युवाका ‘रोल मोडल’

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — आफ्नो कठोर परिश्रम र लगनशीलताले छोटो समयमै सफलताको शिखर चुम्न सफल विश्वका धनाढ्य व्यापारीमध्ये ३४ वर्षीय झयाङ यिमिङ पनि एक हुन् ।

चिनियाँ नागरिक यिनी अमेरिकी अखबार ‘फोब्र्स’ को अर्बपति सूचीमा एसियाकै सबैभन्दा कान्छो ‘सेल्फमेड’ धनाढ्यका रूपमा आफ्नो उपस्थिति दर्ज गराइसकेका छन् । सन् २०१३ मा उक्त अखबारको ३० वर्षमुनिका धनाढ्यको सूचीमा यिनी पहिलो पटक परेका थिए । हाल यिनले ‘४० अन्डर ४०’ सूचीमा धेरैलाई उछिनेका छन् ।

चीनको बेइजिङमा मुख्यालय रहेको समाचार र सूचना सामग्री उत्पादन गर्ने कम्पनी ‘बाइटडान्स’ का संस्थापक तथा टाउटिआओ (जिनरी टाउटिआओ) का प्रमुख हुन् । यिनको यो कम्पनीले फिचर सामग्री र प्रयोगकर्ता तथा तिनीहरूको अन्तक्र्रियालाई एलगोरिथ्म मोडेलको उपयोग गरी सम्प्रेषण गर्ने गर्छ ।

Yamaha

कम्पनी चीनकै सबैभन्दा ठूलो मोबाइल प्लेटफार्म बनिसकेको छ, जसका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १२ करोड (सेप्टेम्बर २०१७ मा) रहेको थियो । झयाङले नान्काई विश्वविद्यालयबाट करिब ११ वर्षअघि सफ्टवेयर इन्जिनियरिङमा स्नातक गरेका हुन् । केही वर्ष विभिन्न कम्पनीमा काम गर्दै आफ्नो सीप र दक्षतालाई तिखार्दै यिनी अघि बढेका हुन् ।

हाल तिनै झयाङ चर्चित युवा उद्यमी बनेका छन् । ‘फोब्र्स’ को यो वर्षको अर्बपतिहरूको सूचीमा यिनी ५५० औं र चीनका ६० औं धनाढ्यमा दरिएका छन् । बेइजिङमा बसोबास गर्ने यिनको सम्पत्तिको स्रोत भने आफैंले सञ्चालन गरेको सफ्टवेयर कम्पनी हो । यिनको कुल सम्पत्ति ४ अर्ब अमेरिकी डलर रहेको छ ।

चीनकै सबैभन्दा ठूलो र तीव्र गतिमा विकास गरिरहेको कम्पनी ‘बाइटडान्स’ यिनले सन् २०१२ मा स्थापना गरेका हुन् । यिनको कम्पनीका ‘कोर प्रडक्टहरू’ मा जिनरी टाउटिओ अर्थात ‘आजको हेडलाइन्स’ चर्चित छ ।

यसले आफ्ना प्रयोगकर्ताका लागि आवश्यक सामग्री (कन्टेन्ट) अनुकूलन गर्न कृत्रिम बृद्धि (आर्टिफिसियल इन्टेलिजेन्स) अर्थात ‘एआई’ को प्रयोग गर्छ । यसले पनि कम्पनीको लोकप्रियता बढेको हो । त्यस्तै, कम्पनीको अर्को प्रडक्टमा ‘टिक टोक’ या डाउयिन (चिनियाँ भाषामा) ले साना भिडियो क्लिप्सहरू बनाउन प्रयोगकर्तालाई अनुमति दिन्छ ।

यसले नृत्यदेखि हास्यव्यंग्यसम्मका साना चलचित्र निर्माण गरी आफ्ना साथीहरूलाई सेयर गर्नसमेत प्रयोगकर्ताका लागि सहयोगीको भूमिका निर्वाह गर्छ । कम्पनीका अन्य विश्वव्यापी उत्पादनहरूमा ‘टपबज्ज’ र ‘बज्जभिडियो’ पनि हुन् । हाल झयाङका ‘बाइटडान्स’ का उत्पादनहरू चीनमा मात्रै हैन, जापान, दक्षिणपूर्वी एसियाली मुलुकहरू, उत्तर अमेरिका र युरोपसहित ४० भन्दा बढी मुलुकमा उपलब्ध छ ।

आफ्नै बलबुतामा सफल भएकाले यिनी चीनसहित विश्वका विभिन्न मुलुकका युवाका लागि ‘रोल मोडल’ को भूमिकामा छन् । झयाङले युवाहरूलाई लक्षित गर्दै भनेका छन्, ‘उत्कृष्ट युवामा जिज्ञासा, अनिश्चितताबारे आशावादी, मध्यस्थता, विनम्रता र महत्त्वपूर्ण विकल्पको छनोटलगायत पाँच गुण हुनैपर्छ ।’ यी पाँच गुण भएका युवा मात्रै आजको विश्वमा सफल हुन सक्ने यिनको बुझाइ छ ।

‘मैले स्नातक गरेको १० वर्षयता सम्भवत: दुई हजार युवालाई अन्तर्वार्ता दिइसकेको छु,’ झयाङले सञ्चार माध्यमलाई भनेका छन्, ‘मैले आफ्नो कामलाई अरूभन्दा फरक रूपमा गरिनँ । जब म आफ्नो काम पूरा गरिसक्थें, म आफ्ना सहकर्मीहरूलाई तिनीहरूको काम पूरा गर्न सहयोग गर्थें ।’

यिनी आफ्नो काम भ्याइकेपछि कार्यालयका अन्य कर्मचारीलाई आफूले गर्न सक्ने काममा सघाउने गर्थे । त्यस क्रममा यिनले अधिकांश कोड बेस हेर्ने अवसर पाए । ‘मसँग समय शेष रहेका बेला आफ्नो अनुभव नयाँ कर्मचारीलाई साट्ने गर्थें, तिनीहरूलाई कोडहरूबारे सिकाउँथें, यसले मलाई अगाडि बढ्न सहयोग पुगेकै थियो, अन्य सहकर्मीलाई पनि सजिलो हुने गथ्र्यो,’ झयाङले एउटा भाषणका क्रममा भनेका छन्, ‘मैले काम सुरु गरेको पहिलो दुई वर्ष हरेक दिन मध्यराति अर्थात एक बजेको हराहारीमा घर पुग्ने गर्थें । त्यहाँ पनि म काम गरेकै हुन्थें। तर त्यो चाहिँ आफ्नो व्यक्तिगत हितका लागि हुन्थ्यो, कम्पनीका लागि थिएन ।’

झयाङ आफ्नो कामप्रति निकै प्रतिबद्ध रहने गर्छन् । जिम्मेवारी पनि गजबले निर्वाह गर्छन् । त्यसैले स्नातकको पढाइ सकेर एउटा कम्पनीमा सेवा सुरु गरेको केही दिनभित्रै पदोन्नतिमा पर्न सफल भएका थिए ।

आफ्नो अनुभवलाई तिखार्दै अघि बढ्दै गए । यिनी पहिले एउटा सानो समूह र विभागका प्रमुख बनाइए । पछि यिनले ठूलो विभागका प्रमुख भई काम गरे । ‘मेरो काम र परिश्रमलाई हेरेर कम्पनीले मेरो पदोन्नति गरिदियो तर मैले आफ्नो जिम्मेवारीअनुसार कामलाई कुनै एउटा सीमाभित्र बाँध्न कहिले चाहिनँ ।

त्यसताका मैले प्रविधिका लागि जिम्मेवारी पाएको थिएँ तर जब कम्पनीका उत्पादनबारे बजारमा समस्या आउँथ्यो, म त्यसका लागि योजना बनाउने र छलफलमा पनि सहभागी हुन्थें ।’ झयाङले आफ्नो पदीय हैसियतलाई प्रतिष्ठाको विषय कहिल्यै बनाएनन् । धेरै उनलाई ‘ठूलो हाकिम’ ले सबै काम गर्न नहुने सल्लाह पनि दिन्थे ।

त्यसको सधैं बेवास्ता गर्दै अघि बढ्ने उनको स्वभाव सुरुदेखि नै थियो । ‘मेरो पदले अनुमति नदिने तर कार्यालयको हितमा रहने काममा समेत सधैं म अघि बढ्थें । मैले जुन कुरा गरिरहेको थिएँ, धेरैले मलाई यो मैले गर्नुहुन्न भन्ने मान्यता राख्थे,’ उनले आफ्नो अनुभवको बेलिविस्तार गर्दै भनेका छन्, ‘तर म भन्छु, तपाईंको जिम्मेवारीअन्तर्गत या कार्यालयको मातहतमा पर्ने सबै काम तपाईंले गर्न अग्रसर हुन सक्नुपर्छ । यसले तपाईंको अनुभव मात्रै बढाउँदैन, थप काम गर्न पनि उत्प्रेरित गर्न सक्छ ।’

झयाङ इन्जिनियरिङ पढेका थिए, पेसाले इन्जिनियर थिए तर कम्पनीको उत्पादन कार्यमा समेत यिनी सहभागी हुने गर्थे । यसले उनको अनुभवलाई फराकिलो त बनायो नै, उनलाई अन्य काममा रूपान्तरण गर्नसमेत सहयोग पुग्यो ।

‘मैले त्यही अनुभवका कारण आफूलाई व्यापारमा रूपान्तरण गर्न सकें,’ उनले भनेका छन्, ‘व्यापार क्षेत्रमा मेरो सहभागिताले मलाई आफ्नो वर्तमान कामका लागि तयार पार्न सहयोग गर्‍यो । मलाई सम्झना छ, २००७ को अन्त्यमा म बिक्री निर्देशकका रूपमा ग्राहकसँग भेटघाट गर्न गएको थिएँ, त्यस क्रममा मैले बिक्रीबारे राम्ररी बुझ्ने मौका पाएँ । जब मैले टाउटिआओ खोलें र कर्मचारीहरूको भर्ना गर्न थालें, तब मलाई त्यो अनुभवले सहयोग गर्‍यो । यी सबै कुरा मैले स्नातक गरेपछिका मेरा विशेषता हुन् ।’ झयाङ सबै युवा पिंढीलाई उत्सुक रहन आग्रह गर्छन् । ‘उत्सुक रहनुस्, नयाँ विषय, नयाँ ज्ञान र नयाँ सीप सिक्न सक्षम हुनुहोस्,’ उनले भनेका छन् । उनले आफ्ना पूर्वसहपाठीको उदाहरण दिँदै एउटा अन्तर्वार्तामा भनेका छन्, ‘मेरा एक जना मित्रको सैद्धान्तिक ज्ञानमा राम्रो पकड थियो, सबै काम समयमै सकेर घर फर्कन्थे ।

तिनले एउटा कम्पनीमा एक वर्षभन्दा बढी समय काम गरे तर उनले नयाँ प्रविधि र उपकरणबारे कुनै जानकारी हासिल गरेनन । त्यसैले तिनी सधैं अरूमा निर्भर रहन्थे । मैले भने त्यसो गरिनँ, आफ्नो वरपरका सबै गतिविधि जान्ने र बुझ्ने प्रयास सधैं गरेँ ।’

अनिश्चितताबारेमा सधैं आशावादी रहनुपर्ने यिनको तर्क छ । यसले मानिसलाई आफ्नो प्रयासलाई जारी राख्न सहयोग पुग्ने गर्छ । यिनले कसैले आफूलाई औसत व्यक्तिका रूपमा सीमित राख्न नहुने सुझाव दिएका छन् । यसलाई थप प्रस्ट्याउन यिनले आफ्नै साथीहरूको उदाहरण दिँदै भनेका छन्, ‘मेरा अधिकांश मित्र बैंकमा जागिरे भए, तिनीहरू बेइजिङमा जति सक्दो छिटो आफ्नो दुई बेडरुमसहितको घर चाहन्थे, बैंकले त्यो उपलब्ध गराइदियो तर त्यसले तिनीहरूलाई एउटै रुटिङ वर्कमा सीमित गरिदियो । तिनीहरूले आफ्नो नयाँ सीप र धारणालाई थप विकसित गर्न सकेनन् । तिनीहरूले औसत व्यक्तिका रूपमा बाँच्नुलाई आफ्नो जीवनको उपलब्धि ठाने, आज तिनीहरू जहाँको त्यहीं छन्, मेरो हैसियत तिनीहरूभन्दा निकै माथि पुगिसकेको छ ।’

(एजेन्सीहरू)

प्रकाशित : भाद्र १६, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्

गेटबक्सले ल्यायो भर्च्यूअल केटी साथी

दिनेश यादव

काठमाडौँ — धेरै श्रीमान्‌हरु चाहन्छन् कि कार्यालयबाट घर फर्कदा श्रीमतीले मुस्कानसहित स्वागत गरोस् । आफ्नो मनको बह बुझिदिओस्, सुनिदियोस् । व्यस्त जीवनशैलीका कारण धेरैको त्यो चाहना पुरा नभएको हुन सक्छ । 


एक जापानी कम्पनीले त्यस्ता श्रीमान्‌हरुका लागि ‘भर्च्यूअल’ केटी साथी ल्याएको छ। ‘गेटबक्स इन्क’को भगिनी कम्पनी ‘लाइन’ ले बनाएको ‘भर्च्यूअल होम रोबोट’ले एउटी असल श्रीमतीको जस्तो तपाईसँग व्यवहार गर्न सक्छ।तपाई घरमा पुग्दा मुस्कुराउँदै स्वागत गर्ने अनि तपाईसँग मिठोमिठो कुराकानी गर्न यो रोबोटले गर्छ।

हिकारी अजुमा नाम दिएको यो ‘भर्च्यूअल गर्लफ्रेन्ड’ तत्काल जापानीहरुका लागि मात्र उपलब्ध गराइएको छ। एक्लो जीवन व्यतित गरिरहेकाहरुका लागि यो वरदान सावित हुने कम्पनीको दाबी छ। तपाईले यसका लागि अग्रिम बुकिङ गर्न सक्नु हुनेछ।

कम्पनीका अनुसार सम्भवत: यसै वर्षको अक्टोबरसम्ममा यो केटीसाथी आफ्नो घरमा खरिद गरेर राख्न सकिनेछ। रकमको अभाव भए कम्पनीले भाडामा समेत उपलब्ध गराउने जनाएको छ।यो ‘होलोग्राफिक एआई’ श्रीमतीको मूल्य १३ सय डलर तोकिएको छ। यसलाई कसैले भाडामा प्रयोग गर्न चाहेमा त्यसका लागि कम्पनीले प्रतिमहिना १४ डलर निर्धारण गरेको छ।

बजारमा उपलब्ध यौन खेलौनाहरुले पुरुषको यौन चाहना पुरा गरेपनि मनका कुरो बुझ्ने र सुन्ने साथीको भूमिका चाही निर्वाह गर्न सकेको थिएन। यो रोबोटले पुरुषको त्यो चाहना पुरा गरिदिन्छ। धित मरुञ्जेल गफिन यसले सहयोग गर्छ।

२० इन्च अग्लो बेलनाकार टबमा राखिएको यो रोबटले आफ्नो मालिकको सेवा गर्न कुनै कसर बाकी राख्दैन। एपबाट सञ्चालित हुने यो रोबोटले आफ्नो मालिकको अनुहार र गतिविधिलाई सजिलै चिन्न सक्छ। मालिक घरमा आएपछि हाँसेर स्वागत गर्न सँधै तत्पर हुनेयो रोबोटसँग निश्चित दूरीमा रही मनखोलेर भलाकुसारी गर्न सकिन्छ।

यसको गेटबक्स युनिटको माथि दुई वटा माइक्रोफोन जडान गरिएको छ, जसले मालिकको सीमित रन–मोडेलमा जति सम्भव हुन्छ, त्यहाँबाट कुराकानी गर्न सकिन्छ। यसमा क्यामेरा र गति डिटेक्टर पनि जडान गरिएको छ, जसले आफ्नो मालिकलाई सजिलै चिन्न सक्छ। यसमा वायरलेस ल्यान, ब्लुटुथ(आर) र इन्फ्रारेड सेन्सर पनि जडान गरिएको छ।

रोबोटमा जडित ट्रयाकिङ सेन्सरले मालिकलाई पछ्याउन सहयोग गर्छ। बेलनाकार प्रोजेक्टरभित्रै रहेर यसले इन्टरनेटबाट मौसम, सामाचार र अन्य जानकारी पनि मालिकलाई दिन सक्ने कम्पनीले जनाएको छ। यो कोठामा अन्य इलेक्ट्रोनिक उपकरणहरुका लागि रिमोट कन्ट्रोलका रुपमा काम गर्न समेत सक्षम रहेको दाबी कम्पनीको छ।

घरमा एक पटक अजुमालाई भित्र्याएपछि रिमोटबाट चल्ने सबै काम तपाईको निर्देशनमा गर्नेछ। बेलनाकार टबमै बसर अजुमाले तपाईको सबै निर्देशनहरुको पालना गर्छे।

गेटबक्सले होलोग्राफिक गर्ल्सले श्रीमतीको स्थान दिन सक्ने आशा व्यक्त गरेको छ। बेलनाकार प्रोजेक्टरभित्र उभिएर तपाईको सबै हाउभाव बुझ्नेगरी यो रोबोटको विकास गरिएको हो। कम्पनीले दुई वर्षअघि पनि यस्तै उपकरण बजारमा ल्याउने प्रयास गरेको थियो।

टोकियोमा प्रधान कार्यालय रहेको कम्पनीले एक्लै बसिरहेका पुरुषलाई लक्षित गरी यो ल्याइएको प्रतिक्रिया दिएको छ। यसलाई थप सजिव बनाउने प्रयासमा कम्पनी लागि परेको छ।

एजेन्सीको सहयोगमा

प्रकाशित : भाद्र १०, २०७५ १३:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT