२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

महिला उद्यमीलाई विश्वास जित्ने चुनौती

व्यवसायमा पैसाभन्दा सम्बन्ध र विश्वास महत्त्वपूर्ण हुन्छ
सजना बराल

काठमाडौँ — सफल व्यवसायको सूत्र के होला ? यसमा पनि महिला व्यवसायीले कसरी फड्को मार्न सक्लान् ? यी प्रश्नको जवाफमा बेलायतकी व्यवसायी एवं लेखिका सेलिया गेट्सले भनिन्, ‘सफल हुनका लागि हामीलाई क्यास होइन कनेक्सन र क्रेडिबिलिटी चाहिन्छ ।’

महिला उद्यमीलाई विश्वास जित्ने चुनौती

उनले व्यवसायमा पैसाभन्दा सम्बन्ध र विश्वास महत्त्वपूर्ण हुने बताएकी हुन् । यही दुई चीजका लागि महिला व्यवसायीले बढी संघर्ष गर्नुपर्ने उनको बुझाइ छ । ‘हामीलाई विश्वास जित्न गाह्रो पर्छ,’ उनले भनिन्, ‘सम्बन्ध विस्तार गर्नु ठूलो चुनौती हो ।’ उनका अनुसार लगानी अभावमा व्यवसायी बढी सिर्जनशील हुन्छन् । ‘गल्ती गर्न डराउनुभएन,’ उनले थपिन्, ‘फेल हुने नै सफल हुन्छन् ।’

सोमबारबाट सुरु भएको तीनदिने ‘अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०७५’ को पहिलो सेसनमा सेलियाले आफ्ना कुरा राखेकी थिइन् । यसमा इन्ह्यान्स इन्टिग्रेटेड फ्रेमवर्कका कार्यकारी निर्देशक रत्नाकर अधिकारीले पनि व्यवसायका आरोह–अवरोहबारे अनुभव साझा गरेका थिए ।

देश–विदेशका गरी अहिले सम्मेलनमा दुई सय उद्यमी महिला भेला भएका छन् । दक्षिण एसियाली महिला विकास फोरमले आयोजना गरेको सम्मेलनमा २७ देशका विज्ञ उपस्थित रहेको फोरम अध्यक्ष प्रमिला आचार्य रिजालले बताइन् । ‘एक–अर्काबाट सिक्न सकियोस् भनेर यो सम्मेलन गरेका हौं,’ रिजालले भनिन्, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्ने वातावरण बनाउन खोज्दै छौं ।’

सम्मेलन उद्घाटनका लागि होटल याक एन्ड यती पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनले दिगो विकास र आर्थिक सबलीकरणका लागि महिलालाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताए । उनले भने, ‘महिलाहरू समृद्ध भए मात्रै देशको विकास हुन्छ ।’ नेपालको संविधानले समावेशितालाई राम्ररी सम्बोधन गरेको भन्दै उनले खुसी व्यक्त गर्न भ्याए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले महिलाहरू व्यवसायमा आउँदा लैंगिक समानता स्थापित हुने तर्क गरे । उनका अनुसार यौन हिंसा र बलात्कारजस्ता अपराध कम गर्न पनि महिला सशक्तीकरण आवश्यक छ । ‘अहिले पनि महिलामाथि विभेद छ,’ उनले भने, ‘यसको अन्त्य हुनुपर्छ ।’ महिला उद्यमीको संख्या बढाउन नेपाल सरकारले महिलाका लागि सामाजिक एवं प्रशासनिक सुविधा उपलब्ध गराएको ज्ञवालीले बताए ।

समारोहमा दक्षिण एसियाली महिला विकास फोरमले तयार पारेको ‘रिफ्लेक्सन्स अन पोलिसिज फर विमेन स्मल एन्ड मेडियम आन्टरप्रेनियर्स : स्टाटस, च्यालेन्जेज एन्ड अपर्चुनिटिज इन हिन्दुकुस हिमालयज एन्ड सार्क रिजन’ शीर्षकको पुस्तक लोकार्पण गरिएको थियो ।

सम्मेलनको पहिलो दिन ‘प्रमोटिङ इकोनमिक इन्पावरमेन्ट अफ अफ्रिका, मिडल इन्स्ट र उत्तर अफ्रिकन रिजन’ शीर्षकमा पनि छलफल भएको थियो । संयुक्त राष्ट्र औद्योगिक विकास संगठनका प्रमुख डा. हसिम हुसेनको नेतृत्वमा जोर्डन अफ्रिका बिजनेस एसोसिएसनकी अध्यक्ष रिम बद्रन, इजिप्सियन सेन्टर फर इकोनमिक स्टडिजका निर्देशक अब्ला अब्देल लातिफ र मिडल इस्ट नर्थ अफ्रिका बिजनेस विमेन नेटवर्ककी अफ्नान अल जयानीले आफ्ना अनुभव सुनाएका थिए ।

उद्योग–व्यवसायमा लैंगिक समावेशिता, महिला उद्यमीका लागि प्राविधिक विकासलगायत शीर्षकमा बुधबारसम्म छलफल हुनेछ । सार्क, आसियन र अन्य क्षेत्रीय संगठनका प्रतिनिधि सम्मेलनमा उपस्थित छन् । ‘बायोटेक्नोलजी पार्क र टाटा वाटर बिजनेस प्रोजेक्ट सुरु गर्ने योजना छ,’ सम्मेलन आयोजक रिजालले भनिन्, ‘यही कार्यक्रममा यीबारे टुंगो लगाउँदै छौं ।’

प्रकाशित : भाद्र १९, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?