१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सल्यानको टिमुर फ्रान्स निर्यात

विप्लव महर्जन

सल्यान — यहाँको टिमुर फ्रान्स निर्यात हुन थालेको छ । केही वर्षअघिसम्म स्थानीय बजारमै खपत नहुने टिमुर फ्रान्स जान थालेपछि भाउ अकासिएको छ । गत वर्ष पाँच सय रुपैयाँमा बिक्री भएको टिमुर यस वर्ष प्रतिकिलो १ हजार रुपैयाँ पुगेको छ ।

सल्यानको टिमुर फ्रान्स निर्यात

टिमुर फ्रान्स जान थालेपछि यहाँका किसानले भिरालो तथा बाँझो जग्गामा व्यावसायिक टिमुर खेती गर्न थालेका छन् । यहाँका सबै स्थानमा टिमुर उत्पादन हुन्छ । केही वर्षअघिसम्म रूखमै सुकेर जाने टिमुरले भाउ पाएपछि किसान खुसी भएका छन् ।

कुपिन्डेदहकी झुपकली खडकाले यस वर्ष टिम्मुरबाट ५ लाख आम्दानी भएको बताइन् । ‘उत्पादित सबै टिमुर खरिदकर्ताले लगे,’ उनले भनिन्, ‘राम्रो भाउ पाएपछि घरमा मसलासमेत राखिनँ ।’ टिमुरको भाउ उच्च भएपछि परिवार पाल्न सहज भएको उनको भनाइ छ । उनको जग्गामा एक सयभन्दा बढी टिमुरका बिरुवा छन् ।

गत वर्ष तीन लाख कमाएकी कुपिन्डेकी सुनीता बुढाले यो वर्ष टिमुरबाट सात लाख कमाइ भएको बताइन् । उनले पाँच रोपनीभन्दा बढी जग्गामा पाँच सयभन्दा बढी टिमुरका बोट लगाएकी छन् । तीन सय ५० बोटमा टिमुर उत्पादन हुने गरेको छ । टिमुर खेतीले दुई जनालाई नियमित रोजगारी मिलेको उनको भनाइ छ ।

उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले व्यावसायिक टिमुर खेती र बजारीकरणमा सहयोग गरेपछि स्थानीयको जीवनस्तरमा परिवर्तन भएको छ । विपन्न परिवारसमेत व्यावसायिक टिमुर खेतीमा लागेका छन् । यस वर्ष कुपिन्डे, निगालचुला, माँझकाडाबाट मात्रै पाँच करोडभन्दा बढीको टिमुर निकासी भएको उच्च मूल्य कृषिवस्तु विकास आयोजनाका टिमुरविज्ञ गिरिधर अमात्यले बताए ।

उनका अनुसार हिमालयन बायोट्रेड लिमिटेडको सहजीकरणमा फ्रान्सको मनिफिल्स कम्पनीले टिमुर लिइरहेको छ । ‘कम्पनीले प्रत्येक वर्ष पाँच टन टिमुर फ्रान्सले लिँदै आएको छ,’ उनले भने, ‘फ्रान्समा टिमुर जान थालेपछि भाउ बढेको छ, किसानको जीवनस्तर बदलिएको छ ।’ आयोजनाले किसानलाई टिमुर टिप्ने पन्जालगायत विभिन्न उपकरण सहयोग गर्दै आएको छ । यो वर्ष सल्यानबाट करिब ४० करोड रुपैयाँको टिमुर निकासी भएको छ । सल्यानमा नौ प्रजातिका टिमुर पाइन्छन् ।

डिभिजन वन अधिकृत मेघनाथ काफ्लेले यस वर्ष ४० करोडको टिमुर बाहिर गएको बताए । टिमुरले राम्रो भाउ पाएपछि किसान तथा सामुदायिक वनका उपभोक्ता व्यावसायिक टिमुर खेतीमा लागेको उनले बताए ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?