कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सेयर कारोबार अर्बभन्दा कम

काठमाडौँ — यो साता बजारमा ८० करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकम ३१.८१ प्रतिशतले कम हो ।

सेयर कारोबार अर्बभन्दा कम

केही साता यता बजारमा निरन्तर रूपमा सेयर कारोबार घटिरहेको छ । यही क्रममा यो साता अर्ब रुपैयाँभन्दा कम (सवा ८० करोड रुपैयाँ) को सेयर कारोबार भएको हो । साप्ताहिक रूपमा समग्र नेप्से परिसूचक सकारात्मक रहे पनि कारोबार रकम घट्दो क्रममा देखिएको छ ।

बजारमा निरन्तर रूपमा कारोबार रकम घटनुको अर्थ थप लगानी गर्न लगानीकर्ता निरुत्साहित हुनु हो । करिब ११ हजार ८ सय कारोबारबाट १ सय ८० कम्पनीका २५ लाख ४२ हजार ७ सय १० कित्ता सेयरहरू खरिद–बिक्री भए । ती कारोबारबाट करिब सवा ८० करोड रुपैयाँ परिचालन भएको हो । गत साता करिब साढे १६ हजार कारोबारबाट ४४ लाख २१ हजार ९ सय ५० कित्ता सेयर किनबेच हुँदा १ अर्ब १७ करोड रुपैयाँ परिचालन भएको थियो ।

कारोबार रकम घटे पनि यो साता समग्र नेप्से परिसूचक भने बढेको छ । चार दिनको कारोबारमा समग्र नेप्से परिसूचक ३.१९ अंकले सकारात्मक रहयो । तर, साताको पहिलो दिन (आइतबार) को तुलनामा उक्त परिसूचक ५.९७ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांक छ ।

यो साता विकास बैंक, जलविद्युत्, वित्त कम्पनी, बिमा, लघुवित्त र ‘अन्य’ समूहको परिसूचक घटे । बाँकी समूहको परिसूचक घनात्मक रहे । जसमध्ये बैंकिङ समूहको परिसूचक १०.४९, होटलको ७.६३ र उत्पादन तथा प्रशोधनको १७.६३ अंकले बढे र तर, विकास बैंक समूहको परिसूचक २.८९, जलविद्युत्को ७.७४, वित्त कम्पनीको ०.९९, जीवन बिमाको ४४.८८, निर्जीवन बिमाको २.४८, लघुवित्तको ५.३ र ‘अन्य’ समूहको परिसूचक करिब २ अंकले ऋणात्मक रहे ।

विगतका साताहरूमा जस्तै यो साता पनि कुल कारोबारमा वाणिज्य बैंकहरू आबद्ध बैंकिङ समूहको सबैभन्दा बढी नै रहयो । उक्त अवधिको कुल कारोबारमध्ये यो समूहको हिस्सा ४१.०५ प्रतिशत रहयो । गत साताको तुलनामा यस्तो हिस्सा करिब स्थिर जस्तै हो । गत सातासाता कुल कारोबारमा बैंकिङ समूहको हिस्सा करिब ४१.४६ प्रतिशत थियो ।

गत साताको तुलनामा यो साता कुल कारोबारमा बिमा समूहको हिस्सा सीमान्त रूपमा बढयो । जसमध्ये कुल कारोबारमा बिमा समूहको हिस्सा १८.४५ प्रतिशत छ । गत साता यस्तो हिस्सा १८.१८ प्रतिशत थियो । यसैगरी, कुल साप्ताहिक कारोबारमा संस्थापक सेयरको हिस्सा १६.०६, लघुवित्तको करिब ८.७९, विकास बैंकको ७.१४ र जलविद्युत्को हिस्सा ४.१ प्रतिशत रहयो ।

यो साता कारोबार रकम (७ करोड ३९ लाख ६० हजार रुपैयाँ) का आधारमा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर अग्रस्थानमा छ । कारोबार सेयर संख्या (१ लाख ३२ हजार कित्ता) का आधारमा एनएमबी बैंक सबैभन्दा अघि छ । तर कारोबार संख्या (५ सय ८८ वटा) का आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अघि रहेको नेप्सेले जनाएको छ ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?