कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भुक्तानी सन्तुलन जोखिममा

मुलुकले वस्तु तथा सेवा आयात गरेबापत ठूलो रकम भुक्तानी गर्न बाँकी छ
यज्ञ बञ्जाडे

काठमाडौँ — सात महिनापछि गत असारमा बचतमा रहेको भुक्तानी सन्तुलन फेरि जोखिममा पर्ने देखिएको छ । उक्त अवधिमा उधारो आयात उच्च दरले बढेकाले भुक्तानी सन्तुलन जोखिममा पर्ने देखिएको हो ।

भुक्तानी सन्तुलन जोखिममा

उधारो आयात (ट्ेरड क्रेडिट्स) को अर्थ विदेशबाट सामान आयात भएको तर भुक्तानी भइनसकेको भन्ने हो । यस्तो रकम निश्चित समयपछि भुक्तानी गर्नुपर्छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत असारमा अन्य लगानी दायित्वअन्तर्गतको उधारो आयात (व्यापारिक साख) ५४ अर्ब ५३ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा यस्तो व्यापार करिब सवा दुई गुणा बढी हो । ०७४ असारमा यस्तो व्यापार २४ अर्ब ३८ करोड रुपैयाँ थियो ।

अहिले कतिपय सामान आयात भए पनि तीनको पैसा भुक्तानी भइनसकेकाले मुलुकको ढुकुटीबाट पैसा बाहिरिएको छैन । यसकारण भुक्तानी सन्तुलन (शोधनान्तर) बचतमा देखिएको हो । सामान आइसकेकाले भुक्तानी राष्ट्रको दायित्वभित्र पर्छ । तोकिएको समयमा मुलुकले उधारो सामानबापतको रकम भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसको प्रत्यक्ष असर भुक्तानी सन्तुलनमा पर्छ । हुन त आयातबापतको रकम बाहिरिँदा त्यो भन्दा धेरै रकम भित्रियो भने भुक्तानी सन्तुलन घाटा नगएर बचतमै रहन सक्छ ।

अर्थतन्त्रको बाहय क्षेत्र अपेक्षित रूपमा सुधार हुन नसकेकाले उल्लेख्य रूपमा विदेशी मुद्रा भित्रने सम्भावना न्यून छ । वस्तु तथा सेवा आयात गरेबापत ठूलो रकम भुक्तानी गर्न बाँकी छ । यही कारण लामो समयपछि झिनो रकमले बचतमा रहेको भुक्तानी सन्तुलन पुन: जोखिममा पर्ने विश्लेषण विज्ञहरूले गरेका छन् ।

मुलुक भित्रिने र बाहिरिने रकमको विवरण देखाउने भुक्तानी सन्तुलन असारमा ९६ करोड रुपैयाँले बचतमा छ । अघिल्लो आर्थिक वर्ष यो ८२ अर्ब ११ करोड रुपैयाँले बचतमा थियो । गत कात्तिकपछि असारमा पहिलोपटक भुक्तानी सन्तुलन बचतमा रहेको हो ।

पछिल्ला महिनामा रेमिटयान्स आप्रवाहमा सुधार भएको, वैदेशिक ऋण बढेको, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा उल्लेख्य सुधार देखिएको लगायत कारण शोधनान्तर बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ । तर, उधारो आयात उच्च दरले बढेकाले त्यसले भुक्तानी सन्तुलनामा पार्ने जोखिमबारे राष्ट्र बैंक मौन छ ।

कतिपय अवस्थामा उद्योगी व्यापारीहरूले सामान आएपछि मात्र पैसा भुक्तानी गर्ने भएकाले उधारो आयात बढ्दा भुक्तानी सन्तुलन चापमा पर्ने अर्थविद् केशव आचार्यले बताए । ‘विदेशबाट सामान आयात गर्दा प्रतीतपत्रमार्फत भुक्तानी दिनुपर्ने भएकाले कतिपय अवस्थामा सामान आइसके पनि पैसा भुक्तानी भइसकेको हुँदैन,’ उनले भने, ‘यही कारण उधारो आयात बढेको हो । कालान्तरमा उक्त रकम भुक्तानी गर्नुपर्ने भएकाले ढुकुटीमा रहिरहन पाउँदैन ।’

शोधनान्तर र चालु खातामा गत अघिल्लो वर्षदेखि नै चाप पर्न थालेको हो । अघिल्लो आर्थिक वर्ष पहिलो २ महिना (साउन र भदौ) मा पनि शोधनान्तर ऋणात्मक थियो । त्यसपछिका महिनाहरूमा शोधनान्तरमा सुधार देखिँदै आए पनि चालु खाता ऋणात्मक रहिरहयो । यही प्रवृत्ति गत आर्थिक वर्षमा पनि दोहोरियो । गत आर्थिक वर्षको सुरुका दुई महिनामा पनि शोधनान्तर ऋणात्मक रहयो । त्यसपछिका दुई महिना (असोज र कात्तिक) महिनामा शोधनान्तर स्थिति थोरै बचतमा देखियो । त्यसपछि लगातार सात महिना शोधनान्तर घाटामा रहयो । तर, अन्तिम महिना (असार) मा शोधानान्तर करिब १ अर्ब रुपैयाँले बचतमा छ ।

अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रेमिटयान्स भित्रिँदै आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन । तर, पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाह र व्यापार घाटाबीचको अन्तर फराकिलो बन्दै गएकाले अवस्था चुनौतीपूर्ण बन्दै गएको अर्थविदहरूले जनाएका छन् ।

गत आर्थिक वर्षमा रेमिटयान्समार्फत ७ खर्ब ५५ अर्ब रुपैयाँ मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ८.६ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ४.६ प्रतिशत थियो । गत वर्षको रेमिटयान्स आप्रवाह सोही अवधिको जीडीपीसँगको अनुपात २५.१ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो अनुपात २६.३ प्रतिशत थियो ।

गत आर्थिक वर्ष मुलुकले ११ खर्ब ६१ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । अघिल्लो वर्षको तुलनामा यस्तो घाटा २६.७ प्रतिशतले बढेको हो ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?