जालीले जोगियो ४ टन माछा

प्रताप विष्ट

हेटौंडा — यहाँस्थित मत्स्य विकास केन्द्रले जाडोमा साइबेरियन हाँसबाट माछा जोगाउन पोखरीमा जाली टाँगेर चार टन माछा जोगाएको छ ।

अघिल्ला वर्षहरूमा पोखरीमा जाली नटाँग्दा चार टन अर्थात् ८ लाख मूल्य बराबरको माछा साइबेरियन हाँसले खाने गरेको थियो । ‘गत वर्ष जाडोमा जाली टाँगेपछि माछा खानलाई विगतको जसरी नै हाँसहरू आए तर पोखरीको माछा खान सकेन,’ केन्द्रका प्रमुख सानाकोजी पछाईले भने, ‘साइबेरियन हाँसले बर्सेनि ८ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको माछा खाने गथ्र्यो ।’ केन्द्रले सोमबार ०७४/७५ को समीक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रम उक्त जानकारी दिएको हो ।

जाडोको समयमा साइबेरियाबाट आउने हाँसले पिप्लेस्थित मत्स्य विकास केन्द्रमा पालिएका माछा खाएर ठूलो क्षति पुर्‍याउने भएकाले माछाको सुरक्षार्थ पोखरीमा नाइनलको जाली टाँगेको थियो । पालेले ढयांग्रो ठोकेर कराउँदा पनि दर्जनभन्दा बढी हाँस पोखरीमा एकैचोटि डुबुल्की मारेर माछाको सिकार गर्ने गरेका थिए ।

Yamaha

जाडो महिनामा आउने हाँसले २ सय ग्रामसम्मको माछा पोखरीबाट झिकेर निल्ने गर्छ । पोखरीको एउटा कुनामा डुबुल्की मारेर अर्को कुनाबाट निस्कँदा चुच्चोले माछा च्यापेर निस्कन्छ । यो जातको हाँस पोखरीभित्र झन्डै १० मिनेटसम्म बस्न सक्छ ।

कात्तिकदेखि फागुनको पहिलो सातासम्म साइबेरियन हाँसहरू यहाँ बस्ने गर्छन् । गर्मी सुरु भएपछि फेरि फर्कन्छन् । त्यस्तै पोखरी क्षेत्रमा सीसीटीभी जडान गरेकाले माछाको चोरी पनि नियन्त्रण भएको केन्द्रको दाबी छ ।

४७ हेक्टर जमिनमा फैलिएको उक्त केन्द्रको सानो ठूलो गरेर ४८ वटा माछापोखरी छन् । हेटौंडा बजारबाट ४ किलोमिटरको दूरीमा रहेको यस केन्द्रले विशेषगरी खाने माछाभन्दा माछाको भुरा उत्पादन गरेर बिक्री गर्ने गरेको छ । चिसो पानीमा उत्पादन गरेको माछाको भुरा स्वास्थ्य र बलियो हुने भएकाले यहाँ उत्पादन गरेको माछाको भुरा तराई क्षेत्रका माछापालक कृषकले मात्र होइन, भारतको विहारबाट माछाको भुरा किन्न आउँछन् । उक्त केन्द्रले गत आवमा ४ दिनदेखि २ महिनासम्मको ६ करोड ४१ लाख माछाको भुरा उत्पादन गरी बिक्री गरेको थियो । त्यसमध्ये २१ लाख माछाको भुरा विहारका माछापालक कृषकले किनेर लगेका थिए ।

खाने माछा ७ टन बिक्री गरेको कार्यक्रममा केन्द्र प्रमुख पछाईले जानकारी गराएका थिए । संघीय सरकारको मातहतमा रहेको यो मत्स्य केन्द्रको नाम पनि फेरिएको छ । अहिले यसको नाम प्राकृतिक जालशय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र रहेका छ । ०२४ मा स्थापना भएको उक्त केन्द्रको नाम त्यतिबेला व्यावसायिक मत्स्य विकास केन्द्र राखिएको थियो ।

Esewa Pasal

प्रकाशित : भाद्र २०, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गाँजाको ब्याड नष्ट गर्दै

गाँजा खेती गर्ने कृषकलाई गाउँपालिकाद्वारा कुनै सिफारिस,सेवा र सुविधा उपलब्ध नगराउने निर्णय
प्रताप विष्ट

हेटौंडा — यहाँको विकट राक्सिराङ गाउँपालिका—४ तर्सिकोटका एक कृषकले आफैंले गाँजाको ब्याड नष्ट गरेका छन् ।

मकैबारीभित्र उनले आधा रोपनीमा गाँजाको ब्याड राखेका थिए । गाँजाको बिरुवा पनि हलक्कै बढेको थियो । गाँजा खेती गर्ने कृषकलाई गाउँपालिकाले कुनै पनि सेवासुविधा र सिफारिस उपलब्ध नगराउने सूचना सार्वजनिक गरेपछि तर्सिकोटका सीताराम थोकरले गाँजाको ब्याड नष्ट गरेका हुन् ।

मकवानपुरका गाँजा प्रभावित राक्सिराङ र कैलाश गाउँपालिकाले गाँजा खेतीलाई गाउँपालिकाबाट पूर्णरूपमा विस्थापित गर्न गाँजा खेती गर्ने कृषकलाई गापाले
कुनै पनि सेवासुविधा र सिफारिस उपलब्ध नगराउने निर्णय गरेको छ ।

‘गाँजामुक्त गाउँपालिका बनाउने उद्देश्यले गाँजा खेती गर्ने कृषकलाई गापाले उपलब्ध गराउने सेवासुविधा र सिफारिस दिँदैनाैं,’ राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, ‘सेवासुविधा र सिफारिस नदिने भनेपछि केही, केहीले आफैंले गाँजाको ब्याड नष्ट गर्न थालेका छन् ।’

राक्सिराङ गाउँपालिकाले मात्र होइन, कैलाश गाउँपालिकाले गाँजा खेती गापाबाट पूर्णरूपमा विस्थापित गर्न गाउँ/गाउँमा मोटर बाटो पुर्‍याउने अभियान चलाएको छ । गाँजा खेती गर्ने कृषकलाई गाउँपालिकाले कुनै सिफारिस, सेवासुविधा उपलब्ध नगराउने निर्णय गरेको छ ।

उक्त गापाले गाँजाको ब्याड नष्ट गर्न गाउँपालिकाका जनप्रतिनिधिहरूलाई पनि परिचालन गरेको छ । ‘गाँजाको ब्याड देख्नेबित्तिक्कै प्रहरीको सहयोग लिएर नष्ट गर्ने नीति लिएका छौँ,’ गापा अध्यक्ष टंक मोक्तानले भने, ‘अहिलेसम्म गाँजाको ब्याड राखेको जानकारी पाएका छैनौँ ।’ मकवानपुरको पश्चिमी क्षेत्रका दुई गाउँपालिकामा गाँजाको ब्याड विगतको तुलनामा थोरै स्थानमा मात्र राखिएको छ ।

गाउँपालिकाको अत्यन्त दुर्गम स्थान र मकैबारीभित्र केही स्थानमा गाँजाको ब्याड लुकाएर राखिएको छ । विगतमा प्रहरीले नदेख्ने गरी गाँजाको ब्याड राख्ने गरिन्थ्यो भने अहिले गाउँका जनप्रतिनिधिहरूले समेत नदेख्ने गरी कुनाकाप्चामा अत्यन्त थोरै स्थानमा मात्रै ब्याड राखिएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरू गाउँबाट गाँजा खेती विस्थापित गर्न मनबाटै क्रियाशील भएपछि गाँजा खेती गर्ने कृषक हच्किएर गाँजाको ब्याड नराखेका हुन् ।

विगतमा गाँजा ऊर्वरा क्षेत्रको रूपमा ख्याति कमाएका कैलाश र राक्सिराङ गाउँपालिकाले गत वर्षदेखि गाउँपालिकाबाट गाँजा विस्थापित गर्ने अभियान चलाएको छन् । गाँजा खेतीलाई विस्थापित गर्ने उद्देश्यले आव ०७४/०७५ को बजेटमा कैलाश गाउँपालिकाले कृषि क्षेत्रको निम्ति २ करोड रुपैयाँ विनियोजित गरेको थियो ।

गाँजा खेतीको विकल्पका रूपमा तरकारी र च्याउ खेती र कृषि क्षेत्रलाई प्रोत्साहित गर्न उक्त रकम सदुपयोग गरिएको थियो । उत्पादित कृषिजन्य र तरकारी बजारसम्म ल्याउनका लागि सडक निर्माणको काम तीव्र गतिमा गरिरहेको छ । ‘यो वर्ष कैलाश गाउँपालिकाको कुनै पनि कुनामा गाँजाको ब्याड राखिएको छैन,’ कैलाश गाउँपालिका कृषि विकास संयोजक अमरकान्त झाले भने, ‘गाँजा खेती गर्ने अधिकांश कृषक अहिले तरकारी र च्याउ खेतीतर्फ लागेका छन् ।’

तीन सयभन्दा बढी पक्राउ
कैलाश र राक्सिराङ गाउँपालिकावासी गाँजा ओसारपसार वा भरियाका रूपमा ३ सयभन्दा बढी पक्राउ परेका छन् । उनीहरू मुलुकका विभिन्न कारागारमा छन् । मकवानपुरलाई गाँजामुक्त जिल्ला बनाउन प्रहरी प्रशासन र गैरसरकारी संस्था चार वर्षदेखि नै सक्रिय रहँदै आएका थिए ।

स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधिहरू पनि आफ्नो क्षेत्रबाट गाँजा खेती विस्थापित गर्न सक्रिय छन् । यहाँ उत्पादित भएको गाँजा भारत निकासी हुने गर्छ ।
मकवानपुरमा गाँजा खेती विस्थापित भए पनि धादिङमा उत्पादन भएको गाँजा कैलाश, राक्सिराङ र मनहरी गाउँपालिका हुँदै भारत निर्यात हुने गर्छ ।

प्रकाशित : भाद्र १९, २०७५ ०९:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT