कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खच्चड बेचेर गाडी

हरि गौतम

रुकुम पश्चिम — कुनै बेलाका खच्चड मालिक हाल गाडी साहु । सडकले उनीहरूलाई खच्चडबाट गाडी मालिकमा रूपान्तरण गरिदियो । केही लगानीसँगै आम्दानी पनि बढयो ।

खच्चड बेचेर गाडी

आठबीसकोट नगरपालिका–४, का पृथीबहादुर विष्टसँग दुईवटा गाडी छन् । एक यात्रुबाहक जिप र मालबाहक टयाक्टर । एक वर्षअघिसम्म ५ खच्चडका मालिक विष्टले गत पुसमा खच्चड बिक्री गरेर गाडी खरिद गरेका हुन् ।

उनकै छिमेकी कर्ण केसीले पनि खच्चड बेचेर दुईवटा टयाक्टर खरिद गरेका छन् । आठबीसकोट नगरपालिका–४, को छरेबगरदेखि डोल्पाको सिमानासम्म टयाक्टरबाटै सामान ढुवानी गरेर राम्रो आम्दानी गरिरहेको उनले बताए ।

विष्ट र केसी मात्रै होइन आठबीसकोटका अधिकांश खच्चड व्यवसायीले पछिल्लो समय गाडी खरिद गरेर ढुवानी व्यवसाय सुरु गरेका छन् । जाजरकोट–डोल्पा सडक डोल्पासम्मै पुगेपछि खच्चड व्यवसायीले खच्चड छाडेर गाडी किनेका हुन् । ‘खच्चडले सामान ढुवानी गर्ने सबै ठाउँमा सडक पुगिसकेपछि गाडी किनेका हौं,’ विष्टले भने, ‘गाडी नै गुड्ने भएपछि खच्चडको काम भएन ।’ सडक पुग्नुअघि उनीहरूले खच्चडमा सामान लादेर डोल्पा पुर्‍याउने काम गर्थे । अहिले त्यो काम उनीहरूका गाडीले गरिरहेका छन् ।

२० लाखमा ५ खच्चड बिक्री गरेर उनले जिप र टयाक्टर खरिद गरेको केसीले बताए । खच्चड बिक्रीबाट आएको रकममा अरू थपेर उनले टयाक्टर र जिप खरिद गरेको उनको भनाइ छ ।

सडक निर्माण भइसकेपछि खच्चड पालिराख्नुको कुनै अर्थ नभएको केसीले जनाए । ‘खच्चडको ठाउँमा गाडी गुड्ने भएपछि हामीहरू गाडी खरिदतर्फ लाग्यौं,’ उनले भने, ‘आम्दानी पनि राम्रो हुने भएकाले ऋण गरेरै भए पनि गाडी किनियो ।’ उनका अनुसार ढिला खच्चड बिक्री भएकाहरू पनि गाडी किन्ने क्रममै छन् ।

जिल्लामा परम्परागत ढुवानीका साधन खच्चड प्रयोग शून्य बनेको छ । एक दशकअघिसम्म जिल्लाका सबै ठाउँमा खच्चडमार्फत नै मालसामान ढुवानी हुने गरेको थियो । गोतामकोट क्षेत्रमा पालिएका खच्चडले अहिले डोल्पातिर सामान ढुवानी गर्ने गरेका छन् ।

डोल्पा सदरमुकामदेखि गाउँगाउँमा मालसामान ढुवानी गर्न खच्चडकै भर पर्नुपर्ने बाध्यता छ । अहिले जाजरकोट, नलगाड नगरपालिका–१२, तल्लुबगरबाट झोलुंगेपुल तरेपछि भेटिने छरेरबगरबाट डोल्पाको सीमासम्म गाडी सञ्चालन भइरहेका छन् ।

डोल्पा र रुकुम पश्चिमको सिमाना त्रिवेणीदेखि माथि पनि गाडी जाने गरेका छन् । स्थानीय दीनानाथ विकले जाजरकोट–डोल्पा सडकको छरेबगर–त्रिवेणी खण्डमा गाडी चल्न थालेपछि आउजाउका साथै सामान ढुवानीमा सहज भएको बताए ।

प्रकाशित : भाद्र १९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?