गुणस्तरीय इन्टरनेटमा प्रयोगकर्ता आकर्षित

दुई तिहाइ ब्यान्डविथ युटयुब र फेसबुकमा खर्च
विजय तिमल्सिना

काठमाडौँ — गुणस्तरीय इन्टरनेट प्रयोगकर्ताको संख्या उल्लेख्य बढेको छ । एक वर्षको अवधिमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या तीन गुणा बढेको छ ।

गुणस्तरीय इन्टरनेटमा प्रयोगकर्ता आकर्षित

द्रुत र गुणस्तरीय इन्टरनेटको प्रयोगकर्ता बढे पनि यसको प्रयोग भने युटयुब र फेसबुकको प्रयोगमा खर्च हुने तथ्यांकले देखाएको छ । गुणस्तरीय इन्टरनेटको प्रयोगकर्ता बढ्दा उत्पादकत्व बढाउने अन्य सम्भावनासमेत खुल्ने जानकारहरू बताउँछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार फाइबर इन्टरनेट प्रयोग गर्नेको संख्या ३ लाख ६८ हजारभन्दा बढी छ । यो असारसम्मको तथ्यांक हो ।
अघिल्लो असारमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या करिब १ लाख ३२ हजार थियो ।

इन्टरनेट सेवा प्रदायकहरूले अप्टिकल फाइबरमार्फत १० एमबीपीएसभन्दा तीव्र गतिका इन्टरनेट सेवा प्रदान गरिरहेका छन् । एक वर्षमा फाइबरमार्फत प्रसारण हुने उच्च गतिको इन्टरनेट प्रयोग गर्नेको संख्या तीन गुणाले बढेको हो ।

द्रुत गति र नियमित ब्यान्डविथ आपूर्तिका लागि अप्टिकल फाइबर प्रयोग हुन्छ । फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्नुले मानिसप्रति गुणस्तरीय इन्टरनेट लिने सोच बढेको पुष्टि हुने इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानका पूर्वअध्यक्ष विनय बोहोरा बताउँछन् ।

करिब दुई दर्जन इन्टरनेट सेवा प्रदायकमध्ये १० वटा संस्थाले फाइबर इन्टरनेट घरघरमा पुर्‍याउँदै आएका छन् ।

एक वर्षमा सामान्य केबलमार्फत इन्टरनेट प्रयोगकर्ता भने घटेका छन् । अघिल्लो वर्ष ६३ हजार रहेको यो संख्या अहिले ४३ हजारमा घटेको छ । यो तथ्यांकले पनि प्रयोगकर्ताहरू नियमित र द्रुत इन्टरनेट प्रयोग गर्न थालेको संकेत गर्ने बोहोरा बताउँछन् ।

इन्टरनेट सेवा प्रदायकमध्ये सबैभन्दा बढी ग्राहक वल्र्डलिंक कम्युनिकेसनका छन् । वल्र्डलिंकका कुल ग्राहक २ लाख २४ हजार बढी छ । वल्र्डलिंकका अधिकांश ग्राहकले फाइबर इन्टरनेट प्रयोग गर्छन् । कम्पनीका फाइबर इन्टरनेटका ग्राहक २ लाख १७ हजार बढी छ ।

द्रुत गतिको इन्टरनेटको प्रयोग बढे पनि अधिकांश ब्यान्डविथ भने युटयुब र फेसबुक प्रयोगमा खर्च हुने गरेको छ । वल्र्डलिंकले उपलब्ध गराएको तथ्यांकअनुसार ५० प्रतिशत ब्यान्डविथ गुगलका प्रडक्टमा खर्च हुन्छ । गुगल प्रडक्टमा खर्च हुने अधिकांश ब्यान्डविथ युटयुबमा प्रयोग हुन्छ । यस्तै १५ प्रतिशत ब्यान्डविथ फेसबुक प्रयोगमा खर्च हुने तथ्यांक छ ।

फाइबर इन्टरनेट मात्रै उपलब्ध गराउने भायानेटका ग्राहक ५२ हजार बढी छन् । भायानेटका ग्राहकले पनि आफ्ना अधिकांश ब्यान्डविथ युटयुब र फेसबुकमै खर्च गर्ने सञ्चालक बोहोरा बताउँछन् । ‘गुगलका प्रडक्ट र फेसबुक प्रयोगमा ७० प्रतिशतसम्म ब्यान्डविथ खर्च हुन्छ,’ उनी भन्छन् ।

गुणस्तरीय इन्टरनेट प्रयोगकर्ता बढ्दा त्यसले व्यापार र उद्यमको अन्य सम्भावना पनि खोल्ने बोहोराको अनुभव छ ।

‘नियमित र द्रुत गतिको इन्टरनेट प्रयोगकर्ता बढ्दा इकमर्स र यस्तै खालका व्यवसाय फस्टाउने सम्भावना हुन्छ,’ उनी भन्छन्, ‘यसले उत्पादकत्व बढाउन पनि सहयोग गर्छ ।’
फाइबर इन्टरनेटको सुविधा उपत्यकाबाहेक केही सहरमा मात्रै सीमित छ । दूरसञ्चार प्राधिकरणले सबै जिल्ला सदरमुकामलाई अप्टिकल फाइबरमार्फत जोड्ने योजना बनाएर यसको ठेक्का तीन कम्पनीलाई दिए पनि काम सुरु हुन सकेको छैन ।

नेपाल टेलिकम, स्मार्ट टेलिकम र युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले जिल्ला सदरमुकाम जोड्ने गरी अप्टिकल फाइबर बिछयाउने कामको जिम्मा पाएका छन् । तर, तीनै कम्पनीले काम सुरु गरेका छैनन् ।

प्राधिकरणले टेलिकमलाई प्रदेश १ देखि ३ सम्मका जिल्ला सदरमुकाम जोड्ने गरी अप्टिकल फाइबर बिछयाउने कामको जिम्मा दिएको छ । यस्तै प्रदेश ४ देखि ५ सम्मका सबै जिल्ला सदरमुकाम जोड्ने गरी फाइबर बिछयाउने कामको जिम्मा पाएको थियो । यस्तै ६ र ७ प्रदेशका सबै जिल्ला सदरमुकाम छुने गरी अप्टिकल फाइबर बिछयाउने कामको जिम्मा पाएको स्मार्ट टेलिकमले पनि काम सुरु गरेको छैन ।

फोजी प्रयोगकर्ता १७ लाख
फोजी प्रयोगकर्ता १७ लाख नाघेको छ । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार असारसम्म फोजी प्रयोग गर्नेको संख्या १७ लाख ७० हजार बढी छ । एनसेलको फोजी प्रयोगकर्ता ११ लाख २३ हजार बढी छन् । नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता भने ६ लाख ५ हजार बढी छन् ।

टेलिकमले २०७३ पुसदेखि काठमाडौं उपत्यकासहित पोखरामा फोजी सेवा सुरु गरेको थियो ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?