चलनमा ४ खर्ब ७० अर्ब रुपैयाँ

राष्ट्र बैंकबाट बाहिरिएपछि नफर्केसम्म मुद्रा चलनचल्तीमै रहेको मानिन्छ
यज्ञ बञ्जाडे

काठमाडौँ — थोरै धेरै भए पनि तपाई हामी सबैको गोजीमा पैसा हुन्छ । अब अनुमान गर्नुहोस् । सबै नेपालीसँग कति पैसा होला ? उत्तर हामीले भन्नु पर्दैन । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आइतबारसम्म ४ खर्ब ७० अर्ब रुपैयाँ बराबरका मुद्रा चलनमा छ ।

यसको अर्थ राष्ट्र बैंकले ४ खर्ब ७० अर्ब रुपैयाँ बराबरको नेपाली मुद्रा बजारमा पठाएको छ भन्ने हो । उक्त पैसा विभिन्न माध्यममार्फत राष्ट्र बैंकमा फर्किन्छ । यसरी राष्ट्र बैंकबाट बाहिरिएको तर बैंकमा नफर्किएको पैसालाई चलनचल्तीमा रहेको मानिन्छ ।

आफ्नो आवश्यकता पूर्ति गर्नका लागि उक्त पैसा नागरिकले आफूसँग राख्ने भएकाले यसलाई चलनमा रहेको भनिएको हो ।

Yamaha

राष्ट्र बैंक पैसा छाप्ने र आपूर्ति गर्ने एक मात्र आधिकारिक निकाय हो । यसले मुलुकको आवश्यकता र औचित्यका आधारमा पैसा छपाई गरी बजारमा पठाउने काम गर्छ । यही प्रक्रियाअनुसार गत आइतबारसम्म ४ सय ७० अर्ब ५४ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चलनचल्तीमा रहेको मुद्रा प्राय: घटबढ भइरहन्छ । उदाहरणका लागि गत असार अन्तिम साता ४ खर्ब ९४ करोड ३७ करोड रुपैयाँ चलनचल्तीमा थियो । यही भदौ दोस्रो सातासम्म आइपुग्दा यो ४ खर्ब ७० अर्ब रुपैयाँमा झरेको छ । गत असारमा विभिन्न दरका गरी २ अर्ब २३ करोड २७ लाख ९ हजार १८ थान नोट चलनचल्तीमा थिए ।

आवश्यकताअनुसार केन्द्रीय बैंकले बजारमा पैसा (नोट) आपूर्ति गर्ने काम गर्छ । यसकारण बजारमा पैसाको माग धेरै भएको समयमा धेरै र कम भएको समयमा कम मुद्रा चलनचल्तीमा रहन्छ । बजारको मागअनुसार निर्देशन मापदण्डभित्र रहेर राष्ट्र बैंकले विभिन्न माध्यममार्फत बजारमा पैसा पठाउँछ ।

राष्ट्र बैंकबाट बाहिरिएपछि त्यो चलनचल्तीमा गएको भनेर गणना हुन्छ । यसरी चलनचल्तीमा रहेको मुद्रा निश्चित समयपछि बैंक तथा वित्तीय संस्थाहरूमार्फत राष्ट्र बैंकमा फर्किन्छ । जतिपैसा राष्ट्र बैंकमा आइपुग्छ । त्यति मुद्रा चलनचल्तीबाट घटाइन्छ । यसकारण समय समयमा चलनचल्तीमा रहेको मुद्रा प्राय: घटबढ भइरहन्छ ।

राष्ट्र बैंकबाट बाहिरिएका नोटहरूमध्ये केही नोट विभिन्न कारण (मानिसको बदमासी, बाढी, पहिरो, आगलागी आदि) ले नष्ट भएको हुन सक्छ । तर, राष्ट्र बैंकको गणनामा ती नोट पनि चलनचल्तीमा रहेको मानिन्छ । यसकारण राष्ट्र बैंकले चलनचल्तीमा छ भनेको मध्ये सबै पैसा नागरिकको हातमा नहुन पनि सक्छ । यस्तो पैसा कति छ भन्ने तथ्यांक कसैसँग पनि छैन ।

हाल १, २, ५, १०, २०, २५, ५०, १ सय, २ सय ५० र १ हजार दरका नोटहरू चलनचल्तीमा छन् । तीमध्ये पछिल्लो समयमा राष्ट्र बैंकले १, २, २५ र २ सय ५० दरका नोट छाप्न छोडेको छ । अहिले राष्ट्र बैंकले ती दरका नोट छपाइ नगरे पनि यसअघि छापिएका नोटहरू सर्वसाधारणसँगै रहेकाले अझै चलनचल्तीमै रहेको भनी गणना गरिएको हो ।

गत असारसम्म चलनचल्तीमा रहेकामध्ये सबैभन्दा बढी ४८ करोड थान नोट ५ रुपैयाँका छन् । यसैगरी दस रुपैयाँका ३६ करोड ७३ लाख, एक हजारका ३५ करोड ६१ लाख, बीसका २२ करोड ६१ लख, पाँच सयका २० करोड २७ लाख, पचासका १७ करोड १० लाख, १ सयका १७ करोड २० लाख थान नोट रहेको राष्ट्र बैंकले जनाएको छ ।

हाल छपाइ गर्न छोडिए पनि रुपैयाँ एकका १६ करोड १० लाख, दुईका ९ करोड २७ लाख, पच्चीसका २२ लाख ९३ हजार र दुई सय पचासका ३ लाख ४९ हजार थान नोट चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

नोट छाप्दा राष्ट्र बैंकले पैसा तिर्नुपर्छ । सुरक्षाका हिसाबले पनि नोटहरू विदेशमा छापिन्छ । नोट छपाइ गर्दा राष्ट्र बैंकले अन्तर्राष्ट्रिय रूपमा सूचना (टेन्डर) आहवान गर्छ । प्राप्त टेन्डरका आधारमा सबैभन्दा कम मूल्यलाई पैसा छाप्न दिइन्छ । यसकारण कहिले कम र कहिले धेरै खर्च लाग्छ ।

पछिल्ला केही वर्षयता कम्पनीहरूबीच प्रतिस्पर्धा बढेकाले राष्ट्र बैंकले विगतमा भन्दा सस्तो मूल्यमा पैसा छपाइ गर्न पाएको छ । नोट छाप्नका लागि हरेक वर्ष राष्ट्र बैंकले ठूलो धनराशि खर्च गर्दै आएको छ ।

यही भदौ १ गतेदेखि लागू भएको व्यवस्थाअनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन । यसो गरेको भेटिएमा प्रहरीले सीधै प्रक्राउ गरी तीन महिनासम्म जेल हाल्न र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।

प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्ने छुट कानुनमा छ । ‘मुलुकी अपराध (संहिता) ऐन ०७४’ को परिच्छेद २२ मा यस्तो व्यवस्था छ ।

नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो व्यवस्था हो । यसअघि जाली नोट कसुरमा मात्र जेल चलानसम्म हुने व्यवस्था थियो । नोट फोहोर गर्दा राष्ट्र बैंकको निर्देशन नमानेको आरोपमा कारबाही हुन्थ्यो । तर, जेलमै जानुपर्ने अवस्था थिएन ।

यही ऐनको व्यवस्थामा टेकेर राष्ट्र बैंकले परिपत्र जारी गरी नेपाली नोटमा केरमेर नगर्न र नगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

प्रकाशित : भाद्र २२, २०७५ ०८:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

डलर १ सय १५ नाघ्यो

भारुको अवमूल्यन रोक्न सरकारी तहबाटै पहल गरिने
यज्ञ बञ्जाडे

काठमाडौँ — केही सातायता अमेरिकी डलर निरन्तर रूपमा उकालो लागेको छ । अमेरिकी अर्थतन्त्रमा देखिएको सुधारले विश्व बजारमै डलर झन् झन् बलियो बन्दै गएको हो ।

डलर बलियो बन्दै गएपछि नेपाली मुद्रा निरन्तर रूपमा कमजोर बनेको छ । यही क्रममा बिहीबार एक अमेरिकी डलरको विनिमय दर १ सय १५ रुपैयाँ ११ पैसा पुग्यो । यो हालसम्मकै कमजोर हो ।

सामान्यतया भारु कमजोर भएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि पर्छ । भारुसँग स्थिर विनिमय दर रहेकाले भारु बलियो बन्दा नेरु पनि बलियो र कमजोर हुँदा नेरु पनि कमजोर हुन्छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले पनि भारुको विनिमय दर घटबढ भएलगत्तै नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ ।

यो अवस्थालाई भारतीय अर्थतन्त्र नराम्रो भएकाले डलरको तुलनामा भारु कमजोर भएको र त्यसको असर नेरुमा परेको रूपमा मात्र लिन नहुने विज्ञ बताउँछन् । विश्व बजारमा धेरै राष्ट्रका मुद्राको विनिमयदरसँग अमेरिकी डलर बलियो देखिएको छ ।

डलर बलियो बनेपछि त्यसप्रति लगानीकर्ताको आकर्षण बढदो छ । यसले डलरमा लगानी बढेको छ । अहिले भारतीय अर्थतन्त्रले उच्च दरको आर्थिक वृद्धि हासिल नगरे पनि बिग्रिसकेको भने छैन । तर, अमेरिकी अर्थतन्त्रको तुलनामा भारतीय अर्थतन्त्र सुधारको गति कम भएकाले डलरको तुलनामा भारु कमजोर बनेको हो ।

करिब दुई वर्षअघि भारत सरकारले पाँच सय र हजार दरका नोट चलनचल्तीबाट हटाएदेखि नै विश्व बजारमा भारतीय मुद्राप्रतिको विश्वासमा कमी आउन थालेको हो । पछिल्ला वर्षहरूमा भारतमा आयात धेरैले बढेको, चालु खाता घाटा फराकिलो बन्दै गएको, प्रत्यक्ष विदेशी लगानी (एफडीआई) अपेक्षित रूपमा बढ्न नसकेको, केही ठूला विदेशी लगानी फिर्ता भएका समाचारहरू आइरहेका छन् । यद्यपि पछिल्लो एक सरकारी प्रतिवेदनले यो वर्ष आर्थिक वृद्धि राम्रो भएको संकेत दिएको जनाइएको छ ।

अमेरिकी अर्थतन्त्रमा सुधार
केही महिनायता अमेरिकी अर्थतन्त्रमा आएको सुधारलाई विज्ञहरूले ‘ट्रम्प इफेक्ट’ को संज्ञा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका पछिल्ला नीतिहरूले घरेलु अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै लगानीकर्ताहरूको मनोबल पनि बढेकाले अमेरिकी डलर विश्व बजारमै निरन्तर रूपमा बलियो बन्दै गएको हो ।

मुलुकमा लगानीमैत्री वातावरण निर्माण गरी लगानीकर्तालाई स्वदेशमै लगानी गर्न प्रोत्साहित गर्नु, विदेशबाट आयातित वस्तुको भन्सार बढाएर स्वदेशी वस्तु तथा सेवा प्रयोगमा जोड दिनु, बेरोजगारी दरमा उल्लेख्य सुधार आउनु आदि राष्ट्रपति ट्रम्पले चालेका पछिल्ला नीति हुन् । त्यहाँका प्रमुख सेयर बजारहरू नास्डाक, न्युयोर्क स्टक एक्सचेन्जलगायतमा धेरै सुधार आउनुले पनि अमेरिकी अर्थतन्त्र बलियो बनेको प्रमाणित हुने विज्ञहरूले जनाएका छन् ।

त्यहाँको केन्द्रीय बैंक फेडरलज रिर्जभ (फेड) को ब्याजदर बढाएपछि स्वदेशी लगानीकर्ताको मनोबल बढेको जनाइएको छ । स्वदेशमै राम्रो प्रतिफल पाइने भएपछि लगानीकर्ताहरू विदेशमा लगानी विस्तार गर्न निरुत्साहित भएको तथा केही लगानीकर्ताले अन्य राष्ट्रहरूबाट लगानी फिर्ता लिइरहेका छन् । यसकारण पनि डलर दिनहुँजसो बलियो बन्दै गएको जानकारहरू बताउँछन् ।

नेपाललाई लाभ
डलर बलियो बन्दा नेपाललाई हानि मात्र हुँदैन लाभ पनि हुन्छ । हालसको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिटयान्स आप्रवाहमा पर्छ । डलर बलियो हुदाँ एकातिर रेमिटयान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिटयान्स पठाउनेको संख्या ।

डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीहरू स्वदेशमा पैसा पठाउन उत्साहित हुने भएकाले ठूलो मात्रामा रेमिटयान्स आउँछ । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ । यसरी रेमिटयान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ ।

करिब दुई वर्षयताका अधिकांश महिना मुलुकको चालु खाता र शोधनान्तर अवस्था नोक्सानमा छ । यी सूचकमा सुधार ल्याउने प्रमुख उपाए भनेकै जसरी भए पनि धेरै विदेशी मुद्रा मुलुक भित्र्याउनु हो । अहिलेको अवस्थामा नेपालमा विदेशी मुद्रा भित्रिने प्रमुख माध्यम रेमिटयान्स र एफडीआई हो ।

सात महिनापछि गत असारमा मुलुकको भुक्तानी सन्तुलन करिब ९१ करोडले बचतमा रहनुले पनि यो पुष्टि हुन्छ । नेरुको तुलनामा डलरको विनिमय दर बढेसँगै गत असारमा रेमिटयान्स आप्रवाह र एफडीआईमा पनि सुधार देखियो । यही कारण असारमा भुक्तानी सन्तुलन करिब अर्ब रुपैयाँले बचतमा देखियो ।

नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्छ । यो अवस्थामा धेरैभन्दा धेरै विदेशी पर्यटकहरू भित्र्याउन र ठूलो मात्रामा निर्यात बढाउन सके डलर वृद्धिको ठूलो लाभ नेपालले लिन सक्ने छ ।

दुर्भाग्य नेपालका ती सबै क्षेत्र कमजोर छन् । यसकारण डलरको मूल्य बढदा पनि नेपालले ती क्षेत्रबाट अपेक्षित रूपमा बढी लाभ लिन सकिरहेको छैन ।

नोक्सान
विदेशी मुद्रा भित्र्याउने माध्यमहरू अपेक्षित रूपमा सुधार हुन नसक्दा यतिबेला मुलुकले ठूलो नोक्सान व्यहोरिरहेको छ । सबैभन्दा बढी नोक्सान वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा भइरहेको छ । केही वर्षयता आयात तीव्र गतिमा उकालो लागिरहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व निरन्तर रूपमा बढिरहेको छ ।

यसैगरी नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । विदेशबाट ऋण लिएको ऋणको साँवा ब्याज भुक्तानीका लागि पनि धेरै बढी रकम तिर्नुपर्ने हुन्छ । विदेशमा औषधि उपचार, अध्ययन, भ्रमणलगायतमा जानेहरूको लागत महँगो पर्छ । निरन्तर रूपमा नेरु कमजोर बन्दै जाँदा भुक्तानी दायित्व बढ्ने मात्र नभएर स्वदेशी मुद्राप्रतिको विश्वासमा पनि कमी आउँछ ।

हस्तक्षेपको संकेत
नेपालको आफ्नो कारणले भन्दा पनि भारुसँगको विनिमय दरको तुलनामा डलर बलियो भएकाले नेरु पनि कमजोर भएको हो । यसअघिको उच्च अवस्थाभन्दा अहिले डलरको भाउ धेरै माथि पुगिसेकाले अब भारत सरकारबाटै हस्तक्षप हुने सम्भावना बढेको छ ।

भारु धेरै कमजोर हुँदा राजनीतिक र आर्थिक रूपमा मुलुकलाई असर पर्ने भएकाले त्यहाँको सरकारले हस्तक्षेपकारी नीति अपनाउने विज्ञहरू बताउँछन् ।

यसअघि पूर्वगभर्नर रघुराम राजनले केन्द्रीय बैंकको नेतृत्व सम्हाल्नुअघि पनि डलरको तुलनामा भारु धेरै कमजोर भएको थियो । रघुराम राजनले केन्द्रीय बैंकको नेतृत्व सम्हाले नेरु कमजोर हुने क्रम रोकेका थिए । अहिले पनि आरबीआई र भारत सरकारले त्यस्तै नीतिहरू अपनाउन सक्ने भएकाले अब भारु धेरै बढी कमजोर नहुने अनुमानहरू गरिएका छन् ।

त्यतिबेला तत्कालीन गभर्नर राजनले केन्द्रीय बैंकमा भएको डलर बजारमा आपूर्ति गर्ने र डलर बाहिरिने क्रम रोक्ने दुईवटा मुख्य नीति अपनाएका थिए । यसकारण अहिलेको नेतृत्वले पनि यस्तै कदमहरू चाल्ने सम्भावना बलियो बन्दै गएको छ । यसो भएको अवस्थामा भारु थप कमजोर हुने छैन । त्यसको सकारात्मक असर नेरुमा पनि पर्नेछ ।

आत्तिहाल्नु पर्दैन
भारु कमजोर भएकाले नेरु पनि कमजोर भए पनि आत्तिहाल्नुपर्ने अवस्था नआएको विज्ञहरूले बताएका छन् ।

मुलुकले उच्च चालु खाता घाटा र भुक्तानी सन्तुलन घाटा व्यहोरिरहेको अवस्थामा घरेलु मुद्रा सामान्य कमजोर हुनु स्वाभाविक भएको राष्ट्र बैंकका पूर्व कामु गभर्नर कृष्णबहादुर मानन्धरले बताए । ‘अहिले नेरु कमजोर भयो भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन,’ उनले भने । उनका अनुसार बढदो चालु खाता र शोधनान्तर घाटा, उच्च आयात, घटदो रेमिटयान्स वृद्धिदर भएको अवस्थामा स्वदेशी मुद्रा कमजोर नेरु कमजोर हुने स्वाभाविक हो ।

अध्ययन सुरु भएन
नेरुको तुलनामा डलर निरन्तर बलियो बन्दै गएपछि त्यसबाट पर्न सक्ने सम्भावित असरबारे राष्ट्र बैंकले अध्ययन थाल्ने बताए पनि बुधबारसम्म त्यस सम्बन्धमा केही काम हुन सकेको छैन ।

डलर निरन्तर रूपमा बढिरहँदा त्यसको सम्भावित असर र प्रभावहरू बारे अन्योल बढेको छ । यही समयमा विदेशी विनिमयदरको उचारचढावले आउने जोखिम व्यवस्थापनका लागि केन्द्रीय बैंकले हेजिङ सुविधा ल्याउन लागेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्थाअनुसार विदेशी विनिमयमा निहित जोखिम व्यवस्थापन गर्न सहयोग पुर्‍याउने उद्देश्यले उक्त व्यवस्था ल्याउन लागिएको हो ।

(हेजिङ विदेशी मुद्राको विनिमय दरमा आउने उतारचढावबाट सिर्जना हुने सम्भावित जोखिम व्यवस्थापन गर्ने महत्त्वपूर्ण विधि हो ।) यही समयमा डलर निरन्तर रूपमा उकालो लागिरहेको छ । डलर बलियो बन्नुको कारण र त्यसबाट पर्ने असर र परिणामबारे अध्ययन अनुसन्धान नहुँदा निकट भविष्यमै ल्याउने भनिएको हेजिङ सुविधा पनि चुनौतीपूर्ण बन्ने विज्ञहरूले जनाएका छन् ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT