२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

स्याउ टिप्ने तयारीमा किसान

आश गुरुङ

मनाङ — वर्षा थामिएर सडक यातायात सहज हुनेबित्तिकै यहाँबाट स्याउ टिपेर पठाउने क्रम सुरु हुनेछ । किसान स्याउ टिप्ने उचित समयको पर्खाइमा छन् ।

स्याउ टिप्ने तयारीमा किसान

पछिल्ला केही वर्षयता स्याउ खेती गरिएका क्षेत्रमा असारदेखि भदौसम्म पनि वर्षा हुन थालेको छ । यसको असर किसानको दैनिकीमा परेको छ । स्याउ अब पाक्ने क्रम सुरु भएको छ । बोटमुनि उम्रिएका झारपात पन्छाउनुका साथै किसानले आवश्यकताअनुसार स्याउ बाँकी राखेर बोट काँटछाँट सुरु गरेका छन् । वर्णसंकर जातका स्याउ लगाएका किसान अनुकूल मौसम पर्खंदै टिप्ने तयारीमा छन् ।


असोजको पहिलो सातादेखि स्याउ टिप्ने उनीहरूको तयारी छ । कात्तिकसम्ममा स्याउ टिपिसक्छन् । ‘अब स्याउ पाक्नै आँटयो । असोजबाट टिप्ने धमाधम हुन्छ,’ मनाङको चामेस्थित जिल्लाका पुराना स्याउ कृषक ७५ वर्षीय नुर्बु लामाले भने । तीन दशकयता ५ सय बोटमा स्याउ फलाएका उनी रैथाने स्याउका कृषक हुन् । उनको बगैंचामा रोयल, गोल्डेन र रेड डेलिसियस जातका स्याउ छन् । मनाङमा रैथाने स्याउ किसानका बगैंचामा यी तीनै प्रकारका
स्याउ छन् ।


पछिल्लो समय किसानले हाइब्रिड (वर्णसंकर) जातका स्याउ फलाएका छन् । चामे गाउँपालिकाको थान्चोकका नरेन्द्र घलेका अनुसार सानो बोटमा छिटो र धेरै दाना लाग्ने भएकाले जिल्लामा वर्णसंकर जातका स्याउ लगाउनेहरू बढेका छन् । ‘मेरो १२ रोपनीमा वर्णसंकर नै छ,’ उनले भने ।


वर्णसंकरमा सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिका १ भ्राताङको एग्रो मनाङ प्रालिले ४ सय ५० रोपनी जग्गामा लगाएको छ । ७ सय ३५ रोपनीमा स्याउ खेती गर्ने लक्ष्य लिएकामा बाँकी जग्गामा स्याउ फलाउने तयारी एग्रो मनाङको छ । संस्थाका अध्यक्ष समराज गुरुङकाका अनुसार इटली र सर्भियाबाट बेर्ना ल्याएर चार वर्षदेखि खेती गरिएको हो । रोपेको ६ महिनामै फल दिन थालेका बोटले राम्रो उत्पादन दिएका छन् । गत वर्ष करिब ३ सय टन स्याउ फलेको उक्त बगानमा यो वर्ष करिब ५ सय टन उत्पादन हुने प्रक्षेपण गरिएको छ । उक्त बगैंचामा गाला, फुजी र गोल्डेन जातका स्याउ फलेका छन् । उक्त बगान सार्क राष्ट्रकै नमुना र ठूलो दाबी गरिएको छ ।


जिल्ला कृषि विकासका अनुसार मनाङमा बर्सेनि स्याउ खेती विस्तारको क्रममा छ । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७४/७५ मा ८९ हेक्टर क्षेत्रफलमा रहेको खेतीबाट ९ सय १० टन उत्पादन भएको थियो । आव २०७३/७४ मा ८७ हेक्टर क्षेत्रफलमा ८ सय २५ टन स्याउ फलेको थियो भने आव २०७२/७३ मा ७८ हेक्टर क्षेत्रफलको उत्पादन ६ सय ६५ टन थियो । मनाङमा स्याउ उत्पादनका आधा हिस्सा एग्रो मनाङ प्रालिको छ ।


कृषि प्रसार अधिकृत रामकुमार साहले बर्सेनि स्याउ उत्पादन बढेको बताए । ‘फाइदा हेरेर रैथाने प्रजातिको बोट लगाउने घटदो र वर्णसंकरको बढदो छ,’ उनले भने, ‘यो वर्ष पनि उत्पादन बढ्ने स्थिति छ ।’


व्यवस्थित तवरले खेती गर्दा फाइदा हुन थालेपछि व्यावसायिक किसान पनि बढेका छन् । उनीहरूको ध्यान बढी मात्रामा वर्णसंकर जातका स्याउमा छ । समयमा गोडमेललगायत, मल तथा सिँचाइले स्याउ उत्पादन भने बढेको कृषि प्राविधिक बताउँछन् । एग्रो मनाङ प्रालिले फलाउने स्याउ बिक्रीका लागि मुख्य बजार काठमाडौं हो । यो वर्षदेखि बगानछेउमै चिप्स तथा पेय पदार्थको उद्योग सञ्चालनमा ल्याइने अध्यक्ष समराज गुरुङले बताए । यातायात असहज रहँदा केही वर्षअघिसम्म मनाङका स्याउ ७० प्रतिशत हाराहारीमा जिल्लामै खपत हुन्थ्यो । तर, वर्णसंकर जातका स्याउ लगाउन थालेपछि बढेको उत्पादन बिक्रीका लागि अधिकांश बाहिरिन्छ ।


मनाङमा कृषिलाई हेर्ने गरी लमजुङमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । मनाङ जाने एक मात्र बाटो लमजुङबाट छ । लमजुङको बाटो हुँदै मनाङको स्याउ बाहिरी जिल्लामा लाने गरिएको छ ।


लमजुङको मस्र्याङदी गाउँपालिका, चितवन, पोखरा साथै काठमाडौंसम्म पुग्ने गरेको स्याउ अहिले काठमाडौंमा धेरै खपत हुने व्यवसायी बताउँछन् । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाबाहेक मनाङ ङिस्याङ, नासों र चामे गाउँपालिकामा बढी स्याउ हुन्छ । यसअघि चामेमा बढी स्याउ हुने गरेकामा पछिल्लो समय मनाङ ङिस्याङमा हुने गरेको छ ।

प्रकाशित : भाद्र १५, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?