युवाका ‘रोल मोडल’

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — आफ्नो कठोर परिश्रम र लगनशीलताले छोटो समयमै सफलताको शिखर चुम्न सफल विश्वका धनाढ्य व्यापारीमध्ये ३४ वर्षीय झयाङ यिमिङ पनि एक हुन् ।

चिनियाँ नागरिक यिनी अमेरिकी अखबार ‘फोब्र्स’ को अर्बपति सूचीमा एसियाकै सबैभन्दा कान्छो ‘सेल्फमेड’ धनाढ्यका रूपमा आफ्नो उपस्थिति दर्ज गराइसकेका छन् । सन् २०१३ मा उक्त अखबारको ३० वर्षमुनिका धनाढ्यको सूचीमा यिनी पहिलो पटक परेका थिए । हाल यिनले ‘४० अन्डर ४०’ सूचीमा धेरैलाई उछिनेका छन् ।

चीनको बेइजिङमा मुख्यालय रहेको समाचार र सूचना सामग्री उत्पादन गर्ने कम्पनी ‘बाइटडान्स’ का संस्थापक तथा टाउटिआओ (जिनरी टाउटिआओ) का प्रमुख हुन् । यिनको यो कम्पनीले फिचर सामग्री र प्रयोगकर्ता तथा तिनीहरूको अन्तक्र्रियालाई एलगोरिथ्म मोडेलको उपयोग गरी सम्प्रेषण गर्ने गर्छ ।

Yamaha

कम्पनी चीनकै सबैभन्दा ठूलो मोबाइल प्लेटफार्म बनिसकेको छ, जसका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १२ करोड (सेप्टेम्बर २०१७ मा) रहेको थियो । झयाङले नान्काई विश्वविद्यालयबाट करिब ११ वर्षअघि सफ्टवेयर इन्जिनियरिङमा स्नातक गरेका हुन् । केही वर्ष विभिन्न कम्पनीमा काम गर्दै आफ्नो सीप र दक्षतालाई तिखार्दै यिनी अघि बढेका हुन् ।

हाल तिनै झयाङ चर्चित युवा उद्यमी बनेका छन् । ‘फोब्र्स’ को यो वर्षको अर्बपतिहरूको सूचीमा यिनी ५५० औं र चीनका ६० औं धनाढ्यमा दरिएका छन् । बेइजिङमा बसोबास गर्ने यिनको सम्पत्तिको स्रोत भने आफैंले सञ्चालन गरेको सफ्टवेयर कम्पनी हो । यिनको कुल सम्पत्ति ४ अर्ब अमेरिकी डलर रहेको छ ।

चीनकै सबैभन्दा ठूलो र तीव्र गतिमा विकास गरिरहेको कम्पनी ‘बाइटडान्स’ यिनले सन् २०१२ मा स्थापना गरेका हुन् । यिनको कम्पनीका ‘कोर प्रडक्टहरू’ मा जिनरी टाउटिओ अर्थात ‘आजको हेडलाइन्स’ चर्चित छ ।

यसले आफ्ना प्रयोगकर्ताका लागि आवश्यक सामग्री (कन्टेन्ट) अनुकूलन गर्न कृत्रिम बृद्धि (आर्टिफिसियल इन्टेलिजेन्स) अर्थात ‘एआई’ को प्रयोग गर्छ । यसले पनि कम्पनीको लोकप्रियता बढेको हो । त्यस्तै, कम्पनीको अर्को प्रडक्टमा ‘टिक टोक’ या डाउयिन (चिनियाँ भाषामा) ले साना भिडियो क्लिप्सहरू बनाउन प्रयोगकर्तालाई अनुमति दिन्छ ।

यसले नृत्यदेखि हास्यव्यंग्यसम्मका साना चलचित्र निर्माण गरी आफ्ना साथीहरूलाई सेयर गर्नसमेत प्रयोगकर्ताका लागि सहयोगीको भूमिका निर्वाह गर्छ । कम्पनीका अन्य विश्वव्यापी उत्पादनहरूमा ‘टपबज्ज’ र ‘बज्जभिडियो’ पनि हुन् । हाल झयाङका ‘बाइटडान्स’ का उत्पादनहरू चीनमा मात्रै हैन, जापान, दक्षिणपूर्वी एसियाली मुलुकहरू, उत्तर अमेरिका र युरोपसहित ४० भन्दा बढी मुलुकमा उपलब्ध छ ।

आफ्नै बलबुतामा सफल भएकाले यिनी चीनसहित विश्वका विभिन्न मुलुकका युवाका लागि ‘रोल मोडल’ को भूमिकामा छन् । झयाङले युवाहरूलाई लक्षित गर्दै भनेका छन्, ‘उत्कृष्ट युवामा जिज्ञासा, अनिश्चितताबारे आशावादी, मध्यस्थता, विनम्रता र महत्त्वपूर्ण विकल्पको छनोटलगायत पाँच गुण हुनैपर्छ ।’ यी पाँच गुण भएका युवा मात्रै आजको विश्वमा सफल हुन सक्ने यिनको बुझाइ छ ।

‘मैले स्नातक गरेको १० वर्षयता सम्भवत: दुई हजार युवालाई अन्तर्वार्ता दिइसकेको छु,’ झयाङले सञ्चार माध्यमलाई भनेका छन्, ‘मैले आफ्नो कामलाई अरूभन्दा फरक रूपमा गरिनँ । जब म आफ्नो काम पूरा गरिसक्थें, म आफ्ना सहकर्मीहरूलाई तिनीहरूको काम पूरा गर्न सहयोग गर्थें ।’

यिनी आफ्नो काम भ्याइकेपछि कार्यालयका अन्य कर्मचारीलाई आफूले गर्न सक्ने काममा सघाउने गर्थे । त्यस क्रममा यिनले अधिकांश कोड बेस हेर्ने अवसर पाए । ‘मसँग समय शेष रहेका बेला आफ्नो अनुभव नयाँ कर्मचारीलाई साट्ने गर्थें, तिनीहरूलाई कोडहरूबारे सिकाउँथें, यसले मलाई अगाडि बढ्न सहयोग पुगेकै थियो, अन्य सहकर्मीलाई पनि सजिलो हुने गथ्र्यो,’ झयाङले एउटा भाषणका क्रममा भनेका छन्, ‘मैले काम सुरु गरेको पहिलो दुई वर्ष हरेक दिन मध्यराति अर्थात एक बजेको हराहारीमा घर पुग्ने गर्थें । त्यहाँ पनि म काम गरेकै हुन्थें। तर त्यो चाहिँ आफ्नो व्यक्तिगत हितका लागि हुन्थ्यो, कम्पनीका लागि थिएन ।’

झयाङ आफ्नो कामप्रति निकै प्रतिबद्ध रहने गर्छन् । जिम्मेवारी पनि गजबले निर्वाह गर्छन् । त्यसैले स्नातकको पढाइ सकेर एउटा कम्पनीमा सेवा सुरु गरेको केही दिनभित्रै पदोन्नतिमा पर्न सफल भएका थिए ।

आफ्नो अनुभवलाई तिखार्दै अघि बढ्दै गए । यिनी पहिले एउटा सानो समूह र विभागका प्रमुख बनाइए । पछि यिनले ठूलो विभागका प्रमुख भई काम गरे । ‘मेरो काम र परिश्रमलाई हेरेर कम्पनीले मेरो पदोन्नति गरिदियो तर मैले आफ्नो जिम्मेवारीअनुसार कामलाई कुनै एउटा सीमाभित्र बाँध्न कहिले चाहिनँ ।

त्यसताका मैले प्रविधिका लागि जिम्मेवारी पाएको थिएँ तर जब कम्पनीका उत्पादनबारे बजारमा समस्या आउँथ्यो, म त्यसका लागि योजना बनाउने र छलफलमा पनि सहभागी हुन्थें ।’ झयाङले आफ्नो पदीय हैसियतलाई प्रतिष्ठाको विषय कहिल्यै बनाएनन् । धेरै उनलाई ‘ठूलो हाकिम’ ले सबै काम गर्न नहुने सल्लाह पनि दिन्थे ।

त्यसको सधैं बेवास्ता गर्दै अघि बढ्ने उनको स्वभाव सुरुदेखि नै थियो । ‘मेरो पदले अनुमति नदिने तर कार्यालयको हितमा रहने काममा समेत सधैं म अघि बढ्थें । मैले जुन कुरा गरिरहेको थिएँ, धेरैले मलाई यो मैले गर्नुहुन्न भन्ने मान्यता राख्थे,’ उनले आफ्नो अनुभवको बेलिविस्तार गर्दै भनेका छन्, ‘तर म भन्छु, तपाईंको जिम्मेवारीअन्तर्गत या कार्यालयको मातहतमा पर्ने सबै काम तपाईंले गर्न अग्रसर हुन सक्नुपर्छ । यसले तपाईंको अनुभव मात्रै बढाउँदैन, थप काम गर्न पनि उत्प्रेरित गर्न सक्छ ।’

झयाङ इन्जिनियरिङ पढेका थिए, पेसाले इन्जिनियर थिए तर कम्पनीको उत्पादन कार्यमा समेत यिनी सहभागी हुने गर्थे । यसले उनको अनुभवलाई फराकिलो त बनायो नै, उनलाई अन्य काममा रूपान्तरण गर्नसमेत सहयोग पुग्यो ।

‘मैले त्यही अनुभवका कारण आफूलाई व्यापारमा रूपान्तरण गर्न सकें,’ उनले भनेका छन्, ‘व्यापार क्षेत्रमा मेरो सहभागिताले मलाई आफ्नो वर्तमान कामका लागि तयार पार्न सहयोग गर्‍यो । मलाई सम्झना छ, २००७ को अन्त्यमा म बिक्री निर्देशकका रूपमा ग्राहकसँग भेटघाट गर्न गएको थिएँ, त्यस क्रममा मैले बिक्रीबारे राम्ररी बुझ्ने मौका पाएँ । जब मैले टाउटिआओ खोलें र कर्मचारीहरूको भर्ना गर्न थालें, तब मलाई त्यो अनुभवले सहयोग गर्‍यो । यी सबै कुरा मैले स्नातक गरेपछिका मेरा विशेषता हुन् ।’ झयाङ सबै युवा पिंढीलाई उत्सुक रहन आग्रह गर्छन् । ‘उत्सुक रहनुस्, नयाँ विषय, नयाँ ज्ञान र नयाँ सीप सिक्न सक्षम हुनुहोस्,’ उनले भनेका छन् । उनले आफ्ना पूर्वसहपाठीको उदाहरण दिँदै एउटा अन्तर्वार्तामा भनेका छन्, ‘मेरा एक जना मित्रको सैद्धान्तिक ज्ञानमा राम्रो पकड थियो, सबै काम समयमै सकेर घर फर्कन्थे ।

तिनले एउटा कम्पनीमा एक वर्षभन्दा बढी समय काम गरे तर उनले नयाँ प्रविधि र उपकरणबारे कुनै जानकारी हासिल गरेनन । त्यसैले तिनी सधैं अरूमा निर्भर रहन्थे । मैले भने त्यसो गरिनँ, आफ्नो वरपरका सबै गतिविधि जान्ने र बुझ्ने प्रयास सधैं गरेँ ।’

अनिश्चितताबारेमा सधैं आशावादी रहनुपर्ने यिनको तर्क छ । यसले मानिसलाई आफ्नो प्रयासलाई जारी राख्न सहयोग पुग्ने गर्छ । यिनले कसैले आफूलाई औसत व्यक्तिका रूपमा सीमित राख्न नहुने सुझाव दिएका छन् । यसलाई थप प्रस्ट्याउन यिनले आफ्नै साथीहरूको उदाहरण दिँदै भनेका छन्, ‘मेरा अधिकांश मित्र बैंकमा जागिरे भए, तिनीहरू बेइजिङमा जति सक्दो छिटो आफ्नो दुई बेडरुमसहितको घर चाहन्थे, बैंकले त्यो उपलब्ध गराइदियो तर त्यसले तिनीहरूलाई एउटै रुटिङ वर्कमा सीमित गरिदियो । तिनीहरूले आफ्नो नयाँ सीप र धारणालाई थप विकसित गर्न सकेनन् । तिनीहरूले औसत व्यक्तिका रूपमा बाँच्नुलाई आफ्नो जीवनको उपलब्धि ठाने, आज तिनीहरू जहाँको त्यहीं छन्, मेरो हैसियत तिनीहरूभन्दा निकै माथि पुगिसकेको छ ।’

(एजेन्सीहरू)

प्रकाशित : भाद्र १६, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्

बिमस्टेक राष्ट्रबीच ग्रिड कनेक्सन समझदारी : विद्युत् आदानप्रदान भारतमा निर्भर

भारतीय नीति परिवर्तन नगरी कार्यान्वयन हुनेमा आशंका
विजय तिमल्सिना

काठमाडौँ — काठमाडौंमा शुक्रबार सकिएको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) सम्मेलनमा सदस्य राष्ट्रबीच विद्युत् आदानप्रदान गर्नेबारे सहमति जुटेको छ ।

ऊर्जा सहकार्यका लागि बिमस्टेक सदस्य राष्ट्रहरूले ग्रिड कनेक्सनको समझदारी (एमओयू) मा हस्ताक्षर गरेका हुन् । बिमस्टेक सदस्य सातै राष्ट्रका परराष्ट्रमन्त्रीहरूले आफ्ना सरकार प्रमुखको उपस्थितिमा समझदारीमा हस्ताक्षर गरेका छन् ।

यसले सैद्धान्तिक रूपमा बिमस्टेक राष्ट्रबीच विद्युत्को आदानप्रदान, ऊर्जा सहकार्य र विद्युत् खरिदबिक्री गर्न भविष्यका लागि आधार तयार गरेको छ तर नेपालले यसअघि गरेका ऊर्जा सहकार्यसम्बन्धी अन्य समझदारीहरूको उदाहरण केलाउने हो भने यो कार्यान्वयनका लागि त्यति सहज भने छैन ।

बिमस्टेकका ५ सदस्य राष्ट्र सहभागी दक्षिण एसियाली सहयोग संगठन सार्क राष्ट्रहरूले पनि यसअघि नै ऊर्जासम्बन्धी सार्क फ्रेमवर्क सम्झौता गरिसकेका छन् । तर, सार्क राष्टबीच यसको कार्यान्वयनका लागि कुनै पहलकदमी भएको छैन ।

नेपालले योबाहेक भारतसँग ऊर्जा व्यापार सम्झौता गरेको छ भने भर्खरै मात्र चीन र बंगलादेशसँग ऊर्जा सहकार्यसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । नेपाल र भारतबीच २०७३ कात्तिकमा ऊर्जा व्यापार सम्झौता भएको थियो ।

ऊर्जा क्षेत्रका विज्ञहरू भने नेपालले अन्य देशसँग ऊर्जा सहकार्य तथा खरिदबिक्रीका लागि मार्गप्रशस्त गर्न भारतीय नीति नै बाधक रहेको बताउँछन् । भारतले २०७३ मा जारी गरेको अन्तरदेशीय ऊर्जा व्यापारसम्बन्धी निर्देशिकाले विद्युत् व्यापार सम्झौता गरेको मुलुकबाट भारत निर्यात हुने ऊर्जामा कडाइ गरेको छ ।

निर्देशिकाले भारतीय कम्पनीको ५१ प्रतिशत लगानी रहेको आयोजनाबाट उत्पादित विद्युत् मात्रै वा सम्बन्धित देशको सरकारी लगानीमा उत्पादिन विद्युत् मात्रै खरिद गर्ने प्रावधान राखेको छ ।

निजी ऊर्जा प्रवद्र्धकहरूको संस्था (इपान) अध्यक्ष शैलेन्द्र गुरागाईं बिमस्टेक सदस्य राष्ट्रबीच भएको ग्रिड कनेक्सनसम्बन्धी समझदारीबाट विद्युत् व्यापार बढिहाल्नेमा विश्वस्त हुन नसकिने बताउँछन् । ‘भारतले ऊर्जा खरिदका लागि एउटा नीति बनाउने र क्षेत्रीय फोरममा ऊर्जा सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नु विरोधाभासपूर्ण छ,’ उनी भन्छन्, ‘भारतले साँच्चिकै क्षेत्रीयस्तरमा ऊर्जा सहकार्य चाहेको भए आफ्नो नीति सच्याउनुपर्छ ।’

भारतको ऊर्जा व्यापारसम्बन्धी निर्देशिका सच्याउन नेपाली अधिकारीले पहल गर्नुपर्ने उनको धारणा छ । ‘भारतले आफ्नो नीति नसच्याई ऊर्जासम्बन्धी बहुपक्षीय सहकार्य हुन्छ भन्ने कसरी पत्याउने,’ उनी भन्छन् ।

इपानका पूर्वअध्यक्ष खड्गबहादुर विष्ट भने नेपालमा ठूला आयोजना तत्काल बनिहाल्ने स्थितिमा नरहेकाले भारतीय नीतिबाट आत्तिइहाल्नुपर्ने अवस्था नभएको बताउँछन् । ‘नेपालमा अझै केही वर्ष ठूला आयोजना बन्ने अवस्थामा छैनन्,’ उनी भन्छन्, ‘माथिल्लो तामाकोसी आयोजना भएपछि भारतलाई वर्षायाममा दिन सक्ने विद्युत् प्राधिकरणले दिन्छ ।’ तत्काल आत्तिनुपर्ने अवस्था नभए पनि भविष्यमा ठूला आयोजना निर्माणका लागि विद्युत् व्यापारसम्बन्धी भारतीय नीति सच्याउन पहल गर्नुपर्ने उनको धारणा छ ।

सार्क देशबीच भएको ऊर्जासम्बन्धी फ्रेमवर्क सम्झौताभन्दा बिमस्टेक सदस्य देशबीच भएको ग्रिड कनेक्सन समझदारी कार्यान्वयन हुने सम्भावना बढी रहेको उनको तर्क छ । ‘भारत र पाकिस्तान सम्बन्धका कारण सार्कले भनेअनुसार काम गर्न सकेन,’ उनी भन्छन्, ‘बिमस्टेकमा भारतसँग सम्बन्ध बिग्रिएका कुनै देश छैनन्, त्यसैले भारतले चाहे बिमस्टेक बढी प्रभावकारी हुन सक्छ ।’

नेपालले लामो समयदेखि आफ्नो देशमा उत्पादित विद्युत्को ठूलो बजार भारत हुन सक्ने अनुमान गरिरहेको छ । सोहीअनुसार दुवै देशबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको योजना अघि बढेको छ भने नेपालले खपत गर्न सक्नेभन्दा बढी जलविद्युत् आयोजना निर्माण र विद्युत् उत्पादन गर्ने सरकारको योजना छ ।

नेपालमा उपभोग भई बढी भएको विद्युत् भारतसहित बंगलादेशजस्ता बढी ऊर्जा माग भएका देशमा बिक्री गर्न सकिने नेपालको अनुमान छ तर भारतीय निर्देशिकाका कारण नेपालमा ठूला जलविद्युत् आयोजनामा लगानी गर्न आउनेहरू नै हतोत्साहित गर्ने विज्ञहरू बताउँछन् ।

भारतीय लगानीका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मात्रै किन्ने भारतीय नीतिका कारण अन्य देशका लगानीकर्ताहरू नेपाल आउन हतोत्साहित हुने भन्दै उक्त निर्देशिका जारी भएलगत्तै नेपालमा समेत थुप्रै चर्चा भएको थियो ।

ऊर्जा मन्त्रालयका पूर्वसहसचिव केशवध्वज अधिकारी बिमस्टेकमार्फत हुने सहकार्य भारतीय इच्छामा निर्भर हुने विचार राख्छन् । तर, नेपाल भारतबीच भएको ऊर्जा व्यापार सम्झौतासमेत भारतीय ऊर्जा मन्त्रालयले जारी गरेको विद्युत् व्यापार नीतिका कारण अप्ठेरामा परेकाले बहुपक्षीय ऊर्जा सहकार्य हुनेमा उनी शंका गर्छन् ।

‘भारतले चाहे उसको ऊर्जा व्यापार निर्देशिका तत्काल सच्याउन सक्छ,’ उनी भन्छन् । तर, बहुपक्षीय ऊर्जा सहकार्यका लागि समझदारीमा हस्ताक्षर गर्दै आएको भारतले भने यो निर्देशिकामा परिवर्तन गर्ने संकेत गरेको छैन ।

प्रकाशित : भाद्र १६, २०७५ ०८:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT