१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जुम्लाको स्याउ ६ दिनमा आइपुग्यो

गत वर्ष जुम्लाबाट १७ करोडको स्याउ बाहिरिएको थियो
विमल खतिवडा

काठमाडौँ — जुम्ला, मनाङ, मुस्ताङलगायत जिल्लाका किसानलाई अहिले स्याउ टिपेर बेच्न भ्याई नभ्याई छ । चाडबाडलाई लक्ष्य गर्दै किसानहरू स्याउ टिपेर बिक्री गर्न व्यस्त छन् । त्यसो त जुम्लामा फलेको स्याउको स्वाद राजधानीबासीले पनि लिने अवसर छुटाएका छैनन् ।

जुम्लाको स्याउ ६ दिनमा आइपुग्यो

स्वाद चखाउने काम जुम्लाकै युवा दिनेश खडकाले गरेका छन् । उनले ६ दिन लगाएर ट्रकमा स्याउ ल्याएका हुन् ।

‘मंगलबार स्याउ आइपुग्यो,’ उनले भने, ‘बुधबारबाट यसको बिक्री थालेका हौं ।’ अहिले नयाँ बानेश्वरस्थित मीनभवन नजिक ब्यानर टाँगेर स्याउ बिक्री स्टल राखेका छन् ।

स्याउ सुपर जोन जुम्लाका वरिष्ठ कृषि अधिकृत टीकाराम शर्माका अनुसार जुम्लामा स्याउ टिप्न सुरु भइसकेको छ । जिल्लामा ३ हजार ३ सय हेक्टरमा स्याउ फल फलेको छ । गत वर्ष १७ करोडको स्याउ बाहिरिएको थियो । बिहीबारसम्म जुम्लाबाट ६७ गाडी स्याउ अन्यत्र पठाइएको छ । बढी मात्रामा नेपालगन्ज र कोहलपुर जान्छ । ‘भदौ ७ गतेबाट टिप्न सुरु भयो, १० गतेबाट बजारमा पठाइयो,’ शर्माले भने, ‘पोहोरको तुलनामा यो वर्ष दाना ठूलो छ ।’ स्याउको गुणस्तर राम्रो छ । ग्रेडिङ मिलाएर बिक्रीका लागि पठाउने गरिएको छ ।

बगैंचामा ५५ रुपैयाँ केजीमा स्याउ बिक्री भएको छ । अन्य जिल्लामा पुग्दा ढुवानी भाडाले गर्दा स्याउ महँगो हुने गरेको छ । गत वर्ष ५० रुपैयाँ किलोमा बिक्री भएको थियो । किसानको संख्या सुपर जोन एरियाभित्र ४ हजार १ सय छ । ‘जिल्लामा कुल जनसंख्याको ९० प्रतिशतले स्याउ लगाएका छन्,’ उनले भने, ‘असोजसम्म टिप्ने गरिन्छ, स्याउको बजारीकरणका लागि कार्यालयले सहजीकरण गरेको छ ।’ उनका अनुसार रेड, रोयल र गोल्डेन डेलिसियस जातको स्याउ लगाइएको छ ।

नेपालमा १२ हजार हेक्टर क्षेत्रफलमा स्याउ लगाइएको छ । वार्षिक २० हजार टन स्याउ उत्पादन हुन्छ । जुम्ला, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, कालिकोट, हुम्ला र रुकुममा यसको व्यावसायिक खेती हुने गरेको छ ।

‘स्याउ बगैंचादेखि काठमाडौं ल्याउन ६ दिन लाग्यो,’ उनले भने, ‘३० हजार केजी स्याउ भित्रिसकेको छ, बिक्री राम्रो भइरहेको छ ।’ बजार माग राम्रो छ । उनले किलोको १ सय ५० रुपैयाँमा बिक्री गरिरहेका छन् ।

त्यस्तै विराटनगर, भैरहवा, बुटवल, हेटौंडा, टीकापुर, नेपालगन्जका व्यापारीलाई समेत बिक्री गर्दै आएका छन् । ‘यो ठाउँका व्यापारीलाई किलोको १ सय ३५ देखि १ सय ४० रुपैयाँमा बिक्री गर्ने गरेको छु,’ उनले भने, ‘बिक्रेतालाई उपभोक्तालाई १ सय ७५ रुपैयाँ प्रतिकिलोभन्दा बढीमा नबेच्न सल्लाह दिएको छु ।’ गत वर्ष २५ हजार केजी बिक्री गरेका थिए । यो वर्ष माग धेरै आएको उनले सुनाए । फेसबुक पेज बनाएर स्याउको प्रचारप्रसार गरेका छन् । पेजबाट अर्डर संकलन गर्छन् । पेजको नाम ‘एप्पल गार्डेन इन जुम्ला’ राखिएको छ । उनी अहिले नेपाल कमर्स क्याम्पस मीनभवनमा बीबीएस चौथो वर्षमा अध्ययनरत छन् ।

‘किसानले उत्पादन गरेको स्याउ बोटमै कुहिने समस्या छ,’ उनले भने, ‘जसले गर्दा किसानको लागत खेर जाने गरेको छ, त्यही भएर उनीहरूलाई सहयोग गर्ने उद्देश्यले काठमाडौंमा ल्याएर बिक्री सुरु गरेका हौं ।’ यस्तो अभियान चलाएको ६ वर्ष भयो । स्याउसँगै काली मार्सी धान ३ सय क्विन्टल, २ सय केजी सिमी, १ हजार ५ सय केजी ओखर ल्याएको उनले सुनाए ।

‘जुम्लामा राम्रो स्याउ फल्छ, ओखर, सिमी, मार्सी धान उत्पादन हुन्छ,’ उनले भने, ‘गाउँगाउँमा यातायात सुविधा नपुग्दा समस्या छ, त्यसैले हामी जस्तो पढेलेखेका युवाले अभियान चलाएर उत्पादन खेर जान दिनु भएन, यसको प्रवद्र्धनसँगै बजारीकरणमा पनि ध्यान दिन जरुरी छ ।’ उनले जस्तै अन्यले पनि अनलाइन अर्डर लिएर जुम्ला, मुस्ताङलगायत ठाउँबाट स्याउ मगाएर बिक्री गर्ने गरेका छन् ।

खडकाका अनुसार स्याउ मगाएर बालाजु औद्योगिक क्षेत्रमा राख्ने गरिएको छ । त्यहाँ स्याउ राखेको प्रतिकिलो २ रुपैयाँ तिर्नुपर्छ । ‘जुम्लाको स्याउ अर्गानिक छ, रसिलो छ,’ स्याउ किन्दै गर्दा भेटिएका दिनेश शर्माले भने, ‘यसमा मैन लगाएर चम्किलो बनाइएको हुँदैन ।’

प्रकाशित : भाद्र २२, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?