१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अर्जेन्टिनामा संकट: कर बढाउने र खर्च घटाउने घोषणा

बीबीसी

लन्डन — मुद्रा संकट गहिरिँदै गएपछि अर्जेन्टिनी सरकारले कर बढाउने र सरकारी खर्च घटाउने घोषणा गरेको छ । टेलिभिजन सम्बोधनमा राष्ट्रपति मौरिसियो म्याक्रीले कमाएको भन्दा बढी खर्च गर्न नहुने बताए ।

अर्जेन्टिनामा संकट: कर बढाउने र खर्च घटाउने घोषणा

सरकारले निर्यात हुने केही खाद्यान्नमा कर बढाउने र सरकारका आधा मन्त्रालय घटाउने घोषणा गरेको छ । तर, यसबारे थप जानकारी सार्वजनिक गरिएको छैन । राष्ट्रपतिको घोषणामा कुनकुन वस्तुमा कर लगाउने र कुनकुन मन्त्रालय घटाउने योजनाबारे खुलाइएको छैन ।

अर्जेन्टिना सोया खाद्यान्नको ठूलो निर्यातकर्ता हो । अर्जेन्टिनाले सोयासहित सोयाको तेल, मकै, गहुँ र कच्चा पदार्थका रूपमा सोयाबिन पनि निर्यात गर्छ । अर्जेन्टिनी मुद्रा पेसोको बढ्दो अवमूल्यन गर्न अर्थमन्त्री निकोलास डुजोभ्नेले आगामी वर्षदेखि बजेट घाटा घटाउने घोषणा गरेका छन् ।

बढ्दो आर्थिक संकटका कारण अर्जेन्टिनी केन्द्रीय बैंकले ब्याजदर बढाएर ६० प्रतिशत पुर्‍याएको छ । पछिल्लो एक वर्षमा मात्रै डलरविरुद्ध अर्जेन्टिी मुद्रा पेसोको भाउ आधाले घटेको छ । अर्जेन्टिनी अर्थमन्त्री डुजोभ्ने यसै साता अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लागार्डेलाई भेट्न अमेरिका जाँदै छन् ।

तीन महिनाअघि अर्जेन्टिनी सरकाराले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ५० अर्ब डलर ऋण लिने निर्णय गरेको थियो । अर्जेन्टिनी सरकारले ऋण लिने गरेको कोष अर्जेन्टिनी जनताबीच भने अलोकप्रिय छ । सन् २००१ को आर्थिक संकटमा अर्जेन्टिनामा मुद्रा कोषले खेलेको भूमिकाप्रति यहाँ आलोचना हुने गरेको छ ।

अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गर्न ऋण लिने निर्णय अपरिहार्य रहेको सरकारको दाबी छ ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?