३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अण्डामा ठगिँदै किसान र उपभोक्ता

अण्डा उत्पादकले सप्लायर्सलाई सप्लायर्सले होलसेललाई होलसेलले खुद्रा विक्रेतालाई खुद्राले साइकल वा भ्यानपछि मात्र किराना पसलले उपभोक्तालाई बेच्छन्
रमेशकुमार पौडेल

चितवन — अण्डा उत्पादनमा संलग्न किसानहरूले लागत मूल्यसमेत नपाएको गुनासो गरी रहँदा उपभोक्ता बढी मूल्य तिर्न बाध्य छन् । किसानले उत्पादन गरेको अण्डा झन्डै पाँच तह पार गरी उपभोक्तासम्म पुग्छ ।

अण्डामा ठगिँदै किसान र उपभोक्ता

चितवनका राजेन्द्र लामिछानेको फार्मबाट दैनिक ६५ हजार गोटा अण्डा उत्पादन हुने गरेको छ । एउटा अण्डाको सरदर आठ रुपैयाँ मूल्य पाएका छन् । दुई वर्षअघि नै एउटा अण्डाको उत्पादन लागत १० रुपैयाँ पर्ने निक्र्यौल भएको थियो ।

‘त्यो बेलाको हिसाबमा पनि एउटा अण्डा लागतभन्दा दुई रुपैयाँ कममा बिक्री गर्न बाध्य छौं’ उनले भने । नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले ठूला अण्डाको प्रतिक्रेट खरिद मूल्य २ सय ६० र मझौलाको १ सय ९५ रुपैयाँ तोकेको छ । तोकेकै मूल्य किसानले पाउँदा पनि साना र मझौलाको गरेर सरदर प्रतिक्रेट २ सय ४० रुपैयाँसम्म पाएका छन् । एक क्रेटमा ३० वटा अण्डा हुन्छ ।

‘कम मूल्य छ भनेर नबेच्ने कुरा भएन । यो चाडो बिग्रने वस्तु हो । बेच्दा पूरै घाटा छ’ लामिछानेले भने । अघिल्लो वर्ष यो बेलामा प्रतिक्रेट अण्डाको खरिद मूल्य अहिलेको भन्दा सय रुपैयाँ बढी थियो । यो वर्षको वैशाखमा पनि ३ सय ३० रुपैयाँ पुगेको थियो । पछिल्लो समय किसानले पाउने अण्डाको मूल्य निरन्तर घट्दो छ । उपभोक्ताको खरिद मूल्य भने घटेको छैन । अण्डा उत्पादक संघले उपभोक्ता मूल्य १२ रुपैयाँ तोके पनि कायम हुन सकेको छैन । सरकारले बजारमा ध्यान नदिँदा यस्तो हुन गएको उत्पादकहरूको भनाइ छ ।

सुरुमा अण्डा उत्पादकले सप्लायर्सलाई बेच्छन् । सप्लायर्सले होलसेल विक्रेतालाई दिन्छन् । होलसेलले खुद्रा र खुद्रा विक्रेताले साइकल वा भ्यानलाई बेच्छन् । त्यहाँबाट किराना पसलहरूमा पुगेपछि मात्रै उपभोक्ताको हातमा अण्डा पर्छ । अण्डा बजारको यो झन्झटिलो बिक्री प्रणालीले किसान र उपभोक्ता मारमा परेको उत्पादकहरू बताउँछन् ।

‘यो चार/पाँच तह पार गर्नुपर्ने भएकाले किसान र उपभोक्तबीचको अण्डाको मुल्य धेरै फरक परेको हो,’ संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले भने । बीचको तह के कसरी कम गर्न सकिन्छ सबैले सोच्नुपर्ने बेला आएको उनले बताए । तर, सरकारी संयन्त्र यो विषयमा गम्भीर नभएको अण्डा उत्पादकहरू बताउँछन् ।

‘मासु होस् वा अण्डा किसानले पाउने मूल्य घट्दा त्यही अनुपातमा उपभोक्ताले पाउने मूल्य नघटेको देखिन्छ । यो समस्या समाधान हुनुपर्छ । सबैले सोच विचार गरौं,’ सप्लायर्स संघका अध्यक्ष जयकृष्ण सापकोटाले भने । अण्डा उत्पादक किरणभूषण ओली साना किसानहरू झनै मर्कामा परेको बताउँछन् । साना किसानले अण्डाको मूल्य ६ रुपैयाँ पनि नपाएको उनले बताए ।

‘बिचौलिया हावी भएर यस्तो समस्या आएको हो । यो विषयमा सरकार तात्नैपर्छ,’ ओलीले भने । नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिका अध्यक्ष कँडेल अघिल्लो वर्षको तुलनामा अण्डा उत्पादन बढेका कारणले पनि यो वर्ष राम्रो मूल्य नआएको तर्क गर्छन् । अघिल्लो वर्ष नेपालभर दैनिक २२ लाख गोटा अण्डा उत्पादन हुन्थ्यो । यो वर्ष ३५ लाख पुगेको उनले बताए ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?