रोकिएन हुन्डी कारोबार

वीरगन्जको रानीघाट, बिर्ता र घडीअर्वा क्षेत्रमा आइतबार छापा मारी अवैध कारोबार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो
भूषण यादव

वीरगन्ज — अवैध वित्तीय कारोबार (हुन्डी) सञ्चालन गरेको आरोपमा दुई भारतीयसहित ५ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको बिन्दवासनी गाउँपालिका ५ प्रसौनी निवासी पवनकुमार गुप्ता, वीरगन्ज महानगरपालिका जेलरोड निवासी अजय मानन्धर, बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ खजानी निवासी अजय जैसवाल, सीमावर्ती बिहारको मोतीहारी चम्पापुर निवास साबिर मियाँ र रक्सौल निवासी अशोक श्रीवास्तव छन् ।

उनीहरूबाट ५४ लाख ९६ हजार नगद चार थान मोबाइल, डायरी र अन्य कागजात बरामद भएको पर्सा प्रहरीका प्रवक्ता सत्यनारायण थापाले बताए । जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार पत्रकार सम्मेलन गरी हुन्डी कारोबारमा संलग्न रहेकालाई सार्वजनिक गरेको हो ।

Yamaha

वीरगन्जको रानीघाट, बिर्ता र घडीअर्वा क्षेत्रमा आइतबार छापा मारी अवैध कारोबार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुलचोक ललितपुर पठाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी गत असार २४ मा प्रहरीले वीरगन्ज महानगरपालिकाको रानीघाट निवासी महेश केशरीको घरमा छापामारी स्रोत नखुलेको १ करोड १५ लाख रुपैयाँ र विभिन्न कागजात बरामद भएको गरेको थियो ।

अवैध रूपमा वित्तीय कारोबार सञ्चालन भइरहेको सूचनाको आधारमा प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले राहुल केशरीलाई नियन्त्रणमा लिएको थियो । करिब साढे ६ महिनाअगाडि पनि पर्सा प्रहरीले वीरगन्ज महानगरपालिकाको घण्टाघरदेखि बसपार्कजाने लिंकरोडमा रहेको दक्षिणकाली अटो पार्टसमा छापा मारी करिब ५६ लाख रुपैयाँ नगदसहित आधा दर्जन बैंकका तीन दर्जन चेकबुक, मोबाइल र कागजात बरामद गरेको थियो ।

मोटर पार्टसको पसलबाट ठूलो परिमाणमा हुन्डी कारोबार हुँदै आएको सूचना आएपछि प्रहरी आफैं सादा पोसाकमा पैसा पठाउन (पैसा हुन्डी गर्न) का लागि गएको थियो । प्रमाणसहित हुन्डी कारोबारीलाई नियन्त्रणमा लिने उद्देश्यले एक सादा पोसाकका प्रहरीलाई २ लाख रुपैयाँ दिएर उक्त अटो पार्टसको पसलमा पठाइएको थियो । त्यहाँ बसेका एक करोबारीले पैसा हुन्डी गरेबापत १ लाखको ५ हजार रुपैयाँ कमिसन लाग्ने बताएका थिए ।

अवैध कारोबारको प्रमाण जुटेपछि प्रहरीले पसल सञ्चालकसहित ४ जनालाई नियन्त्रण लिएको थियो । करिब साढे २ वर्षअगाडि पनि प्रहरीले वीरगन्जको रेसम कोठीबाट १ करोड ३२ लाख ७८ हजार रुपैयाँसहित हुन्डी कारोबारीलाई नियन्त्रणमा लिएको थियो । पछिल्लो १० महिनामा वीरगन्जबाट १२ जना हुन्डी कारोबारी पक्राउ परिसकेका छन् ।

फस्टाउँदै हुन्डी
मुलुकको प्रमुख व्यापारिक तथा आर्थिक नगर वीरगन्जमा विगत लामो समयदेखि हुन्डी कारोबार फस्टाएको हो । व्यवसायीका अनुसार मुलुकको प्रमुख भन्सार नाकासमेत भएको यहाँ आयातित वस्तुको न्यून मूल्यांकन गरी प्रतीतपत्रमार्फत थोरै रकम पठाउने र ठूलो रकम हुन्डीबाट पठाउने प्रचलन बढी छ ।

ती व्यवसायीले भने, ‘न्यून बीजकीकरण गरी सामान आयात गर्ने व्यवसायीले भन्सारमा घोषणा गर्ने रकम बराबरको प्रतीतपत्र (एलसी) खोलेर बाँकी रकम हुन्डीमार्फत पठाउँछन् ।’ भारतबाट नेपालमा निकासी गर्न रोक लगाइएका खाद्यान्न, मलको पैठारीकर्ताले पनि भुक्तानीका लागि हुन्डीमार्फत रकम पठाउँछन् । अनधिकृत व्यक्तिले पैसाको गैरकानुनी स्थानान्तरण गर्ने व्यापारीलाई थाहा भए पनि विश्वासिलो र सुविधायुक्त भएको तर्क दिने गरेका छन् ।

हप्तामा दुईपटक हुन्डीमार्फत ठूलो रकम दिल्ली पठाउने एक कपडा व्यवसायीले पैसा बुझाएको २ देखि ४ घण्टाभित्रै भनेको ठाउँमा पैसा बिनाझन्झट पुग्ने गरेको बताउँछन् । दुई देशबीच हुन्डीमार्फत समानान्तर बैंककै हाराहारीमा कारोबार भइरहेको छ । सुन, कपडा, खाद्यान्न, मोटर पार्टस, हार्डवेयरका व्यवसायीले पनि हुन्डीमार्फत पैसा पठाउने गरेका छन् ।

बिनाझन्झट र कम समयमा भनेको ठाउँमा पैसा पाइने हुनाले व्यापारीको हुन्डीमा आकर्षण बढेको व्यवसायीको दाबी छ । ‘मुख्य कारोबारीले पैसा पठाउने (ग्राहक) लाई भारतीय १० रुपैयाँ नोटको नम्बर र पैसा दिने व्यक्तिको सम्पर्क नम्बर दिन्छन्,’ एक कारेबारीले भने, ‘ग्राहकले सोही नम्बरमा फोन गरेर नोटको नम्बर भनेपछि उताबाट म्यासेज आएको जवाफ आउँछ । निर्धारित समय र ठाउँमा बोलाएर नोटको नम्बर हेरी रकमको भुक्तानी हुन्छ ।’ नोटमा भएको नम्बरले चेकको काम गर्छ । ‘नोटको स्थानान्तरणले रकम स्थानान्तरण भएको पुष्टि गर्छ,’ ती कारोबारीले सुनाए ।

Esewa Pasal

प्रकाशित : भाद्र २०, २०७५ ०८:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जालीले जोगियो ४ टन माछा

प्रताप विष्ट

हेटौंडा — यहाँस्थित मत्स्य विकास केन्द्रले जाडोमा साइबेरियन हाँसबाट माछा जोगाउन पोखरीमा जाली टाँगेर चार टन माछा जोगाएको छ ।

अघिल्ला वर्षहरूमा पोखरीमा जाली नटाँग्दा चार टन अर्थात् ८ लाख मूल्य बराबरको माछा साइबेरियन हाँसले खाने गरेको थियो । ‘गत वर्ष जाडोमा जाली टाँगेपछि माछा खानलाई विगतको जसरी नै हाँसहरू आए तर पोखरीको माछा खान सकेन,’ केन्द्रका प्रमुख सानाकोजी पछाईले भने, ‘साइबेरियन हाँसले बर्सेनि ८ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको माछा खाने गथ्र्यो ।’ केन्द्रले सोमबार ०७४/७५ को समीक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रम उक्त जानकारी दिएको हो ।

जाडोको समयमा साइबेरियाबाट आउने हाँसले पिप्लेस्थित मत्स्य विकास केन्द्रमा पालिएका माछा खाएर ठूलो क्षति पुर्‍याउने भएकाले माछाको सुरक्षार्थ पोखरीमा नाइनलको जाली टाँगेको थियो । पालेले ढयांग्रो ठोकेर कराउँदा पनि दर्जनभन्दा बढी हाँस पोखरीमा एकैचोटि डुबुल्की मारेर माछाको सिकार गर्ने गरेका थिए ।

जाडो महिनामा आउने हाँसले २ सय ग्रामसम्मको माछा पोखरीबाट झिकेर निल्ने गर्छ । पोखरीको एउटा कुनामा डुबुल्की मारेर अर्को कुनाबाट निस्कँदा चुच्चोले माछा च्यापेर निस्कन्छ । यो जातको हाँस पोखरीभित्र झन्डै १० मिनेटसम्म बस्न सक्छ ।

कात्तिकदेखि फागुनको पहिलो सातासम्म साइबेरियन हाँसहरू यहाँ बस्ने गर्छन् । गर्मी सुरु भएपछि फेरि फर्कन्छन् । त्यस्तै पोखरी क्षेत्रमा सीसीटीभी जडान गरेकाले माछाको चोरी पनि नियन्त्रण भएको केन्द्रको दाबी छ ।

४७ हेक्टर जमिनमा फैलिएको उक्त केन्द्रको सानो ठूलो गरेर ४८ वटा माछापोखरी छन् । हेटौंडा बजारबाट ४ किलोमिटरको दूरीमा रहेको यस केन्द्रले विशेषगरी खाने माछाभन्दा माछाको भुरा उत्पादन गरेर बिक्री गर्ने गरेको छ । चिसो पानीमा उत्पादन गरेको माछाको भुरा स्वास्थ्य र बलियो हुने भएकाले यहाँ उत्पादन गरेको माछाको भुरा तराई क्षेत्रका माछापालक कृषकले मात्र होइन, भारतको विहारबाट माछाको भुरा किन्न आउँछन् । उक्त केन्द्रले गत आवमा ४ दिनदेखि २ महिनासम्मको ६ करोड ४१ लाख माछाको भुरा उत्पादन गरी बिक्री गरेको थियो । त्यसमध्ये २१ लाख माछाको भुरा विहारका माछापालक कृषकले किनेर लगेका थिए ।

खाने माछा ७ टन बिक्री गरेको कार्यक्रममा केन्द्र प्रमुख पछाईले जानकारी गराएका थिए । संघीय सरकारको मातहतमा रहेको यो मत्स्य केन्द्रको नाम पनि फेरिएको छ । अहिले यसको नाम प्राकृतिक जालशय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र रहेका छ । ०२४ मा स्थापना भएको उक्त केन्द्रको नाम त्यतिबेला व्यावसायिक मत्स्य विकास केन्द्र राखिएको थियो ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT