२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

अदुवा निकासी करमा वृद्धि

भद्रपुर — नेपाल र भारत दुवैतर्फ अदुवाको निकासी करमा वृद्धि गरिएको छ । नेपालमा निकासी कर नबढाउन अदालतबाट उपचार खोजिएको छ ।

अदुवा निकासी करमा वृद्धि

भारतमा भने वृद्धि गरिएको निकासी करबारे अनिश्चितता कायमै छ । नेपालबाट भारत निकासी हुने अदुवामा प्रतिट्रक पाँच हजार नेरु र भारतले १३ हजार भारु कर लगाएको छ ।

झापा जिविसले विगतमा प्रतिट्रक ७ सय रुपैयाँ निकासी कर लिँदै आएको थियो । तर हाल कर बढाएर पाँच हजार रुपैयाँ पुर्‍याएको हो । काँकडभिट्टामा कर विवाद चलिरहेका बेला भारत सरकारले समेत नेपाली अदुवामा कर बढाएको छ ।

भारतले विगतमा प्रतिट्रक सात हजार भारु कर लिँदै आएको थियो । नेपाल अदुवा उत्पादक संघका कार्यबाहक अध्यक्ष टोमलाल राजवंशीका अनुसार जीएसटी लागू भएपछि कर बढाएर ११ हजार भारु पुर्‍याइएको र हाल दुई हजार थपेर प्रतिट्रक १३ हजार भारु कर लगाइएको हो ।

नेपाल र भारत दुवैतिर बढाइएको करले अदुवा व्यवसायीको ढाड भाँचिएको गुनासो राजवंशीको छ । नेपालबाट निकासी भएको १४ ट्रक अदुवा क्वारेन्टाइन जाँचको बहानामा सातादेखि भारतीय भन्सारमा अलपत्र अवस्थामा छन् । भारतीय क्वारेन्टाइन कार्यालयले नेपाली अदुवाको नमुना परीक्षणका लागि बैङ्लोर पठाइएको दाबी गरेको छ । जाँचको रिपोर्ट आउन एक साता लाग्ने भारतीय अधिकारीले जनाएको राजवंशीले बताए । नमुना परीक्षणको रिपोर्ट नआएसम्म अदुवा लोड गरिएका गाडी भन्सारबाट निकाल्न नदिने भारतीय पक्षको अडान छ ।

यसैबीच अदुवामा निकासी कर नलगाउन पुनरावेदन अदालत इलामले अन्तरिम आदेश जारी गरेको छ । झापा जिल्ला समन्वय समितिले काँकडभिट्टाबाट भारत निकासी हुने अदुवामा प्रतिट्रक पाँच हजार निकासी कर लगाएपछि त्यसविरुद्ध परेको रिटमा पुनरावेदन अदालत इलामले अर्को निर्णय नआउञ्जेल त्यस्तो कर नलगाउन आदेश जारी गरेको हो ।

नेपाल अदुवा उत्पादक संघका तर्फबाट पुनरावेदन अदालत इलाममा निकासी कर रोकी पाऊँ भनी बिहीबार रिट दायर गरिएको थियो ।

अधिवक्ता उत्तम पौडेलका अनुसार मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलले अदुवामा निकासी कर नलगाउनू भनी अन्तरिम आदेश जारी गरेको हो । अदालतले विपक्षी झापा जिल्ला समन्वय समितिलाई छलफलका लागि भदौ २६ मा बोलाएको छ ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?