि यो वर्ष ६ सय केजी च्याउ बिक्री गरेर एक लाख रुपैयाँ सञ्चित भएको जानकारी दिए ।


थबाङमा स्थानीय च्याउको मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँ कायम गरिएको छ । तर, सदरमुकाम लिबाङलगायत अन्य बजारमा एक किलो च्याउको मूल्य ६ सय रुपैयाँ छ ।

च्याउ सुकाएर भण्डार गर्ने प्रविधि विद्यालयमा नभएकाले च्याउ कुहिएर नष्ट हुने गरेकोमा यस्तो पद्धती ल्याउन समेत व्यवस्थापन समितिले पहल गरिरहेको छ । अध्यक्ष घर्तीले ‘वर्षा आउनुअघि च्याउ खेती गरिदा बिक्री गर्न मुस्किल भएको’ बताए । वर्षामै बढी उत्पादन हुने भएकाले बजारसम्म लैजान यातायातको साधन अभावमा थप समस्या उब्जिएको हो ।

वर्षाका कारण थबाङलाई सदरमुकाम लिबाङ र दाङसँग जोड्ने सहिद मार्ग अवरुद्ध हुँदै आएको छ । ‘त्यही समयमा सडक भत्कियो । च्याउ बिक्री गर्न सडक मार्ग हुँदै बजार पुर्‍याउनै सकेनौं,’ प्रअ वलीले भने, ‘यसले पनि केही कठीनाइ उब्जाएको स्थिति छ ।’

प्रकाशित : भाद्र १२, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?