ट्रेड युनियन र मालिकलाई पनि टिप

‘हान र रेवानलाई नै थाहा छैन नयाँ व्यवस्थाबारे’
सुरज कुँवर

काठमाडौँ — होटल तथा रेस्टुरेन्टमा खानपानपछि बिलमा उठेको रकममा उपभोक्ताले तिर्दै आएको १० प्रतिशत सेवा शुल्कबाट अब ट्रेड युनियन र व्यवसायी पनि लाभान्वित हुने भएका छन् ।

मजदुरलाई लक्ष्य गरी सुरु गरिएको सेवा शुल्कबाट मजदुर संगठनका नेता र रेस्टुेन्टका मालिक पनि पालिने भएका हुन् ।

सरकारले श्रम नियमावलीमार्फत यो रकमलाई होटल/रेस्टुरेन्टका मालिक र त्यहाँ कार्यरत मजदुरबाहेक मजदुर र मालिकका संगठनलाई पनि बाँडफाँट गर्नुपर्ने बनाइदिएको छ । असार ८ गतेको राजपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तर्फबाट जारी गरिएको सूचनामा दस प्रतिशत सेवा शुल्कलाई शत प्रतिशत मानेर चार भाग लगाइएको छ ।

Yamaha

यसमा आधिकारिक ट्रेड युनियनलाई साढे दुई प्रतिशत, होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूको संगठनलाइ साढे २ प्रतिशत गरी पाच प्रतिशत मालिक र मजदुर नेताका संगठनलाई भागबन्डा गनुपर्नेछ । बाँकी ९५ प्रतिशतमध्ये होटल/रेस्टुरेन्टमा कार्यरत मजदुरलाई ७१ प्रतिशत र रोजगारदाताले २४ प्रतिशत भाग लिनेछन् ।

रेस्टुरेन्ट व्यवसायीहरूको छाता संगठन (रेबान) का पदाधिकारीका अनुसार सेवा शुल्क उपभोक्ताले अनिवार्य तिर्नुपर्ने रकम होइन । छिमेकी मुलुक भारतमा रेस्टुरेस्टमा खानपानपछि कुल बिल रकमको अढाई प्रतिशत प्रदेश र अढाई प्रतिशत केन्द्रीय सरकारलाई कर तिर्नुपर्छ ।

‘भारतमा मोदी सरकारले डेढ वर्षअघि बाध्यकारी सर्भिस चार्जलाई हटाउँदै ऐच्छिक बनायो तर हाम्रो देशमा उपभोक्ताले १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत भ्याट गरी २३ प्रतिशत थप तिर्नुपर्छ,’ राजधानीमा चेन रेस्टुरेन्ट सञ्चालन गर्दै आएका ती व्यवसायीले भने ।

रेबानका अध्यक्ष प्रमोद जैसवालले आफूहरूसँग छलफल नै नगरी कानुन बनाई सेवा शुल्क ल्याएको बताए । ‘यसमा हाम्रो विरोध छ,’ ४ सय रेस्टुरेन्टहरूको संगठनका केन्द्रीय अध्यक्ष जैसवालले भने, ‘यसबारे श्रम सचिव महेश दहाल र पर्यटन सचिव कृष्ण देवकोटालाई भेटैरै विरोध जनाइसकेका छौं । जैसवालले सरकारी अधिकारीहरूले पनि यो नियम कसरी आयो, कसले ल्यायो भन्नेबारे आफूहरू अनविज्ञ भएको बताए ।

‘माओवादी र एमालेको सरकार भएकाले यी दुई दल निकट संगठनका केन्द्रीय मजदुर नेताको दबाबमा यो नियम आएको रेबानको अनुमान छ । फाइभ स्टारसहित २ सय ५० हाराहारी होटलहरूको संगठन (हान) र रेबान सर्भिस चार्जको विषयमा मजदुरहरूले नौ महिना अघिदेखि गर्दै आएका संघर्षका कार्यक्रमको समाधानका लागि सँगै थिए ।

पछिल्लोपटक एकाएक राजपत्रमै सूचना आएपछि आफूहरू हानसँगको सहकार्यबाट अलग्गिएको रेबान अध्यक्ष जैसवालले बताए । ‘यो हानका केही सीमित व्यक्तिको स्वार्थमा आएको नियम हो । हामीलाई फसाइएको छ,’ जैसवालले भने, ‘हामीले हानले नेतृत्व गरेको मजदुरसँगको वार्ता छाडेर हिँडिसकेका छौं । यसमा हाम्रो असहमति छ ।’

हानका अध्यक्ष अमरमान शाक्यले पनि श्रम ऐनमै आएको यस विषयबारे आफ्नो संगठन पनि अनविज्ञ रहेको बताए । ‘सर्भिस चार्जको पक्षमा हामी छैनौं । कसरी आयो हामीलाई नै जानकारी छैन,’ शाक्यले भने ।

नेपालमा पहिलोपटक ०६४ माघदेखि रेस्टुरेन्ट तथा होटलमा १० प्रतिशत सेवा शुल्कको नियम लागू भएको थियो । लोकतन्त्रलगत्तै माओवादी निकट मजदुर संगठनको बोलवालामा ५ वटा ट्ेरड युनियनसँग रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपालले रेस्टुरेन्ट सेवामा १० प्रतिशत सेवा शुल्क लागू गरेको थियो ।

त्यसअघि उपभोक्ताहरूले सेवाबाट सन्तुष्ट भएमा मात्रै टिप्स दिने गर्थे । त्यसै टिप्सलाई मजदुरहरूले अनिवार्य १० प्रतिशत बनाउने कागज गरेका थिए । सरकारले नियमै बनाएको भने थिएन । त्यसबेला सर्भिस चार्जबाहेक मजदुर नेताहरूले तलबमा ग्रेड, सेवा गुणस्तरलगायतका विषयमा सहमति गरेका थिए ।

Esewa Pasal

प्रकाशित : भाद्र २२, २०७५ ०८:५६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कुलेखानी जलाशय भरिँदै

सुरुमा जलाशयमा संकलन गरिएको पानीबाट २१ करोड ११ लाख युनिट विद्युत् उत्पादन हुन्थ्यो अहिले त्यो क्षमतामा ३० प्रतिशत ह्रास आएको छ
प्रताप विष्ट

हेटौंडा — जलाधार क्षेत्रमा भदौ महिनामा वर्षा भएकाले यो वर्ष कुलेखानी जलाशय भरिने भएको छ । विगत २ वर्ष जलाधार क्षेत्रमा थोरै वर्षा भएकाले कुलेखानी भरिएको थिएन ।

कुलोखानीको जलाशयमा डुंगा चढ्दै पर्यटक । तस्बिर : रासस

‘यो वर्ष भदौ महिनाको अन्तिमसम्ममा कुलेखानी जलाशय भरिन्छ,’ कुलेखानी प्रथमका प्रमुख रामकुमार यादवले भने, ‘विगत दुई वर्ष कुलेखानी भरिएको थिएन, यो वर्ष भरिन्छ ।’ नेपाल विद्युत् प्राधिकरण ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलाशयमा मंगलबार दिउँसो १२ बजेसम्म १ हजार ५ सय २३ दशमलव ५ मिटर पानी संकलन भएको छ ।

गत वर्षको यही अवधिमा जलाशयमा १ हजार ५ सय १७ मिटर मात्र पानी संकलन भएको थियो । अहिले ६ मिटर बढी पानी संकलन भएको छ । ‘यो वर्ष कुलेखानी जलाशयमा पुरापुर पानी भरिन्छ,’ कुलेखानी प्रथमका प्रमुख यादवले भने । इन्द्रसरोवर गाउँपालिकामा पर्ने उक्त जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर पानी संकलन गर्ने रहेको छ ।

कुलेखानी जलाशय भरिन करिब ७ मिटर मात्र बाँकी छ । कुलेखानी प्रथमका अनुसार जलाशयमा दैनिक २४ सेन्टिमिटर पानी थपिने गरेको छ । ‘प्रतिघण्टा एक सेन्टिमिटर पानी जलाशयमा थपिन्छ,’ कुलेखानी प्रथमका एक प्राविधिकले भने, ‘जलाधार क्षेत्रमा एक–दुई घण्टा भारी वर्षा भयो भने एक दिनमा एक–दुई मिटर नै पानीको सतह बढ्छ ।’ जलाशयको पानीको खपत अहिले छैन ।

वर्षायाम भएका कारणले कुलेखानी पिक समयमा पनि सञ्चालन गर्नुपरेको छैन । ‘कहिलेकाहीँ सञ्चालन गर्नुपर्दा एक सेन्टिमिटर पानी पनि खपत हुने गरी सञ्चालन गर्नुपरेको छैन,’ प्रमुख यादवले भने । विगत दुई वर्ष कुलेखानी प्रथम र दोस्रो दुवै आयोजना वर्षायाममा पूर्ण रूपमा सञ्चालनमा थिए ।

दैनिक ९२ मेगावाट विद्युत् उत्पादन गरिरहेको थियो । तर, अहिले सञ्चालनमा छैन । ३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइ रहेको कुलेखानीको जलाशयको मार्खु क्षेत्रको तल्लो भाग जलाशयको पानीले ढाकिसकेको छ । कुलेखानी नेपालको ठूला योजनामध्ये एक जलविद्युत् उत्पादन गृह हो । यो वर्ष वर्षायाम सुरु हुनुभन्दाअघि जलाशयमा १ हजार ५ सय २ मिटर पानीको सतह थियो । वर्षायाम सुरु भएपछि २१ मिटर पानी जलाशयमा थपिएको छ । जलाशयको पानी १ हजार ४ सय ८४ मिटरसम्म प्रयोग गर्न सकिन्छ ।

सतह बढेकाले विद्युत् उत्पादनमा कमी जलाशयको पिँधको सतह बढेकाले ६ करोड ३३ लाख युनिट विद्युत् उत्पादनमा कमी आउने गरेको छ । कुलेखानी जलाशयको पानी संकलनको क्षमता नै न्यून हुँदै गएकाले विद्युत् उत्पादनमा पनि कमी आएको हो ।

सुरुमा जलाशयमा संकलन गरिएको पानीबाट २१ करोड ११ लाख युनिट विद्युत् उत्पादन हुने गथ्र्यो तर अहिले त्यो क्षमतामा ह्रास आएर १४ करोड ४७ लाख युनिट मात्र विद्युत् उत्पादन गर्ने क्षमता रहेको छ ।

जलाशयको पानी संकलनको क्षमतामा नै ह्रास आएकाले विद्युत् उत्पादनमा कमी आएको हो । पानी संकलन क्षमतामा ह्रास आएपछि उत्पादन स्वत: प्रभावित हुन्छ । ‘करिब २७ मिलियन क्युसेक पानी अट्ने क्षमतामा ह्रास आएको छ,’ कुलेखानी प्रथमका एक प्राविधिकले भने ।

बर्सेनि जलाधार क्षेत्रबाट खोलाले बगाएर ल्याउने ढुंगा, माटो, बालुवा र पातपतिंगर जलाशयमा थुपिँदा सरोवरको सतह बढेकाले पानी अट्ने क्षमता साँघुरिँदै गएको हो । सुरु सञ्चालनको अवस्थामा कुलेखानी जलाशयमा ८५ दशमलव ३ मिलियन क्युसेक पानी अट्ने क्षमता थियो, त्यो क्षमतामा ह्रास आएर अहिले ५९ दशमलव ९९ मिलियन क्युसेकमा झरेको छ ।

कुलेखानी सञ्चालनमा आएको ३६ वर्षमा १३ मिटरभन्दा बढी जलाशयको पिँधको सतह वृद्धि भएको छ । सरोवरको सतह बढेकाले जलाशयको पानी संकलन गर्ने क्षमतामा ३० प्रतिशत गिरावट आएको हो । विद्युत् उत्पादनमा पनि ३० प्रतिशतले ह्रास आएको छ । जलाशयको पानी क्षमतामा ह्रास आएपछि सुरुको अवस्थाको तुलनामा विद्युत् प्राधिकरणले वार्षिक ३१ करोड रुपैयाँ नोक्सानी व्यहोर्दै आएको छ ।

२०३९ सालमा कुलेखानी जलविद्युत् आयोजना प्रथम सञ्चालनमा आउँदा जलाशयमा संंकलन भएको पानीमध्ये ५७ मिटर पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्थ्यो । २०५० सालको बाढीपछि जलाशयमा संकलन भएकोमध्ये ५० मिटर मात्र पानी विद्युत् उत्पादन गर्न सकिन्थ्यो । हाल करिब ४६ मिटर मात्र पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्छ ।

२०५० सालमा आएको बाढीले जलाशयको पिँधको सतह ६ मिटर बढेको थियो । बर्सेनि जलायशको सतह वृद्धि हुँदै गएको छ । मानव निर्मित जलाशयमा अहिले १ लाख ७० हजार मिटर क्युफिट फोहर जम्मा भएको कुलेखानी प्रथमका एक इन्जिनियर भने । जम्मा भएको बालुवा, माटो, पातपतिंगर र ढुंगा नझिकेमा कुलेखानी पहिलो, दोस्रो र निर्माणाधीन तेस्रो जलविद्युत् आयोजनाको क्षमतामा ह्रास आउने उनले बताए ।

सरोवरमा संकलित पानीलाई प्रयोग गर्ने उद्देश्यले कुलेखानी पहिलो र दोस्रो निर्माण गरेर ९२ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ भने १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यले तेस्रो कुलेखानी भैंसेको सानुटारमा निर्माणाधीन छ ।

जलाशयको तल्लो सतह बढेर पानी संकलन गर्ने क्षमतामा कमी आएपछि कुलेखानीका तीनवटै विद्युत् उत्पादन गृह प्रभावित हुनेछन् ।

कुलेखानी पहिलोबाट ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । विज्ञहरूले यो जलाशयको आयु ५० वर्ष तोकेका छन् । जलाशयमा संकलन भएको ढुंगा, माटो र लेदोहरू झिक्नका लागि जलाशय पूरै खाली गर्नुपर्छ । इन्द्र सरोवरको निर्माण १ करोड २० लाख अमेरिकी डलरमा गरिएको थियो ।

प्रकाशित : भाद्र २२, २०७५ ०८:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT