जालीले जोगियो ४ टन माछा

प्रताप विष्ट

हेटौंडा — यहाँस्थित मत्स्य विकास केन्द्रले जाडोमा साइबेरियन हाँसबाट माछा जोगाउन पोखरीमा जाली टाँगेर चार टन माछा जोगाएको छ ।

अघिल्ला वर्षहरूमा पोखरीमा जाली नटाँग्दा चार टन अर्थात् ८ लाख मूल्य बराबरको माछा साइबेरियन हाँसले खाने गरेको थियो । ‘गत वर्ष जाडोमा जाली टाँगेपछि माछा खानलाई विगतको जसरी नै हाँसहरू आए तर पोखरीको माछा खान सकेन,’ केन्द्रका प्रमुख सानाकोजी पछाईले भने, ‘साइबेरियन हाँसले बर्सेनि ८ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको माछा खाने गथ्र्यो ।’ केन्द्रले सोमबार ०७४/७५ को समीक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रम उक्त जानकारी दिएको हो ।

जाडोको समयमा साइबेरियाबाट आउने हाँसले पिप्लेस्थित मत्स्य विकास केन्द्रमा पालिएका माछा खाएर ठूलो क्षति पुर्‍याउने भएकाले माछाको सुरक्षार्थ पोखरीमा नाइनलको जाली टाँगेको थियो । पालेले ढयांग्रो ठोकेर कराउँदा पनि दर्जनभन्दा बढी हाँस पोखरीमा एकैचोटि डुबुल्की मारेर माछाको सिकार गर्ने गरेका थिए ।

Yamaha

जाडो महिनामा आउने हाँसले २ सय ग्रामसम्मको माछा पोखरीबाट झिकेर निल्ने गर्छ । पोखरीको एउटा कुनामा डुबुल्की मारेर अर्को कुनाबाट निस्कँदा चुच्चोले माछा च्यापेर निस्कन्छ । यो जातको हाँस पोखरीभित्र झन्डै १० मिनेटसम्म बस्न सक्छ ।

कात्तिकदेखि फागुनको पहिलो सातासम्म साइबेरियन हाँसहरू यहाँ बस्ने गर्छन् । गर्मी सुरु भएपछि फेरि फर्कन्छन् । त्यस्तै पोखरी क्षेत्रमा सीसीटीभी जडान गरेकाले माछाको चोरी पनि नियन्त्रण भएको केन्द्रको दाबी छ ।

४७ हेक्टर जमिनमा फैलिएको उक्त केन्द्रको सानो ठूलो गरेर ४८ वटा माछापोखरी छन् । हेटौंडा बजारबाट ४ किलोमिटरको दूरीमा रहेको यस केन्द्रले विशेषगरी खाने माछाभन्दा माछाको भुरा उत्पादन गरेर बिक्री गर्ने गरेको छ । चिसो पानीमा उत्पादन गरेको माछाको भुरा स्वास्थ्य र बलियो हुने भएकाले यहाँ उत्पादन गरेको माछाको भुरा तराई क्षेत्रका माछापालक कृषकले मात्र होइन, भारतको विहारबाट माछाको भुरा किन्न आउँछन् । उक्त केन्द्रले गत आवमा ४ दिनदेखि २ महिनासम्मको ६ करोड ४१ लाख माछाको भुरा उत्पादन गरी बिक्री गरेको थियो । त्यसमध्ये २१ लाख माछाको भुरा विहारका माछापालक कृषकले किनेर लगेका थिए ।

खाने माछा ७ टन बिक्री गरेको कार्यक्रममा केन्द्र प्रमुख पछाईले जानकारी गराएका थिए । संघीय सरकारको मातहतमा रहेको यो मत्स्य केन्द्रको नाम पनि फेरिएको छ । अहिले यसको नाम प्राकृतिक जालशय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र रहेका छ । ०२४ मा स्थापना भएको उक्त केन्द्रको नाम त्यतिबेला व्यावसायिक मत्स्य विकास केन्द्र राखिएको थियो ।

Esewa Pasal

प्रकाशित : भाद्र २०, २०७५ ०८:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मनास्लुमा बर्सेनि बढ्दै पर्यटक

हरिराम उप्रेती

गोरखा — मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि आउने पर्यटक बर्सेनि बढेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) को तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७४/७५ ७ हजार २ सय ३ पर्यटक मनास्लु घुम्न आएका थिए ।

सार्क राष्ट्रका राष्ट्रका ५६ र अन्य देशका ७ हजार १ सय ७४ पर्यटक संरक्षण क्षेत्र आएका हुन् ।

निषेधित क्षेत्रका रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि मात्रै भ्रमणका लागि खुला गरेको थियो । सुरुका वर्ष ३ सय ४४ जना पर्यटक मनास्लु क्षेत्र आएका थिए । त्यसयता बर्सेनि संख्या बढेको छ । भूकम्पको वर्ष भने पदमार्ग असुरक्षित हुँदा पर्यटकको आगमन दर कम भएको थियो । भूकम्पको वर्ष २ हजार २ सय ८८ पर्यटक संरक्षण क्षेत्रमा आएको एमक्यापको तथ्यांकमा छ ।

पर्यटक प्रवेश शुल्कबाट मात्र गत वर्ष १ करोड ४४ लाख ३५ हजार संकलन भएको एमक्यापका प्रमुख नरेन्द्र लामाले बताए । प्रवेश शुल्कबापत सार्क राष्ट्रका प्रतिपर्यटक दुई सय र सार्क बाहिरका पर्यटकले दुई हजार तिर्नुपर्छ । काठमाडौंको भृकृटीमण्डपमा रहेको नेपाल टुरिजम बोर्ड कम्पलेक्स र बोर्ड पोखरास्थित पश्चिमाञ्चल काउन्टरबाट उक्त शुल्क संकलन हुँदै आएको छ ।

संरक्षण क्षेत्रमा अन्य देशको तुलनामा फ्रान्सेली पर्यटक बढी आउने गरेको एमक्यापले जनाएको छ । अक्टोबर, नोभेम्बर, सेप्टेम्बर, अप्रिल र मे महिनामा मनास्लु भ्रमणका लागि उपयुक्त मानिन्छ । संरक्षण क्षेत्रअन्तर्गत नुब्री र चुम उपत्यका पर्यटकको रोजाइमा पर्ने गरेको छ । मनास्लु आरोहण र लार्केपासका लागि पनि पर्यटक आउने गर्छन् । पदमार्ग आउने धेरैजसो पर्यटक ५ हजार १ सय ६० मिटर उचाइको लार्के पास गर्न रुचाउने गर्छन् ।

एमक्यापअन्तर्गतको जगतस्थित पर्यटक जाँच चौकीले पदयात्रा मार्ग भएर जाने पर्यटकको विवरण संकलन गर्दै आएको छ । पर्यटकको सहयोगका लागि आयोजनाले पर्यटकको तथ्यांक लिने, होटल निर्माण गर्न प्रोत्साहन गर्ने, पर्यटकलाई गुणस्तरीय सेवा दिनका लागि तलिम सञ्चालन गर्ने, सूचना बोर्ड राख्ने र पदमार्ग सुधार गर्ने तथा पर्यटन व्यवसायीलाइ व्यवस्थित गर्न उपसमितिहरू निर्माण गर्ने काम गर्दै आएको छ ।

गोरखाको उत्तरी क्षेत्रका ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिबास र सामागाउँका पर्यटकीय क्षेत्रलाई मनास्लु संरक्षण क्षेत्रका रूपमा विकास गरिएको हो । विशेषगरी बर्खाको समयमा पदमार्गमा ढुंगा झर्दा जोखिम बढेको स्थानीयले बताउँदै आएका छन् । ‘बर्खामा कतिखेर पहिरो जान्छ, थाहा नै हुँदैन । हिँडदाहिँडदै पहिरो खसेको देखिन्छ,’ खच्चड ड्राइभर कान्छा गुरुङले भने, ‘पहिरो नआउने हो भने टुरिस्टको संख्या पनि बढ्छ, हामीहरूलाई पनि सजिलो हुन्छ ।’

साहसिक पदयात्रा गर्ने र प्रकृतिप्रेमी पर्यटक उत्तरी क्षेत्रमा बढी आउने गरेको एमक्यापले जनाएको छ ।

उत्तरी क्षेत्रको भौगोलिक अवस्थिति, हिमशृंखला, सांस्कृतिक मठ, मन्दिर र गुम्बा अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

दुई वर्षमा २ सय ४१ आरोही
चुमनुब्री गाउँपालिकाअन्तर्गत सामागाउँमा रहेको मनास्लु हिमाल आरोहणमा विदेशी पर्वतारोहीको चासो बढदो छ । एमक्यापका अनुसार सन् २०१७ को जनवरीदेखि १०१८ को जुलाईसम्म २ सय ४१ विदेशीले उक्त हिमालको सफल आरोहण गरेका छन् ।

सन् १९५६ को जुलाइ ९ मा जापानी नागरिक टोसी इमानोसीले पहिलोपल्ट मनास्लु चुचुरोको आरोहण गरेका थिए । ‘इमानोसीले पहिलोपल्ट हिमाल आरोहण गरेकाले जापानीजहरूले मनास्लुलाई हाम्रै हिमाल पनि भन्छन्,’ एमक्यापका प्रमुख नरेन्द्र लामाले भने ।

विशेषत: अक्टोबर सिजनमा
उक्त हिमाल आरोहण गर्नेको संख्या बढी हुने उनले बताए । मनास्लु हिमाललाई ‘किलर माउन्टेन’ पनि भनिन्छ । ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लुलाई साहसिक आरोहीले प्राथमिकता दिने गरेका छन् ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT