२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कोसेलीमा लेकाली आलु लोकप्रिय

लेकाली भेगमा फल्ने यो आलु स्वादिलो हुने भएकाले कोसेलीको रूपमा लैजान रोजाइमा पर्ने गरेको छ
विप्लव भट्टराई

इलाम — आफन्तलाई कोसेली आलु ? अनौठो लागे पनि यो यहाँको नियमित चलन हो । इलामबाट आफन्तलाई कोसेली लैजान अनेक मौलिक चीजवस्तु छन् । चियादेखि ललिपप, घीउ, चिज, छुर्पी, किबी फललगायत रैथाने उत्पादन प्रशस्तै छन् ।

कोसेलीमा लेकाली आलु लोकप्रिय

कोसेली लैजाने सूचीमा अचेल अनिवार्य जस्तै बनेको छ आलु । यो सामान्य किसिमको आलु होइन । दुर्लभ बनिरहेको तर धेरैले मन पराउने आलु हो— झ्याले आलु । लेकाली भेगमा फल्ने यो सामान्यभन्दा बेग्लै स्वादिलो हुने भएकाले कोसेली लैजाने र प्राप्त गर्नेहरूको रोजाइमा पर्ने गरेको छ ।

उसिनेर खाँदा धेरै स्वादिलो । अरू कुनै पनि तरकारीमा मिसिएर पकाए झनै बेग्लै स्वाद हुने भएकाले यो विशेष बनेको हो । यही भएर यसको मूल्य अरूको तुलनामा यसको मूल्य निकै बढी पर्छ । ‘पहाडे आलु’ भनेर पनि चिनिने झ्यालेको रङ सेतो हुन्छ । अहिले झ्याले आलुको मूल्य प्रति ४० किलोको ३ हजार २ सय रुपैयाँ छ । अरू जातका आलु यसको आधा कम मूल्यमा पाइन्छ ।

कोसेली लानकै लागि लेकाली बजारहरूमा आलु खोज्ने प्रशस्तै भेटिन्छन् । एकदुई किलो भए पनि बोकेर जाँदा आफन्तकोमा मानसम्मान नै छुट्टै पाइने अनुभवी बताउँछन् । करिब २ हजार मिटर हाराहारीको उचाइमा फल्ने यो आलु वर्षमा एक पटक चाख्न पाए पनि दंग पर्ने उल्लेख्य भेटिन्छन् ।

‘लेकाली स्वादको झ्याले आलु कहिलेकाहीँ आफन्तले ल्याइदिंदा घरकै स्वाद भेटेझैं लाग्छ,’ दुई दशकदेखि काठमाडौं बस्दै आएकी इलामकी शकुन्तला घिमिरे भन्छिन्, ‘कम उत्पादन भएर होला तर अचेल सजिलै पाउन सकिंदैन रे ।’

पहाडी क्षेत्रमा केही समयअघि व्यावसायिक उत्पादन हुने झ्याले आलु पाउन भने निकै मेहनत गर्नुपर्छ । जुनसुकै तरकारी बजारमा नपाइने यो जातको आलु लेकाली क्षेत्रका इष्टमित्रसँग सम्पर्क गरेर मात्र झिकाउन सकिन्छ ।

अन्य आलुको तुलनामा उत्पादन कम हुने भएकाले कृषकले खेती घटाएका हुन् । ‘बारी धेरै ढाक्ने र कम उत्पादन हुने भएकाले नै यो आलुको खेती गर्न कृषकले मन गर्दैनन्,’ देउमाई नगरपालिका १ चमैताका दावा लामाले भने, ‘थोरथोरै तरकारीका लागि मात्र रोप्ने चलन छ ।’

पहिले झ्याले आलु फल्ने ठाउँमा अचेल अरू जातका आलुले ढाकेको छ । धेरै कृषकले ‘बिटे’ भनिने आलु रोप्ने गरेका छन् । यसको ठूलो मात्रामा बिक्री गर्न बजार पनि पर्याप्त छ । ‘अनिकालमा झ्याले आलु खाएर छाक टार्ने चलन थियो,’ पाका तोयनाथ भट्टराई सम्झिन्छन्, ‘उतिबेला लेकाली क्षेत्रमा अरू अन्न कम फल्ने भएकाले विकल्पमा यही आलु हुन्थ्यो ।’

जिल्लाका चमैता, पुवामझुवा, माइमझुवा, मावु, माइपोखरीलगायत स्थानका केही कृषकले मात्र अहिलेसम्म खेती जोगाएका छन् । पछिल्लो समय सन्दकपुर र माइजोगमाईमा पर्ने जौबारीमा आलु खेती प्रवद्र्धन गर्न बागबानी र अनुसन्धान केन्द्र खुलेपछि त पुरानो जातका आलु पाइनै मुस्किल भएको छ ।

ठूलो र धेरै फल्ने आलुले बिछट्टको स्वाद हुने झ्यालेलाई जौबारी आसपास क्षेत्रमा विस्थापित नै गरेको छ । जौबारीले जनकदेव, कारर्डिनल, डेजिरे, खमल सेतो, ज्योतीलगायतका आलुलाई प्राथमिकता दिएको छ । ‘झ्याले आलु प्रवद्र्धनमा हामीले प्रयास गर्न खोज्यौं तर सिफारिसमा नपरेको जात भएकाले सफल भइएन,’ प्राविधिक गणेश खत्रीले भने ।

बचाउन अभियान
बढ्दो माग भए पनि घट्दो उत्पादनका कारण बहुउपयोगी मीठो र स्वास्थ्यका लागि पनि उत्तम मानिएको झ्याले आलु बचाउन देउमाई नगरपालिकाले अभियान थालेको छ ।

नगरपालिका वडा १ को धप्पर क्षेत्रलाई अग्र्यानिक आलु पकेटक्षेत्र कार्यक्रममार्फत झ्याले आलु प्रवद्र्धन थालिएको हो । यस आर्थिक वर्षदेखि झ्याले आलुको खेतीलाई व्यापक बनाउन कृषकलाई अनुदानमा बीउ वितरण गरिने वडाध्यक्ष माधव बस्नेतले बताए ।

‘धेरै आलु रोप्ने र न्यून आयस्रोत भएका कृषकलाई बीउ खरिद गरेर दिइनेछ,’ उनले भने, ‘हाम्रो मुख्य उद्देश्य नै झ्याले आलुको उत्पादन बढाउँदै बजारमा मागअनुसार कृषकले पुर्‍याउन सकून् भन्ने हो ।’

कृषि क्षेत्रमा छुट्टिएको रकमलाई कार्यक्रममा समावेश गरिने भएकाले कृषकको उत्साहअनुसार धेरैलाई समेटिने नगरपालिकाले जनाएको छ । आलुको उत्पादन बढाउन कृषकलाई आवश्यक प्राविधिक ज्ञानसमेत दिने योजना नगरपालिकाको छ । नगरपालिकाको धप्पर क्षेत्र सागसब्जी उत्पादनमा पनि अब्बल मानिन्छ ।

प्रकाशित : भाद्र १९, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?