१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

तरकारी व्यापारमा बेथिति : जताततै मूल्यबिनाका बिल

किसानबाट संकलन गरिएको तरकारी बिक्री भएपश्चात् मात्रै मूल्य निर्धारण
राजु चौधरी

काठमाडौँ — तरकारी व्यापारमा किसान तथा उपभोक्ता ठगिनुका धेरै कारणहरूमध्ये बिलबिजक पनि एउटा भेटिएको छ । व्यापारमा संलग्न सबै तहमा बिल नै जारी नहुने, जारी भए पनि मूल्य नै उल्लेख नभएको भेटिएको हो ।

तरकारी व्यापारमा बेथिति : जताततै मूल्यबिनाका बिल

सरकारी टोलीले सोमबार बिहान करिब २ बजे बल्खु तरकारी बजारम छापा मार्‍यो । मकवानपुरबाट आएको ट्रक बल्खु तरकारी बजारमा छानबिन गर्दा अधिकांश ट्रकचालक/व्यवसायीले बिल देखाउन सकेनन् । केही व्यवसायीले खरिद परिमाण बिल/कागजमा उल्लेख गरे पनि मूल्य भने खुलाएका थिएनन् ।


‘किसानबाट तरकारी किनेर काठमाडाैंसम्म ल्याउँदा केही नष्ट गर्नुपर्ने हुन्छ । हामीलाई तरकारीको मूल्य थाहा हँुदैन,’ बल्खु तरकारी बजारका गणेश कार्कीले भने, ‘गाडीवालाहरूले यति मूल्यमा बिक्री गर भन्छन्, त्यही मूल्यमा होलसेलमा बिक्री गर्छौं ।’ उनले आफूलाई किसानको स्टाफ भएको दाबी गर्दै किलोको ५ रुपैयाँ ज्याला जोडेर किसानलाई रकम दिने गरेको बताए ।


बिल जारी नहुँदा किसान, उपभोक्तासँगै राज्य पनि ठगिँदै आएको जानकारहरू बताउँछन् । विभागका अनुगमन टोली संयोजक दीपक पोखरेलका अनुसार बिल जारी नहुँदा बिचौलियालाई सरकारले कारबाही गर्न सकेको छैन । ‘अधिकांशले खरिद परिमाण मात्रै टिपोट गरेका छन् । कुनैमा तरकारीको परिमाण उल्लेख भए पनि मूल्य छैन,’ पोखरेलले भने, ‘मूल्य नहुँदा किसान, उपभोक्तासँगै राज्य ठगिएका छन । बिचौलियालाई कारबाही बढाउन अप्ठयारो छ ।’ जानकारका अनुसार किसानलाई मूल्य थाहा हुँदैन । बिचौलियाले मूल्य निर्धारण गर्छन् ।


बिचौलियाले तरकारी बिक्री गरेपछि किसानले रकम पाउँछन् । बल्खुकै व्यवसायी (बिचौलिया) रवि साहले बिल सम्भव नभएको बताए । ‘बिल दिँदैनन् । बेचेपछि पैसा मात्रै लिने गरेका छन्,’ उनले भने, ‘सामान दिँदा बिल पनि माग्दैनन् ।’ किसानबाट संकलन गरिएको तरकारी बिक्री भएपश्चात् मात्रै मूल्य तय हुन्छ ।


विभागले नियन्त्रणमा लिएको बिलले पनि यसलाई पुष्टि गर्छ । मकवानपुरमा रहेको कुटकुटेश्वरी तरकारी सप्लायर्सले गणेश कार्कीको नाममा काटेको बिलमा काउली २३ झोला, धनिया १० क्रेट मात्रै उल्लेख छ । काउली र धनियाको मूल्य उल्लेख छैन । पालुङ कृषि सप्लायर्सको बिलमा जिरे खुर्सानी १ बोरा भनेर उल्लेख छ । अंकिता एन्ड अनुराग भेजिटेबल तथा खाद्यान्न सप्लायर्सले गणेश कार्कीलाई पठाएको बिलमा भिन्डी ५००, बन्दा ४५० र धनिया १३ केजी उल्लेख छ । यी बिलहरूमा मूल्य उल्लेख छैन । मूल्य उल्लेख नहुँदा व्यवसायीले मनोमनी असुल्दै आएका छन् । ट्रकबाट झर्दा प्रतिकिलो ३० देखि ४० रुपैयाँमा खरिद गरेको होलसेल व्यवसायीले मूल्य बढाएर ८० रुपैयाँमा बिक्री गरेका छन । थोक व्यवसायीले पनि मूल्य जारी गरेका छैनन ।


‘हामीलाई बिल दिएको छैन । व्यवसायीले पनि बिल राखेको छैन,’ थोक व्यवसायी उपेन्द्रप्रसाद जैसवालले भने, ‘त्यही भएर हामीले पनि बिल दिंदैनौं ।’ बिलबिजकसँगै अधिकांश व्यवसायीहरू बिनादर्ता सञ्चालन व्यापार गर्दै आएका छन् । ‘फर्म सञ्चालन गरेको करिब ४ वर्ष भयो,’ कार्कीले भने, ‘तर, दर्ता छैन । प्यानको बारेमा केही जानकारी छैन ।’


बल्खु तरकारी बजारमा करिब २ सय ५० स्टल छन् । तीमध्ये करिब २ सय स्टलको मात्रै दर्ता छ । बजार सञ्चालक मनकुमार बस्नेतले भने दर्ता गर्न लगाएको बताए । ‘कृषि क्षेत्रमा त्यो नीति थिएन । दर्ता गर्ने प्रक्रियामा छन्,’ उनले भने, ‘राज्यको प्रक्रियामा पनि ढिला सुस्ती भएको छ । कर कार्यालय र स्थानीय सरकारमा विभेद भएकाले पनि व्यवसायीहरू समस्यामा परेका छन् ।’


बल्खु बजारसरह कालिमाटीलगायत अन्य तरकारी बजारमा पनि उस्तै बिलबिजकको समस्या छ । बिचौलियाहरूले बिनाबिल कारोबार गरिरहेका छन् । कालिमाटी बजारमा च्याउ स्टल राखेका महेश पुडासैनी पनि बिना बिल कारोबार गर्दै आएको पाइएको छ । भक्तपुरबाट खरिद गरी बिक्री गर्दे आएका उनले पनि बिलको कारोबर नभएको बताए । तरकारी उत्पादन र उपत्यका भित्रिने स्रोत एउटै भए पनि फरकफरक मूल्य राखेर बेच्ने गर्छन् ।


धादिङ, चितवन, मकवानपुर, काभ्रेलगायत जिल्लाबाट भित्रिने तरकारी कालिमाटी, बल्खु, मनोहरा, चाबहिल, टुकुचा र बालाजु होलसेलबाट अन्य क्षेत्रमा बिक्री हुन्छ । होलसेलमा मूल्य फरक हुँदा खुद्रा व्यवसायीले पनि त्यसैअनुसार असुल्दै आएका छन् ।


विभागका पोखरेलले बजार व्यवस्थित बनाउन बिलबिजक अनिवार्य जारी गर्नुपर्ने बताए । यस विषयमा व्यवसायीलाई विभागमा उपस्थित निर्देशन दिएको बताए । ‘छलफल गर्छौं, अर्को पटक कारबाही हुन्छ,’ उनले भने ।


व्यवसायी प्रहरी नियन्त्रणमा
उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले स्टल नम्बर १९८ का व्यवसायी रवि साहलाई नियन्त्रणमा लिएको छ । अनुगमनको क्रममा अवरोध गरेपछि साहलाई टोलीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । ‘अन्य व्यवसायीको स्टलमा अनुगमनको क्रममा पनि साहले अवरोध गरेका थिए,’ विभागका अनुगमन टोली सयोजक दीपक पोखरेलले भने, ‘फर्मको दर्तासहित अन्य काजगात देखाउन नसकेपछि प्रहरीलाई बुझाएका छौं ।’ यसअघि विभागले गरेको अनुगमनमा पनि साहले अवरोध गरेका थिए । उनले गत वर्ष तत्कालीन आपूर्तिमन्त्री गणेश पुनको अनुगमन टोलीलाई तरकारीले हानेका थिए ।

प्रकाशित : भाद्र १२, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?