२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

एक महिनादेखि रसुवागढी नाका ठप्प

बलराम घिमिरे

रसुवा — चीन जोड्ने एक मात्र अन्तर्राष्ट्रिय रसुवागढी नाका एक महिनादेखि ठप्प छ । रसुवागढी नाका नजिकैको पहिराले घट्टेखोलाको पुललाई बाढीले पुर्‍याएको क्षति र गोसाइँकुण्ड गाउँपालिका ५ को खोपाङ भीरको पहिराले यातायात अवरुद्ध भएपछि एक महिनादेखि नाका ठप्प भएको हो ।

एक महिनादेखि रसुवागढी नाका ठप्प

बाढीले क्षति पुर्‍याएको पुल मर्मतमा ढिलाइ हुँदा साउन १२ देखि नाकामा यातायात ठप्प भएको छ । यातायात ठप्प भएपछि स्याउ, लसुनलगायत सामग्री कुहिन थालेका छन् । चाडवाडका लागि नेपाल ल्याउन लागिएका अर्बौं मूल्यका सामान चीनको केरुङमा थन्किएका छन् । करिब १ हजार २ सय कन्टेनर बराबरको सामान केरुङमा थन्किएको व्यवसायी टपिन्द्र तिमिल्सिनाले बताए । ‘केरुङमा थन्किएका अघिकांश सामग्री दसैं र तिहारसँग सम्बन्धित छन्,’ उनले भने ।

यसबाट व्यवसायीले करोडौंको घाटा व्यहोर्नुपर्ने अवस्था छ । ‘एक महिना भयो, भन्सारमा राजस्व नउठेको,’ रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले भने ।

व्यापारीहरूले स्याउको ढुवानी भरियालाई बोकाएर गर्न थालेका छन् । स्याउ कुहिन थालेपछि बोकाएर ल्याउनुपरेको स्वर्णिम इम्पोर्ट एक्स्पोर्ट प्रालिका प्रोपाइटर शारदा पराजुलीले बताए । ‘स्याउ पनि रसुवागढी, घट्टेखोला र खोपाङ भीर गरी तीन ठाउँमा पल्टी गरेर भरियालाई बोकाउनपर्छ,’ उनले भने, ‘तीन–तीन ठाउँमा गाडीबाट झिक्ने, राख्ने र भरियालाई बोकाउँदा स्याउ बिग्रिने गरेको छ ।’ केरुङमा रहेको ४ कन्टेनरबाट सामान चोरी भएको व्यापारीले बताएका छन् ।

सामान आयात रोकिँदा केरुङमा अहिले गोदामसमेत खाली छैन । तीजका लागि ल्याइएका सौन्दर्य र तयारी पोसाक अधिक छन् । अन्तर्राष्ट्रिय नाका ठप्प भएको एक महिना बितिसक्दा पनि सरकारले सडक खोल्न ध्यान नदिएको व्यापारीहरूको आरोप छ । यातायात अवरुद्ध हुँदा सबैभन्दा बढी व्यवसायी मर्कामा परेका छन् । एकातिर व्यापारीले लाखौं घाटा व्यहोरिरहेका छन् अर्कातर्फ सरकारको राजस्व संकलन ठप्प छ ।

यातायात नचल्दा जिल्लाको उत्तरी भेगका स्थानीय बासिन्दा, चिनियाँ पर्यटक र मानसरोवर जाने तीर्थयात्रीहरू मर्कामा परेको गोसाइँकुण्ड गाउँपालिका २ का वडा अध्यक्ष दावादार्जे तामाङले बताए । रसुवागढी नाका हुँदै चीनको कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीहरू महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका छन् ।

डिभिजन सडक कार्यालय नुवाकोटले यातायात सञ्चालन हुन अझै केही दिन लाग्ने अनुमान गरेको छ । सडक डिभिजन प्रमुख निरज शाक्यले भने, ‘गोसाइँकुण्ड गाउँपालिकाको घट्टेखोला पुल मर्मत सकिएको छ । शुक्रबारदेखि पुलबाट यातायात सञ्चालन गर्ने तयारी गरेका छौं ।’ धुन्चे–स्याफ्रुबेंसी सडक खण्ड शनिबारदेखि खुलाउने कार्य भइरहेको छ । पहिरो पन्छाउन स्काभेटर र लोडर प्रयोग गरिएको छ । पहिरो ठाउँमा ठूलो ढुंगा भएकाले ब्लास्टिङ गर्न कठिनाइ भइरहेको शाक्यले बताए ।

रसुवागढी नाका जोड्ने सडक खण्डको तीन स्थानमा ब्लास्टिङ गर्नुपर्ने डिभिजन सडक कार्यालयले बताएको छ । धुन्चे–स्याफ्रुबेंसी सडक खण्डमा यातायात सुचारु भएपछि सीमा नजिकैको पहिरो पन्छाउन सुरु गरिने कार्ययोजना तय भएको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलका अनुसार व्यवसायीको टोलीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठसँग भेटेर सडक सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ । ‘सरोकारवाला सबैसँग अनुरोध गरेका छौं,’ उनले भने, राजधानीलगायत मुलुकका मुख्य बजारहरूमा चिनियाँ सामानकै वर्चश्व छ । दसैंमा चिनियाँ तयारी पोसाकको बढी माग हुने गरेको छ ।

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हुँदै आएको छ । रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?