सम्मेलनलाई सजियो जुम्ला

जुम्ला — जुम्लाको आर्थिक समृद्धिका लागि लगानी सम्मेलनको तयारी भइरहेको छ । ‘विकास सामथ्र्यको उजागर’ नाराका साथ भदौ २९ मा चन्दननाथ नगरपालिकाले सम्मेलन गर्न लागेको हो ।

सम्मेलनलाई सजियो जुम्ला

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चन्दननाथ नगरपालिकाको संयुक्त आयोजनामा लगानी सम्मेलन हुन लागेको छ । नगरप्रमुख कान्तिका सेजुवालले लगानी सम्मेलनको तयारी तिब्ररुपमा भइरहेको बताइन् । ‘कर्णालीमै पहिलो पटक लगानी सम्मेलन हुन लागेको छ,’ उनले भनिन्, ‘सम्मेलनका लागि देश तथा विदेशका लगानीकर्ता आउनेछन् ।’

विकासका लागि लगानी सम्मेलन सार्थक हुने प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताए । ‘सम्मेलन जुम्लाको विकासको आधार हुनेछ,’ उनले भने, ‘त्यसै आधारमा टेकेर यहाँको विकासलाई एकद्वार ढंगले अगाडि बढाइनेछ ।’ प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरू, विभिन्न मन्त्रालयका अधिकारी, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मुलुकका राजदूत, उद्योगी, व्यवसायीलगायतलाई निम्ता गरिएको नगरपालिकाले जनाएको छ ।

सम्मेलनमार्फत लगानीकर्ताको बेसलाइन सर्भे हुने नगरपालिकाले जनाएको छ । ‘सम्मेलन जुम्लालाई चिनाउने एक अस्त्र बन्नेछ,’ नगरप्रमुख सेजुवालले भनिन्, ‘जुम्लामा कैयौं पर्यटकीय गन्तव्य छन्, थरीथरीका जडीबुटी छन् । तिनको प्रचारप्रसार र बजारीकरणमा पनि सहयोग पुग्नेछ ।’

उनले सम्मेलनमार्फत पर्यटकीय गन्तव्यको पहिचान हुने जनाइन् । उनका अनुसार जिल्लामा उत्पादित औषधिजन्य जडीबुटीको प्रशोधन र बजारीकरणमा समेत सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ । लगानी सम्मेलनमा तीन सय जनाको उपस्थिति हुने अनुमान छ । जुम्लामा एक नगरपालिकासहित ७ वटा गाउँपालिका छन् ।

सबै स्थानीय सरकारले यहाँको सम्भावना र विकासको खाका तयार गरेर प्रस्तुत गर्नेछन् । जसले जुम्लाको समग्र विकासमा टेवा पुर्‍याउने नागरिक अगुवाको आशा छ ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?