पूर्वी पहाडमा तिहारसम्ममा हवाई सेवा सुरु हुने

‘तीनवटै टवनअटर चल्यो भने एउटालाई यहीं राखेर साताको तीन दिन पहाडी भेकमा उडाउँछौं ।’
जितेन्द्र साह

विराटनगर — पूर्वी पहाडी भेकमा लामो समयदेखि ठप्प हवाई सेवा तिहारसम्ममा पुन: सुरु हुने नेपाल वायु सेवा निगमको विराटनगर स्टेसनले जनाएको छ ।

पूर्वी पहाडमा तिहारसम्ममा हवाई सेवा सुरु हुने

विराटनगरबाट भोजपुर र खोटांगको खानीडाँडासम्म गर्दै आएको उडान विमान बिग्रेर बन्द भएको छ । पहाडी क्षेत्रमा सक्दो तिहारअगावै उडान सेवा फेरि सुरु गरिसक्ने निगमको विराटनगरस्थित कार्यालयका वाणिज्य विभागका क्षेत्रीय प्रबन्धक नारायण पुरीले जानकारी दिए ।

एक मात्र विमान पनि मरम्मतका लागि गएकोले पहाडी भेकको उडान प्रभावित भएको पुरीले जनाए । हाल निगमसँग भएको तीन घरेलु विमानमध्ये दुई मात्र सञ्चालित छ । उनले कान्तिपुरसँग भने, ‘तीनवटै टवनअटर चल्यो भने एउटालाई यहीं राखेर साताको तीन दिन पहाडी भेकमा उडाउँछौं ।’ २०६०/६२ सम्म विराटनगरबाट सोझै पूर्वी पहाडमा विमान उड्ने गरेको जानकारहरूले बताए । केही वर्षदेखि भने काठमाडौंबाटै आएको विमान पहाडी भेकमा पनि उड्ने गथ्र्यो ।

पुरीले ताप्लेजुंग, संखुवासभाको तुम्लिङटार, भोजपुर, ओखलढुंगाको रुम्जाटार र खोटांगको लामीडाँडामा पनि नियमित उडान गर्ने प्रयासमा रहेको बताए ।

उनले यसका लागि विराटनगरमै आधार बनाएर नियमित उडानका लागि एक टवनअटर विमान निगमको केन्द्रीय कार्यालयसँग मागेको जनाए । ‘ढुक्कै विराटनगरमा राखेर उडाउने हामीसँग एउटै विमान छैन,’ उनले भने ।

निगमले चीनसँग वाईटुएलथ्री नामक चार र एमएसिक्स्टी नाम दुई गरी ६ थप नयाँ टवनअटर एक वर्षभित्रै किन्न लागेको छ । ‘आन्तरिक उडानका लागि ९ विमान भएपछि सेवा सहज हुन्छ,’ उनले भने । पुरीले यसपछि पर्यटकीय एवं आर्थिक गतिविधिले समेत गति लिने बताए । ‘योसँग स्थानीय ट्राभल एजेन्सी, होटल, यातायात र श्रमिकसमेत जोडिएका हुन्छन्,’ उनले भने, ‘नउडा यो वर्ग प्रत्यक्ष मर्कामा पर्छन् ।’

अन्य विमान सेवाको भाडादर महँगो भएको उनले बताए । ‘निगमको जहाज उडदा त अरूले पनि भाडादर घटाउँछन्,’ पुरीले भने, ‘प्राविधिक गडबडीले हाम्रोले उडान नगरेको दिन त अरूहरूले यात्रुसँग दोब्बर भाडा असुल्छन् ।’

प्रकाशित : भाद्र १८, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?