पूर्वी पहाडमा हवाई सेवा ठप्प

जितेन्द्र साह

विराटनगर — मोरङस्थित पथरी–शनिश्चरेका ३३ वर्षीय दुर्गा श्रेष्ठ विराटनगरदेखि काठमाडौंसम्म हतपत्ती हवाईजहाजमा यात्रा गर्दैनन् । अपर्झटमा जानै परे नेपाल वायु सेवा निगमको सस्तो दरकै टिकट रोज्छन् ।

पूर्वी पहाडमा हवाई सेवा ठप्प

अन्य निजी क्षेत्रका विमान सेवाभन्दा प्रतिटिकटमा कम्तीमा हजार रुपैयाँसम्म फरक पर्ने गरेको उनले बताए । ‘तत्कालै ओहोरदोहोर गर्नुपर्दा निगमको विमानले धेरै राहत भएको छ,’ श्रेष्ठले भने ।

निगमको हवाईजहाज थन्किएको बेला त निजी क्षेत्रका लाई दोब्बर भाडा तिरेर उड्नुपर्ने स्थिति रहेको उनले बताए । ‘न त भाडादरको कुनै वैज्ञानिक आधार छ, न त राज्यले अनुगमन नै गरेको छ,’ उनले भने साथै निगमले दिनमा एक पटक मात्र त्यो पनि बिहानीपख विराटनगर–काठमाडौं उडान गर्नुप्रति उनको असन्तुष्टि छ ।

‘एउटा मात्र हवाईजहाज उड्दा टिकट पाउनै कठिन हुन्छ, पाइहाले पनि ९ बजेअगावै उड्ने हुनाले बिहानै विमानस्थलसम्म पुग्ने हतारो हुन्छ,’ श्रेष्ठले भने । झापा गौरादह नगरपालिका ३ की गृहिणी ५६ सुमित्रा विष्टले निगमको टिकट नपाउँदा त बसबाटै ओहोरदोहोर गरेको बताइन् ।

लामो समयदेखि विराटनगरबाट पहाडी क्षेत्रमा निगमको जहाज नउडेकाले यात्रु मर्कामा परिरहेको विष्टले थपिन् । ‘आकस्मिक काम वा विपत् परेका बेला तत्कालै यहाँबाट पहाड जान र उताका यता आउन सक्दैनन्,’ उनले भनिन्, ‘सरकारले चाँडै पहाडतिर पनि जहाज उडाउनुपर्‍यो, निजीवालाले उडाए पनि सर्वसाधारणले भाडै तिर्न सक्दैनन् ।’

विराटनगरस्थित जागृति ट्राभल्स एन्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक गणेशविक्रम गोलेले निगमले विराटनगर–काठमाडौं दैनिक एक मात्र उडान गर्दा सेवाग्राही मर्कामा परिरहेको बताए । योसँगै हाल विराटनगरबाट पहाडी भेकका लागि निगमले उडान नगरिरहेकाले मानवीय एवं पर्यटकीय रूपले पनि ठूलो नोक्सानी भइरहेको उनले बताए ।

‘निगमले चाँडै पहाडी भेकमा पहिला झैं सातामा दुई/तीन उडान गर्ने जानकारी पाउँदा खुसी लागेको छ,’ ३६ वर्षीय गोलेले भने, ‘पहाडी भेकको पर्यटनलाई बढावा मिल्छ, साथै यो आपतविपदमा सहयोगी पनि बन्छ ।’ हुन त निगमको भन्दा निजी क्षेत्रको विमानको टिकट बेच्दा ट्राभल्स एव टुर्स व्यवसायीलाई बढी फाइदा हुन्छ तर उनले भने, ‘यो सत्य हो तर थोरै टिकट बेचेर धेरै नाफा कमाउनुभन्दा धेरै टिकट बेचेर धेरै कमाउँदा व्यापार लामोसम्म चल्छ ।’ टिकट सस्तिएर धेरैभन्दा धेरैले सहज यात्रा गरून् भन्ने चाहना रहेको गोलेले बताए ।

विमान र चालक अभावमा विराटनगर–काठमाडौं दैनिक एक मात्र उडान हुने गरेको निगमको विराटनगरस्थित कार्यालयका वाणिज्य विभागका क्षेत्रीय प्रबन्धक नारायण पुरीले प्रस्टयाए । ‘काठमाडौंबाट आएको विमान नै पुन: यात्रु बोकेर फर्कन्छ,’ उनले भने, ‘विमानसँगै चालक पनि कम छन् ।’ एक जानकारका अनुसार निगमले करोडौं रुपैयाँ खर्चेर तालिम दिई तयार पारेको चालक अनुभवी भएपछि बढी तलब र सुविधाका लागि निजीतिर लम्किनु यसको कारण हो ।

निगमको बिहानको यो एक मात्र उडानपछि यात्रुले निजी विमान सेवाकै भर पर्नुपर्छ । प्राविधिक कारणले एक महिनायता विराटनगरदेखि पहाडी भेकको हवाई सेवा त ठप्पै भएको उनले बताए । यसअघि यहाँबाट भोजपुर र खोटाङको खानीडाँडासम्म उडान जारी थियो ।

प्रदेश १ को मुख्यमन्त्रीको कार्यालयले समेत निगमसँग पहाडी भेकमा सेवा सुचारु गर्नुका साथै उडान संख्या बढाउन आग्रह गरेको छ । उक्त कार्यालयले विराटनगरलाई आधार बनाएर ताप्लेजुङ, संखुवासभाको तुम्लिङटार, भोजपुर, ओखलढुंगाको रुम्जाटार र खोटाङको लामिडाँडा एवं खानीडाँडासम्म नियमित उडान गर्न भनेको छ ।

प्रकाशित : भाद्र १६, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?