सन्तानेश्वरमा मोनोरेल

प्रशान्त माली

ललितपुर — गोदावरी नगरपालिका झरुवारासीमा प्रस्तावित सन्तानेश्वर मोनोरेल रेल विभागबाट स्वीकृत भएको छ ।

सन्तानेश्वरमा मोनोरेल

सन्तानेश्वर महादेव कैलाश पर्वत संरक्षण तथा संवद्र्धन सेवा संघले मन्दिर रहेको थुम्कोको फेदीदेखि झन्डै दुई किलोमिटर मोनोरेल सञ्चालनमा ल्याउन तीन महिनाअघि विभागमा निवेदन दिएको थियो ।

मोनोरोल परियोजनाको ४ वर्षअघिदेखि प्रारम्भिक वातावरणीय परीक्षण (आईई) भइरहेको छ । यसअघि रेल सञ्चालन गर्न पुरातत्त्व विभाग, वन र पर्यटन मन्त्रालयबाट स्वीकृति दिइसकेको छ । ‘आईई स्वीकृत भएको डेढ/दुई वर्षभित्रमा मुलुककै पहिलो रेल सञ्चालन गर्ने योजना छ,’ संघका अध्यक्ष इन्जिनियर विनोद खड्का भन्छन् ।

गोदावरी नगरपालिका १३ मा बन्न लागेको मनोरेल डिजाइन डेलिम मोनोरेल कम्पनीले गरेको हो । कम्पनीको प्रतिवेदनअनुसार १ हजार ८ सय मिटर दूरीमा मोनोरेल गुडाउन २५ करोड रुपैयाँ खर्च लाग्नेछ । रेलको स्टेसन थुम्काको उत्तरपश्चिम फेदमा रहनेछ ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा बन्न लागेको रेल सञ्चालनमा ल्याउन कम्पनी स्थापना गरी ५१ प्रतिशत र बाँकी ४९ सर्वसाधारणले सेयर हाल्ने कुरा अगाडि बढेको संघले बताएको छ ।

रेल चालक वा सेन्सर दुवैबाट सञ्चालन गर्न सकिनेछ । कोरियाली टेक्नोलोजीको रेल ब्याट्रीबाट चल्ने रिपोर्टमा उल्लेख छ । ‘अब चाँडै नै वनको सीमांकन गर्ने तयारीमा छौं,’ खडकाले भने, ‘मन्दिरको फेदको बाटो व्यवस्थित भएपछि मृगस्थली बनाउने योजना छ ।’

रेलमा एकपटकमा ४० जनासम्मले यात्रा गर्न सक्नेछन् । ५ वटा डब्बा रहने रेलको एउटा डब्बामा ८ जना अट्नेछन् । मागअनुसार डिब्बा थप्न सकिने प्रतिवेदनमा उल्लेख छ । उपत्यकाबाट नजिकको धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्ने संघको दाबी छ । रिपोर्टअनुसार ५ वर्षभित्रमा लगानी उठ्नेछ । एक सयजनाले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी पाउनेछन् ।

स्थानीयबासी मिलेर २०६८ मा बनाएको पञ्चवर्षीय योजना पनि तीव्र गतिमा अगाडि बढेको छ । यहाँ महादेवको मूल मन्दिर, अष्टमातृका, स्वस्थानी मन्दिर निर्माण सम्पन्न भइसकेको छ । चराको बासस्थान, मौरीपालनका उद्यान, ध्यान केन्द्र, संगीत पाठशाला, वनभोज, प्रवचन र भजनमण्डल स्थल बनाउने तयारी छ ।

स्थानीयबासीले गुरुयोजनाअनुसार महायज्ञ लगाएका थिए । यसबाट उठेको ३२ लाख र अन्य ठाउँबाट सहयोग जुटाएर मूल मन्दिर बनाएका हुन् । मन्दिरबाट उठेको भेटी मन्दिर संरक्षण प्रवद्र्धनमा उपयोग गर्दै आएको संघको भनाइ छ ।

स्थानीयबासी पुन: विराट ज्ञान महायज्ञ लगाउने तयारीमा छन् । ‘मन्दिरमा ५ वटा गजुरमा सुनको जलप लगाउन बाँकी छ,’ संघका कोषाध्यक्ष दयाराम अधिकारीले भने, ‘गुरुयोजना सफल बनाउन मोनोरेलबाहेक २५ करोड रुपैयाँ आवश्यक छ ।’ उनका अनुसार मन्दिरको नाममा २७ रोपनी जग्गा पूजाआजा चलाउन राखिएको छ ।

मन्दिर लगनखेलबाट ७ किमि दक्षिणपूर्वमा पर्छ । यहाँ तीन प्राकृतिक थुम्कामध्ये पूर्वतर्फको कैलाश पर्वतको शिखरमा पुग्न फेदबाट ३ सय ६६ वटा सिँढी हुँदै एक सय मिटर उकालो चढ्नुपर्छ । मन्दिर परिसरबाट उपत्यकाका तीनै जिल्ला अवलोकन गर्न सकिन्छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?