१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चीन हुँदै तेस्रो मुलुक व्यापार सम्भव बन्दै

सबै बन्दरगाहमा पहुँच दिन चीन सकारात्मक
नेपाल–चीन पारवहन यातायात सम्झौतालाई अन्तिम रूप दिन बैठक जारी

काठमाडौँ — नेपालले चीनको बन्दरगाह प्रयोग गरी तेस्रो देशसँग व्यापार गर्न सक्ने सम्भावना नजिकिएको छ । चिनियाँ बन्दरगाह प्रयोगका लागि नेपाल र चीनबीच सहमति जुटे चीन हुँदै तेस्रो मुलुकसँग व्यापारको बाटो खुला हुनेछ ।

चीन हुँदै तेस्रो मुलुक व्यापार सम्भव बन्दै

यसले तेस्रो मुलुकसँगको व्यापारमा भारतीय बन्दरगाह प्रयोग गर्नैपर्ने नेपालको निर्भरतासमेत कम हुनेछ ।

नेपालले चिनियाँ बन्दरगाह प्रयोग गर्न पाउने विषयमा नेपाल र चीनका पदाधिकारीबीच काठमाडौंमा बुधबारदेखि बैठक सुरु भएको छ । बैठकले नेपाली पक्षले चीनको विभिन्न समुद्री तथा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने र सामान ढुवानीका लागि कुन रुट प्रयोग गर्न पाउने विषयमा सहमति जुटाउने अपेक्षा छ ।

बैठकले नेपाल र चीनबीच दुई वर्षअघि भएको पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रूप दिने विश्वास गरिएको छ । बैठकमा सहभागी नेपाली अधिकारीका अनुसार बैठकले यसलाई अन्तिम रूप दिनेछ । ‘सम्भवत: यही बैठकमा प्रोटोकल हस्ताक्षर हुन्छ,’ बैठकमा सहभागी वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालले भने, ‘हस्ताक्षर भएन भने पनि प्रोटोकलमा धेरै बुँदामा सहमति जुट्ने अपेक्षा गरिएको छ ।’

उनका अनुसार नेपालले तेस्रो मुलुकसँग व्यापारका लागि सहज हुने समुद्री र सुक्खा बन्दरगाह पहिचान गरी ती बन्दरगाह प्रयोगका लागि दिन चिनियाँ पक्षसँग प्रस्ताव राखेको छ । ‘चिनियाँहरू आफ्ना देशका सबै बन्दरगाह प्रयोग गर्न दिने विषयमा समेत सकारात्मक छन्,’ बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘बन्दरगाह र यातायात रुट दुवै विषयमा छलफल जारी छ ।’

चिनियाँहरू आफ्नो बन्दरगाह र सामान ढुवानीका लागि रुट प्रयोगका लागि दिन सकारात्मक बनेको उनले बताए । ‘बन्दरगाहसम्म नेपालको सीमासम्म कुन रुट हुँदै सामान ढुवानी गर्ने ?’ उनले भने, ‘हामीले केही सहज रुटहरू पहिचान गरेका छौं ।’

चिनियाँ पक्षले आफ्ना सबै रुट प्रयोगका लागि दिने भने पनि उनीहरूको नेपालबाट केही अपेक्षा रहेको बताए । ‘हामी सबै रुट र बन्दरगाह प्रयोगका लागि दिन्छौं भनेका छन्,’ ढकालले भने, ‘हामीले उनीहरूलाई के सुविधा दिन सक्छौं भन्ने उनीहरूले सोधेका छन् ।’

योबाहेक सामान ढुवानी गर्दा हुने सुरक्षा चासोका विषयमा पनि चिनियाँ पक्ष संवेदनशील रहेको ढकालले बताए । बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै ढकालले प्रोटोकलले नेपाल र चीनबीच २०१६ मा भएको पारवहन तथा यातायात सम्झौतालाई परिभाषित र कार्यान्वयन गर्ने बताए ।

चिनियाँ बन्दरगाह र ढुवानी रुटको प्रयोग अनुमतिसँगै तेस्रो मुलुकसँग व्यापारका लागि नेपालको भारतीय भूमिको निर्भरता घट्नेछ । चिनियाँ बन्दरगाह प्रयोगपछि जापान, कोरियाजस्ता देशमा हुने व्यापार सस्तो पर्ने नेपाली पक्षको विश्वास छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सन् २०१६ मा चीन भ्रमणमा रहँदा नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौता भएको थियो । उक्त सम्झौता कार्यान्वयनका लागि दुवै देशका सहसचिवस्तरीय टोली छलफलमा सहभागी भएका हुन् ।

प्रोटोकलको विषयमा छलफल गर्न नेपाल र चीनका पदाधिकारीबीच यो तेस्रो बैठक हो । यसअघि ५ देखि १० असारमा चीनमा यही विषयमा छलफल भएको थियो ।

बैठकमा सहभागी हुन ८ सदस्यीय चिनियाँ टोली नेपाल आएका थिए । नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले गरेका छन् । टोलीमा अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानुन मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागी छन् ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?