१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

चलनमा ४ खर्ब ७० अर्ब रुपैयाँ

राष्ट्र बैंकबाट बाहिरिएपछि नफर्केसम्म मुद्रा चलनचल्तीमै रहेको मानिन्छ
यज्ञ बञ्जाडे

काठमाडौँ — थोरै धेरै भए पनि तपाई हामी सबैको गोजीमा पैसा हुन्छ । अब अनुमान गर्नुहोस् । सबै नेपालीसँग कति पैसा होला ? उत्तर हामीले भन्नु पर्दैन । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आइतबारसम्म ४ खर्ब ७० अर्ब रुपैयाँ बराबरका मुद्रा चलनमा छ ।

चलनमा ४ खर्ब ७० अर्ब रुपैयाँ

यसको अर्थ राष्ट्र बैंकले ४ खर्ब ७० अर्ब रुपैयाँ बराबरको नेपाली मुद्रा बजारमा पठाएको छ भन्ने हो । उक्त पैसा विभिन्न माध्यममार्फत राष्ट्र बैंकमा फर्किन्छ । यसरी राष्ट्र बैंकबाट बाहिरिएको तर बैंकमा नफर्किएको पैसालाई चलनचल्तीमा रहेको मानिन्छ ।

आफ्नो आवश्यकता पूर्ति गर्नका लागि उक्त पैसा नागरिकले आफूसँग राख्ने भएकाले यसलाई चलनमा रहेको भनिएको हो ।

राष्ट्र बैंक पैसा छाप्ने र आपूर्ति गर्ने एक मात्र आधिकारिक निकाय हो । यसले मुलुकको आवश्यकता र औचित्यका आधारमा पैसा छपाई गरी बजारमा पठाउने काम गर्छ । यही प्रक्रियाअनुसार गत आइतबारसम्म ४ सय ७० अर्ब ५४ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चलनचल्तीमा रहेको मुद्रा प्राय: घटबढ भइरहन्छ । उदाहरणका लागि गत असार अन्तिम साता ४ खर्ब ९४ करोड ३७ करोड रुपैयाँ चलनचल्तीमा थियो । यही भदौ दोस्रो सातासम्म आइपुग्दा यो ४ खर्ब ७० अर्ब रुपैयाँमा झरेको छ । गत असारमा विभिन्न दरका गरी २ अर्ब २३ करोड २७ लाख ९ हजार १८ थान नोट चलनचल्तीमा थिए ।

आवश्यकताअनुसार केन्द्रीय बैंकले बजारमा पैसा (नोट) आपूर्ति गर्ने काम गर्छ । यसकारण बजारमा पैसाको माग धेरै भएको समयमा धेरै र कम भएको समयमा कम मुद्रा चलनचल्तीमा रहन्छ । बजारको मागअनुसार निर्देशन मापदण्डभित्र रहेर राष्ट्र बैंकले विभिन्न माध्यममार्फत बजारमा पैसा पठाउँछ ।

राष्ट्र बैंकबाट बाहिरिएपछि त्यो चलनचल्तीमा गएको भनेर गणना हुन्छ । यसरी चलनचल्तीमा रहेको मुद्रा निश्चित समयपछि बैंक तथा वित्तीय संस्थाहरूमार्फत राष्ट्र बैंकमा फर्किन्छ । जतिपैसा राष्ट्र बैंकमा आइपुग्छ । त्यति मुद्रा चलनचल्तीबाट घटाइन्छ । यसकारण समय समयमा चलनचल्तीमा रहेको मुद्रा प्राय: घटबढ भइरहन्छ ।

राष्ट्र बैंकबाट बाहिरिएका नोटहरूमध्ये केही नोट विभिन्न कारण (मानिसको बदमासी, बाढी, पहिरो, आगलागी आदि) ले नष्ट भएको हुन सक्छ । तर, राष्ट्र बैंकको गणनामा ती नोट पनि चलनचल्तीमा रहेको मानिन्छ । यसकारण राष्ट्र बैंकले चलनचल्तीमा छ भनेको मध्ये सबै पैसा नागरिकको हातमा नहुन पनि सक्छ । यस्तो पैसा कति छ भन्ने तथ्यांक कसैसँग पनि छैन ।

हाल १, २, ५, १०, २०, २५, ५०, १ सय, २ सय ५० र १ हजार दरका नोटहरू चलनचल्तीमा छन् । तीमध्ये पछिल्लो समयमा राष्ट्र बैंकले १, २, २५ र २ सय ५० दरका नोट छाप्न छोडेको छ । अहिले राष्ट्र बैंकले ती दरका नोट छपाइ नगरे पनि यसअघि छापिएका नोटहरू सर्वसाधारणसँगै रहेकाले अझै चलनचल्तीमै रहेको भनी गणना गरिएको हो ।

गत असारसम्म चलनचल्तीमा रहेकामध्ये सबैभन्दा बढी ४८ करोड थान नोट ५ रुपैयाँका छन् । यसैगरी दस रुपैयाँका ३६ करोड ७३ लाख, एक हजारका ३५ करोड ६१ लाख, बीसका २२ करोड ६१ लख, पाँच सयका २० करोड २७ लाख, पचासका १७ करोड १० लाख, १ सयका १७ करोड २० लाख थान नोट रहेको राष्ट्र बैंकले जनाएको छ ।

हाल छपाइ गर्न छोडिए पनि रुपैयाँ एकका १६ करोड १० लाख, दुईका ९ करोड २७ लाख, पच्चीसका २२ लाख ९३ हजार र दुई सय पचासका ३ लाख ४९ हजार थान नोट चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

नोट छाप्दा राष्ट्र बैंकले पैसा तिर्नुपर्छ । सुरक्षाका हिसाबले पनि नोटहरू विदेशमा छापिन्छ । नोट छपाइ गर्दा राष्ट्र बैंकले अन्तर्राष्ट्रिय रूपमा सूचना (टेन्डर) आहवान गर्छ । प्राप्त टेन्डरका आधारमा सबैभन्दा कम मूल्यलाई पैसा छाप्न दिइन्छ । यसकारण कहिले कम र कहिले धेरै खर्च लाग्छ ।

पछिल्ला केही वर्षयता कम्पनीहरूबीच प्रतिस्पर्धा बढेकाले राष्ट्र बैंकले विगतमा भन्दा सस्तो मूल्यमा पैसा छपाइ गर्न पाएको छ । नोट छाप्नका लागि हरेक वर्ष राष्ट्र बैंकले ठूलो धनराशि खर्च गर्दै आएको छ ।

यही भदौ १ गतेदेखि लागू भएको व्यवस्थाअनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन । यसो गरेको भेटिएमा प्रहरीले सीधै प्रक्राउ गरी तीन महिनासम्म जेल हाल्न र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।

प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्ने छुट कानुनमा छ । ‘मुलुकी अपराध (संहिता) ऐन ०७४’ को परिच्छेद २२ मा यस्तो व्यवस्था छ ।

नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो व्यवस्था हो । यसअघि जाली नोट कसुरमा मात्र जेल चलानसम्म हुने व्यवस्था थियो । नोट फोहोर गर्दा राष्ट्र बैंकको निर्देशन नमानेको आरोपमा कारबाही हुन्थ्यो । तर, जेलमै जानुपर्ने अवस्था थिएन ।

यही ऐनको व्यवस्थामा टेकेर राष्ट्र बैंकले परिपत्र जारी गरी नेपाली नोटमा केरमेर नगर्न र नगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

प्रकाशित : भाद्र २२, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?