३१ भदौदेखि जनकपुर–पटना बस सेवा

जनकपुर– — प्रदेश २ को राजधानी जनकपुर तथा भारत विहार प्रदेशको राजधानी पटनासम्म चल्ने बहुप्रतीक्षित बस सेवा भदौ ३१ गतेदेखि विधिवत् सुरु हुने भएको छ । यात्रीहरूका लागि अग्रिम टिकट बुकिङसमेत सुरु भइसकेको छ ।

३१ भदौदेखि जनकपुर–पटना बस सेवा

जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोजकुमार चौधरीका अनुसार दुई देशीय बस सेवा व्यवस्थापनका लागि बस स्टयान्डमा सुविधा सम्पन्न कार्यालय सञ्चालन गरिएको छ । यहाँबाट टिकट बुकिङ सुरु भइसकेको छ । यात्रीले शुक्रबारदेखि विधिवत् टिकट काट्न सक्नेछन् ।

घोषित कार्यक्रम अनुसार भदौ २८ गते विहारका मुख्यमन्त्री नितीश कुमार पटना–जनकपुरधाम बस सेवालाई हरियो झन्डा देखाई प्रारम्भ गर्नेछन् भने भदौ ३१ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत जनकपुरधाम–पटना बस सेवाको शुभारम्भ गर्नेछन् ।

नेपालका स्वयम्भू–मञ्जश्री यातायातका चार थान बसबाट दुई देशीय बस सेवा प्रारम्भ हुने तथा पछि यात्रीको मागअनुसार बसको संख्यामा वृद्धि गर्दै लाने अध्यक्ष चौधरीले जानकारी दिए । चौधरीका अनुसार पटनाबाट बिहार परिवहन निगमका बस सञ्चालन हुनेछन् ।

करिब २ सय २५ किलोमिटर दूरीको बसको भाडा हालसम्म निर्धारण भइनसकेको उनले बताए । ‘आजभोलि नै बैठक बसेर भाडा तथा अन्य सेवा सुविधाबारे निर्णय गर्छौं,’ अध्यक्ष चौधरीले कान्तिपुरसँग भने । हाललाई बिहान र बेलुका एक/एक बस सेवा सञ्चालन गर्ने तयारी छ । बस पूर्णत: वातानुकलित हुने अध्यक्ष चौधरीले जानकारी दिए ।

सन् २०१४ मा नेपाल–भारतबीच सम्पन्न पारवहन सम्झौताअनुसार दुवै देशका धार्मिक, पर्यटकीय सहरबीच बस सेवा सञ्चालन गर्ने सहमति भएको थियो । सहमतिअनुसार काठमाडौं–दिल्ली तथा काठमाडौं–वीरगन्ज–बोधगया बस सेवा सञ्चालन भए पनि जनकपुरधाम–पटना बस सेवा भने सञ्चालन हुन सकेको थिएन ।

बर्सेनि हजारौं नेपाली स्वास्थ्य उपचार, अध्ययन, व्यवसाय तथा धार्मिक–सांस्कृतिक पर्यटनका लागि भारतका विभिन्न सहर जान्छन् । बिहार प्रदेशको राजधानी पटना रेल, बस तथा हवाईमार्गबाट समेत जोडिएकाले जनकपुर–पटनाको बस सेवा यात्रुहरूका लागि लाभदायक हुने विश्वास स्थानीयबासीको छ ।

यसअघि पटना पुग्न जनकपुरबाट नेपाली नाका भिठामोरसम्म तथा भिठामोरबाट भारतको सीतामढी–मुजफ्फरपुर हुँदै पटना पुग्नुपथ्र्यो । पटकपटक बस, रिक्सा, टेम्पो आदि परिवर्तन गर्न यात्रीहरूलाई असुविधा हुने गरेको थियो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सास्तीसमेत बेहोर्नुपरेको थियो । तर, सीधा बस सेवा सञ्चालन हुँदा जनकपुरबाट सरसामानसहित सीधा पटना पुग्न सकिने स्थानीयको कथन छ ।

‘डाइरेक्ट (सीधा) बस सेवा सञ्चालन हुँदा सस्तो पर्नुको साथै समय पनि बचत हुन्छ । सुरक्षित पनि हुन्छ ।’ स्थानीय रामस्वार्थ यादवले भने ।

जनकपुरधाम–अयोध्या बस सेवा अझै अन्योल प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख १८ गते जानकी मन्दिर प्रांणमा हरियो झन्डा देखाएर प्रारम्भ गरेको जनकपुरधाम–अयोध्या बस सेवा भने अझै पनि नियमित सञ्चालन हुन सकेको छैन ।

प्रकाशित : भाद्र २२, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?