१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

साटिएन ५ करोड भारु

भारतीय पक्षले चासो दिएन, समय जति लम्बिँदै जान्छ नोट साटिने सम्भावना कम हुँदै जान्छ
यज्ञ बञ्जाडे

काठमाडौँ — भारतीय मुद्रा पाँच सय र हजार दरका नोट चलनचल्तीबाट हटाएको करिब दुई वर्षसम्म पनि नेपालमा रहेका ती दरका नोट साटिएको छैन ।

साटिएन ५ करोड भारु

नोट सटहीका लागि सरकार र राष्ट्र बैंकमार्फत अनेकौं प्रयास भए पनि भारतीय पक्षले महत्त्व नदिएपछि ती नोट नसाटिएका हुन् । यहाँ रहेको करिब ८ करोड रुपैयाँ बराबरका नोट निष्क्रिय बनेका छन् ।


पछिल्ला महिनाहरूमा भारतीय पक्षले नोट सटहीसम्बन्धी कुरा सुन्नै छोडेकाले नेपालमा रहेको भारु पाँच सय र हजार दरका नोट साटिने सम्भावना न्यून बन्दै गएको जानकारहरू बताउँछन् । नेपाल सरकारले प्राथमिकताका साथ पहल नगरेको र राष्ट्र बैंकको अक्षमताका कारण वैधानिक रूपमा रहेका भारु पनि साट्न नसकिएको उनीहरूको भनाइ छ ।


बिमस्टेक सम्मेलनका लागि यतिबेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा छन् । बिमस्टेक सदस्य राष्ट्रहरूबीचमा सहयोग र सहकार्य गरी अघि बढ्ने उनले बताएका छन् । नेपालीसँग रहेको आफूले प्रतिबन्धित गरेको भारु पाँच सय र हजार दरका नोट सटहीबारे उनी मौन छन् ।


नेपालजस्तै छिमेकी राष्ट्र भुटानमा रहेको सबै प्रतिबन्धित भारु नोट सटही गरिसक्दा पनि नेपालमा रहेको नोट सटहीबारे भारत सरकारले कुरा सुन्नै चाहेको छैन । नोट सटहीका सन्दर्भमा भारतले नेपालप्रति देखाएको व्यवहार सहय नभएको विज्ञहरू बताउँछन् । खासगरी सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकले प्रभावकारी रूपमा कुरो राख्न नसक्दा यस्तो अवस्था आएको उनीहरूको भनाइ छ । गत चैतमा प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएको बेला नोट सटहीको विषय उठान गर्न नसक्नु नै ठूलो कमजोरी भएको उनीहरूको ठहर छ ।


भारत सरकारले ०७३ कात्तिक २४ गते (नोभेम्बर ९, २०१६) देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो । त्यसबेलादेखि नेपालमा पनि भारु पाँच सय र हजार दरका नोट चलेका छैनन् । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा करिब ५ करोड भारु पाँच सय र हजार दरका नोट छन् । यसबाहेक सर्वसाधारणसँग भएको प्रतिबन्धित भारुको यकिन तथ्यांक राष्ट्र बैंकसँग पनि छैन ।


सुरुमा राष्ट्र बैंकले रुपैयाँ नेपाली वित्तीय प्रणालीमा करिब ७ करोड ८५ लाख भारु पाँच सय र हजार दरका नोट रहेको बताएको थियो । तर, सबै निकायसँग रहेको भारु संकलन गर्दा करिब ५ करोड जम्मा भएको छ । यसबीचमा सम्बन्धित निकायले विभिन्न माध्यममार्फत केही भारु सटही गरिसकेका छन् ।


‘भारु सटहीका लागि हामीले हदैसम्मको प्रयास गरिरहेका छौं,’ राष्ट्र बैंक विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानाले भने, ‘तर, भारतीय पक्षले चासो दिएन । समय जति लम्बिँदै जान्छ नोट साटिने सम्भावना पनि कम हुँदै जान्छ ।’ नोट सटहीका लागि छलफल गर्न पछिल्लोपटक नेपाल आएको भारतीय रिजर्भ बैंक (आरबीआई) को टोलीले गरेको प्रतिबद्धता पनि पूरा नगरेको उनले बताए ।


भारु प्रतिबन्धको निर्णय नितान्त राजनीतिक भएकाले भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया) सँग मात्र कुरा गरेर नहुने उनको भनाइ छ । ‘यो कुरा माथिल्लो राजनीतिक तहबाटै उठान हुनुपर्छ,’ उनले भने, ‘यसकारण नेपालले सरकारकै स्तरबाट पहल गर्नुपर्छ ।’ राष्ट्र बैंकले यो विषयमा सबै सरोकारवाला निकायहरूसँग पहल गर्न आग्रह गरे पनि उक्त विषयले प्राथमिकता नपाएको उनले बताए ।


भारतले प्रतिव्यक्ति २५ हजारका दरले भुटानमा रहेको भारु पाँच सय र हजार दरका नोट सटही गरिदिएको छ । खुला सीमाका कारण धेरै नेपालीहरू भारतमा काम गर्न जान्छन् भने वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग हुँदै आएको छ । दुई वर्षसम्म पनि भारु नसाटिँदा सर्वसाधारण र व्यापारी मर्कामा परेका छन् । भारतले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएको भोलिपल्टै राष्ट्र बैंकले ती दरका नोट चलनचल्तीमा नल्याउन निर्देशन दिएको थियो ।

आरबीआई प्रतिवेदन नेपालबारे मौन
-सुरेशराज न्यौपाने
नयाँदिल्ली– भारतीय केन्द्रीय बैंक (आरबीआई) ले बुधबार सार्वजनिक २०१७/१८ को वार्षिक प्रतिवेदनमा ९ नोभेम्बर २०१६ को ‘नोटबन्दी’ कारण प्रतिबन्धित पाँच सय र हजारका नोटहरूमध्ये हालसम्म ९९.३ प्रतिशत फिर्ता भइसकेको जनाएको छ । नेपालमा रहेका भारु नोटबारे प्रतिवेदन मौन छ ।


प्रतिवेदनमा नोटबन्दी लागू हुने दिनसम्म प्रचलनमा रहेको भारु पाँच सय र हजार दरका १५.४१ लाख करोड मूल्यका नोटहरूमध्ये हालसम्ममा १५.३१ लाख करोड मूल्यका नोट आरबीआईमा फिर्ता भइसकेको जनाइएको छ । नेपालको वित्तीय प्रणालीमा भएको करीब पाँच करोड भारु बराबरको नोट नसाटिएको विषयमा भने केही उल्लेख छैन । जबकि नोटबन्दीलगत्तै भारत सरकारले सर्वसाधारणसँग भएका भारु नोटसमेत साटिदिने आश्वासन दिए थियो । पछि नोटहरू वैध र अवैध छुटयाउने प्रणाली र संयन्त्र नेपालसँगको नभएको भन्दै नोटबन्दी लागू हुँदाका बखत वित्तीय प्रणालीमा रहेका प्रतिबन्धित नोटहरू मात्र साटिदिने बताएको थियो ।


सर्वसाधारणसँग भारु नोट कति छ भन्ने कुनै यकिन नभए पनि भारतमा औपचारिक र अनौपचारिक क्षेत्रमा रोजगारीका लागि आउने नेपालीहरूसँग थुप्रो परिमाणमा प्रतिबन्धित भारु रहेको सरकारी अधिकारीहरू बताउँदै आएका छन् । विशेषगरी सुदूपश्चिम, मध्यपश्चिम र पश्चिम पहाडी क्षेत्रका नेपालीहरूलाई बढी मर्का पारेको अनुमान छ ।


भारु सटहीका विषयलाई केन्द्रीय बैंकदेखि प्रधानमन्त्रीतहसम्म उठाउँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैतको अन्तिम साता भारत भ्रमणमा आउँदा भारतीय प्रधामन्त्रीसमक्ष समेत भारु नोट सटही विषयलाई सम्बोधन गरिदिन अनुरोध गरेका थिए । त्यसैगरी यस विषयमा भारतको केन्द्रीय रिजर्भ बैंक (आरबीआई) र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरू र प्राविधिक टोलीहरूको थुप्रैपटक ओहोरदोहोर पनि भइसकेको छ । दुवै पक्षबाट त्यसम्बन्धमा प्रतिवेदनहरू पनि तयार भइसकेका छन् ।

प्रकाशित : भाद्र १५, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?