३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नयाँ रेकर्ड बनाउँदै डलर, नेपाललाई लाभभन्दा हानि धेरै

काठमाडौँ — शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ २५ पैसा खर्चिनुपर्ने भएको छ । यो विनिमय दर हालसम्मकै उच्च हो । यसको अर्थ डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्ने हो । दुई दिनअघि एक अमेरिकी डलरको विनिमयदर १ सय १२ रुपैयाँ ६५ पैसा पुगेको थियो ।

नयाँ रेकर्ड बनाउँदै डलर, नेपाललाई लाभभन्दा हानि धेरै

खासगरी दुई कारणले डलरसँग नेपाली मुद्राको मूल्य (भाउ) घटछ । पहिलो विश्व बजारमा अमेरिकी डलर बलियो बन्दै जानु र दोस्रो डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुनु । अहिले दोस्रोभन्दा पनि पहिलो कारणले नेरुसँग डलरको विनिमय दर बढदै गएको हो । पछिल्लो समयमा अमेरिकी अर्थतन्त्रमा देखिएको सुधारले विश्व बजारमा डलरको भाउ सुधारिएको हो । विज्ञहरूले यसलाई ‘ट्रम्प इफेक्ट’ को संज्ञा दिएका छन् ।


मुलुकमा लगानीमैत्री वातावरण निर्माण गरी लगानीकर्तालाई स्वदेशमै लगानी गर्न प्रोत्साहित गर्नु, विदेशबाट आयातित वस्तुको भन्सार बढाएर स्वदेशी वस्तु तथा सेवा प्रयोगमा जोड दिनुलगायत कारणले अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको हो । ‘अमेरिकी अर्थतन्त्रका आधारभूत सूचकहरू कुल गार्हस्थ उत्पादन, बेरोजगारी, मूल्य वृद्धिलगायतमा उल्लेख्य सुधार भएको छ,’ राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले भने ।


अमेरिका र चीनबीचको व्यापार युद्धका कारण यसै पनि कमजोर बन्दै गएको भारुलाई टर्कीको संकटले थप कमजोर बनाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्टिल र अल्मुनियममा लाग्दै आएको भन्सार महसुल दोब्बर बनाएसँगै टर्कीको अर्थतन्त्रमा समस्या देखिएको हो । यसले टर्कीको मुद्रा लिरा पनि अवमूल्यन भएका सामाचारहरू प्रकाशित भएका छन् । यसको असर युरोपेली बैंकहरूमा पनि पर्न सक्ने अनुमान उनीहरूको छ ।


पछिल्लो समयमा सबै उदीयमान राष्ट्रका अर्थतन्त्रमा समस्या देखिन थालेका छ । अमेरिकी अर्थतन्त्रमा आएको सुधारसँगै ती राष्ट्रको आर्थिक गतिविधि प्रभावित हुन पुगेको हो । यही असर भारतीय अर्थतन्त्रमा पनि परेकाले डलरको तुलनामा भारु कमजोर बन्दै गएको विज्ञ बताउँछन् । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतको चालु खाता घाटा त्यहाँको कुल गार्हस्थ उत्पादन (जीडीपी) तुलनामा २ प्रतिशतभन्दा बढी पुगेको छ । यो पनि हालसम्मकै उच्च हो । राष्ट्र बैंकले शुक्रबारका लागि प्रकाशित गरेको विनिमय दरअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १२ रुपैयाँ ६५ पैसा छ । यो पनि हालसम्मकै उच्च हो ।


पछिल्ला दिनहरूमा भारतीय मुद्रा निरन्तर रूपमा कमजोर बन्दै गएको छ । डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुनु पनि नेपाली रुपैयाँ अवमूल्यनको अर्को कारण हो । बिहीबार एक अमेरिकी डलरका लागि भारु ७० रुपैयाँ ७६६ पैसा खर्चनुपरेको थियो । नेरु र भारतीय रुपैयाँ (भारु) बीच स्थिर विनिमय दर छ । भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर रहेकाले अमेरिकी डलरको तुलनामा भारु कमजोर हुँदा नेरु पनि कमजोर र बलियो हुँदा बलियो हुन्छ ।


नेरुको तुलनामा डलरको विनिमयदर धेरै हुँदा निर्यात प्रोत्साहित हुनुका साथै रेमिटयान्स आप्रवाहमा फाइदा हुन्छ । प्रत्यक्ष विदेशी लगानीमा सकारात्मक प्रभाव पर्छ । पर्यटनमा सुधार हुन्छ । नेपालका ती सबै क्षेत्र कमजोर छन् । यसकारण डलरको मूल्य बढदा पनि नेपालले ती क्षेत्रबाट अपेक्षित रूपमा लाभ लिन सक्दैन ।

यसको विपरीत नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । आयात, विदेशमा औषधिउपचार, अध्ययन भ्रमणलगायतको लागत महँगो पर्छ । समग्रमा अमेरिकी डलरको मूल्य बढदा नेपाललाई लाभभन्दा पनि धेरै हानि भएको विज्ञहरू बताउँछन् ।


प्रकाशित : भाद्र १४, २०७५ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?