बिमस्टेक राष्ट्रबीच ग्रिड कनेक्सन समझदारी : विद्युत् आदानप्रदान भारतमा निर्भर

भारतीय नीति परिवर्तन नगरी कार्यान्वयन हुनेमा आशंका
विजय तिमल्सिना

काठमाडौँ — काठमाडौंमा शुक्रबार सकिएको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) सम्मेलनमा सदस्य राष्ट्रबीच विद्युत् आदानप्रदान गर्नेबारे सहमति जुटेको छ ।

ऊर्जा सहकार्यका लागि बिमस्टेक सदस्य राष्ट्रहरूले ग्रिड कनेक्सनको समझदारी (एमओयू) मा हस्ताक्षर गरेका हुन् । बिमस्टेक सदस्य सातै राष्ट्रका परराष्ट्रमन्त्रीहरूले आफ्ना सरकार प्रमुखको उपस्थितिमा समझदारीमा हस्ताक्षर गरेका छन् ।

यसले सैद्धान्तिक रूपमा बिमस्टेक राष्ट्रबीच विद्युत्को आदानप्रदान, ऊर्जा सहकार्य र विद्युत् खरिदबिक्री गर्न भविष्यका लागि आधार तयार गरेको छ तर नेपालले यसअघि गरेका ऊर्जा सहकार्यसम्बन्धी अन्य समझदारीहरूको उदाहरण केलाउने हो भने यो कार्यान्वयनका लागि त्यति सहज भने छैन ।

Yamaha

बिमस्टेकका ५ सदस्य राष्ट्र सहभागी दक्षिण एसियाली सहयोग संगठन सार्क राष्ट्रहरूले पनि यसअघि नै ऊर्जासम्बन्धी सार्क फ्रेमवर्क सम्झौता गरिसकेका छन् । तर, सार्क राष्टबीच यसको कार्यान्वयनका लागि कुनै पहलकदमी भएको छैन ।

नेपालले योबाहेक भारतसँग ऊर्जा व्यापार सम्झौता गरेको छ भने भर्खरै मात्र चीन र बंगलादेशसँग ऊर्जा सहकार्यसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । नेपाल र भारतबीच २०७३ कात्तिकमा ऊर्जा व्यापार सम्झौता भएको थियो ।

ऊर्जा क्षेत्रका विज्ञहरू भने नेपालले अन्य देशसँग ऊर्जा सहकार्य तथा खरिदबिक्रीका लागि मार्गप्रशस्त गर्न भारतीय नीति नै बाधक रहेको बताउँछन् । भारतले २०७३ मा जारी गरेको अन्तरदेशीय ऊर्जा व्यापारसम्बन्धी निर्देशिकाले विद्युत् व्यापार सम्झौता गरेको मुलुकबाट भारत निर्यात हुने ऊर्जामा कडाइ गरेको छ ।

निर्देशिकाले भारतीय कम्पनीको ५१ प्रतिशत लगानी रहेको आयोजनाबाट उत्पादित विद्युत् मात्रै वा सम्बन्धित देशको सरकारी लगानीमा उत्पादिन विद्युत् मात्रै खरिद गर्ने प्रावधान राखेको छ ।

निजी ऊर्जा प्रवद्र्धकहरूको संस्था (इपान) अध्यक्ष शैलेन्द्र गुरागाईं बिमस्टेक सदस्य राष्ट्रबीच भएको ग्रिड कनेक्सनसम्बन्धी समझदारीबाट विद्युत् व्यापार बढिहाल्नेमा विश्वस्त हुन नसकिने बताउँछन् । ‘भारतले ऊर्जा खरिदका लागि एउटा नीति बनाउने र क्षेत्रीय फोरममा ऊर्जा सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नु विरोधाभासपूर्ण छ,’ उनी भन्छन्, ‘भारतले साँच्चिकै क्षेत्रीयस्तरमा ऊर्जा सहकार्य चाहेको भए आफ्नो नीति सच्याउनुपर्छ ।’

भारतको ऊर्जा व्यापारसम्बन्धी निर्देशिका सच्याउन नेपाली अधिकारीले पहल गर्नुपर्ने उनको धारणा छ । ‘भारतले आफ्नो नीति नसच्याई ऊर्जासम्बन्धी बहुपक्षीय सहकार्य हुन्छ भन्ने कसरी पत्याउने,’ उनी भन्छन् ।

इपानका पूर्वअध्यक्ष खड्गबहादुर विष्ट भने नेपालमा ठूला आयोजना तत्काल बनिहाल्ने स्थितिमा नरहेकाले भारतीय नीतिबाट आत्तिइहाल्नुपर्ने अवस्था नभएको बताउँछन् । ‘नेपालमा अझै केही वर्ष ठूला आयोजना बन्ने अवस्थामा छैनन्,’ उनी भन्छन्, ‘माथिल्लो तामाकोसी आयोजना भएपछि भारतलाई वर्षायाममा दिन सक्ने विद्युत् प्राधिकरणले दिन्छ ।’ तत्काल आत्तिनुपर्ने अवस्था नभए पनि भविष्यमा ठूला आयोजना निर्माणका लागि विद्युत् व्यापारसम्बन्धी भारतीय नीति सच्याउन पहल गर्नुपर्ने उनको धारणा छ ।

सार्क देशबीच भएको ऊर्जासम्बन्धी फ्रेमवर्क सम्झौताभन्दा बिमस्टेक सदस्य देशबीच भएको ग्रिड कनेक्सन समझदारी कार्यान्वयन हुने सम्भावना बढी रहेको उनको तर्क छ । ‘भारत र पाकिस्तान सम्बन्धका कारण सार्कले भनेअनुसार काम गर्न सकेन,’ उनी भन्छन्, ‘बिमस्टेकमा भारतसँग सम्बन्ध बिग्रिएका कुनै देश छैनन्, त्यसैले भारतले चाहे बिमस्टेक बढी प्रभावकारी हुन सक्छ ।’

नेपालले लामो समयदेखि आफ्नो देशमा उत्पादित विद्युत्को ठूलो बजार भारत हुन सक्ने अनुमान गरिरहेको छ । सोहीअनुसार दुवै देशबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको योजना अघि बढेको छ भने नेपालले खपत गर्न सक्नेभन्दा बढी जलविद्युत् आयोजना निर्माण र विद्युत् उत्पादन गर्ने सरकारको योजना छ ।

नेपालमा उपभोग भई बढी भएको विद्युत् भारतसहित बंगलादेशजस्ता बढी ऊर्जा माग भएका देशमा बिक्री गर्न सकिने नेपालको अनुमान छ तर भारतीय निर्देशिकाका कारण नेपालमा ठूला जलविद्युत् आयोजनामा लगानी गर्न आउनेहरू नै हतोत्साहित गर्ने विज्ञहरू बताउँछन् ।

भारतीय लगानीका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मात्रै किन्ने भारतीय नीतिका कारण अन्य देशका लगानीकर्ताहरू नेपाल आउन हतोत्साहित हुने भन्दै उक्त निर्देशिका जारी भएलगत्तै नेपालमा समेत थुप्रै चर्चा भएको थियो ।

ऊर्जा मन्त्रालयका पूर्वसहसचिव केशवध्वज अधिकारी बिमस्टेकमार्फत हुने सहकार्य भारतीय इच्छामा निर्भर हुने विचार राख्छन् । तर, नेपाल भारतबीच भएको ऊर्जा व्यापार सम्झौतासमेत भारतीय ऊर्जा मन्त्रालयले जारी गरेको विद्युत् व्यापार नीतिका कारण अप्ठेरामा परेकाले बहुपक्षीय ऊर्जा सहकार्य हुनेमा उनी शंका गर्छन् ।

‘भारतले चाहे उसको ऊर्जा व्यापार निर्देशिका तत्काल सच्याउन सक्छ,’ उनी भन्छन् । तर, बहुपक्षीय ऊर्जा सहकार्यका लागि समझदारीमा हस्ताक्षर गर्दै आएको भारतले भने यो निर्देशिकामा परिवर्तन गर्ने संकेत गरेको छैन ।

प्रकाशित : भाद्र १६, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्

डिजिटल देवशमशेर

कान्तिपुर संवाददाता

काठमाडौँ — एक हप्ताअघिसम्म दिल्लीको भिजुअल आर्ट ग्यालरी, इन्डिया रिहयाबिटाट सेन्टरमा नेपालका राणा प्रधानमन्त्री देवशमशेर र उनको परिवारका ऐतिहासिक तस्बिर प्रदर्शनीमा राखिएका थिए ।

देव शम्सेर अाफ्नी रानीसँग ।

‘निर्वासनमा : पोट्रेट अफ अ लाइफ इन एक्जाइल थ्रु चेन्जिङ भ्युफाइन्डर्स’ शीर्षक प्रदर्शनीमा देवशमशेरका ८० तस्बिर थिए ।

देवशमशेरको पाँचौं पुस्ता जो देहरादूनमा बस्दै आएका छन्, उनीहरूबाट कसरी तस्बिर प्राप्त भए भन्नेबारे स्थानीय पत्रिका ‘इन्डियन एक्सप्रेस’ ले लामै आलेख प्रकाशन गरेको छ । बीसौं शताब्दीका दर्जनौं फोटा भेला पारेर राख्नुपर्दा आफू दिक्क भएको इरा सिंहले पत्रिकालाई बताएकी छन् । इराले आफ्नी हजुरआमा भुवनकुमारी देवी र जिजु हजुरबुबा देवशमशेरका तस्बिर मिल्काउन आँटेकी रहिछन् ।

‘व्यर्थका चीज (रबिस),’ उनी भन्छिन्, ‘जिउँदा मान्छेको तस्बिर भए जति पनि ठाउँ दिन सकिन्थ्यो । तर, मृतकलाई कतिन्जेल सजाउनु !’

भुवनकुमारी देवी।

लेखकसमेत रहेकी इराकी छोरी ईशा सिंह साहनीले इन्डिया फोटो आर्काइभ फाउन्डेसनका आदित्य आर्यालाई तस्बिरबारे बताएपछि देवशमशेर र भुवनकुमारीका तस्बिरले ‘पुनर्जन्म’ पाएका हुन् । सन् २०१४ मा स्थापित संस्थाले देवशमशेरका तस्बिर रेस्क्यु गरेको ‘इन्डियन एक्सप्रेस’ मा उल्लेख छ । विश्व फोटोग्राफी दिवसको सन्दर्भ पारी अगस्ट १९ मा देवशमशेरका समेत गरी अन्य आठ सय तस्बिर प्रदर्शनीमा राखिएका थिए ।

जम्मा ११४ दिन मात्र पदमा रहेका देवलाई राणा प्रधानमन्त्रीमध्ये सबैभन्दा उदार र प्रजातान्त्रिक मानिन्छ । समाज रूपान्तरणमा संलग्न उनलाई पदच्युत गरेर निर्वासित गराइएको थियो । उनी आफ्ना सात सन्तानसहित देहरादूनको मसुरीस्थित फेयरलाउन दरबारमा बसेका थिए । उनका सन्ततिहरू अहिले आफूलाई ‘रोयल्टी’ भनेर सम्बोधन गर्दा हाँस्दै निधार खुम्च्याउने गरेको तनुश्री घोषले उक्त लेखमा आर्टिकलमा उल्लेख गरेकी छन् ।

तस्बिर मर्म
देवशमशेर आफ्ना कुनै पनि तस्बिरमा मुस्कुराएका छैनन् । पत्नी र भाइ चन्द्रशमशेरसमेत हँसिलो अनुहारमा छैनन् । बरु, देवका सात भाइ छोरा हयाप्पी मुडमा देखिका छन् । टाउकामा सारीको सप्को ओढेर घैलाजस्तो देखिने भाँडो बोक्दै गरेकी भुवनकुमारीको तस्बिरलाई ‘इन्डियन एक्सप्रेस’ ले सत्यजित रेका हिरोइनसँग तुलना गरेको छ ।

हातैले सफा गरेर हाई रेजोलुसनमा स्क्यान गरिएका तस्बिरको मूल प्रति जस्ताको तस्तै राखिएको फोटो आर्काइभका आदित्यले बताएका छन् । ‘पोलिस्टरको आर्काइभल ब्यागमा राख्नेछौं,’ उनले भनेका छन्, ‘डिजिटल कपी प्रदर्शनीमा राखिएको हो । यसमा सुधार गरिएको छ । तर, म्यानिपुलेसन छैन ।’ सेता धब्बा, दाग र खुइलिएको रङ जस्ताको तस्तै राखिएको छ । एनालग युगको प्रमाण मेटाउन नखोजेको आदित्यले जनाए ।

देवशमशेरले नै प्रकाशन सुरु गरेको ‘गोरखापत्र’ का केही प्रति पनि आदित्यहरूले रेस्टोर गरेका छन् । ‘यो १९०१ को फोटो हो,’ राजकीय पोशाकमा सजिएका देवशमशेरको तस्बिरबारे आदित्यले भनेका छन्, ‘हेर्नुस्, कति भव्य छ !’ तस्बिरमा देव श्रीमतीसँगै देखिएका छन् जो भिक्टोरियन गाउनमा छिन् । देवको श्रीपेच आकर्षक लाग्छ ।

शमशेर परिवार आफ्नो हास्यचेतका लागि नामुद रहेको ईशाकी काकी मञ्जेश्री राज्यलक्ष्मी राणाले बताएकी छन् । ‘केटाहरू जम्मा भएका बेला केटीको र केटीहरू केटाको पोसाक लगाएर ठट्टा गर्थे,’ श्री ३ महाराज देवशमशेर जंगबहादुर राणा प्रतिष्ठानकी अध्यक्षसमेत रहेकी मञ्जेश्रीले भनेकी छन्, ‘तिनको सेन्स अफ हयुमर गजब मानिन्थ्यो ।’ प्रदर्शनीका लागि दिल्ली पुगेकी उनले देवशमशेरको तस्बिर समाविष्ट हुलाक टिकट साथ लगेकी थिइन् ।

‘आदित्यले हाम्रो संग्रहलाई नयाँ जीवन दिए,’ देवशमशेरकी पाँचांै पुस्ताकी नातिनी इरा सिंह भन्छिन्, ‘तर, यी फेरि फर्किएर मेरो घरमा आए म यिनलाई रबिस नै मान्छु ।’

प्रकाशित : भाद्र १६, २०७५ ०८:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT