१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लमजुङमा नक्कली नोट छ्यापछ्याप्ती

आश गुरुङ

लमजुङ — एउटै नम्बर अंकित १ हजार रुपैयाँका नक्कली नोट बेंसीसहरका बजारमा छ्यापछ्याप्ती देखिएको छ । एकै दिनको अघिपछि उक्त नोट बजारमा भेटिएपछि आर्थिक कारोबारमा संलग्न ग्राहक तथा वित्तीय संस्थामा त्रास फैलिएको छ ।

लमजुङमा नक्कली नोट छ्यापछ्याप्ती

बजारमा देखिएको नक्कली नोट सहकारी तथा बैंकसम्म पुगेको छ । केही पैसा बैंकबाट सहकारी हुँदै ग्राहकबाट अर्को बैंकसम्म पुगेको छ ।

एउटै नम्बरका उक्त नोटमा अघिल्लो भागको दायाँतर्फ ‘च’ को मुनी २५ र ३१४१४३ र बायाँ तर्फ ‘च’ को मुनी २५ र ३१४१३४ अंकित छ । बेंसीसहर–८ शेराका ईश्वरकुमार श्रेष्ठले अन्नपूर्ण बचत तथा ऋण सहकारीबाट १ हजार रुपैयाँका १ सय नोट रहेको १ लाख रुपैयाँको प्याक लगेर राष्ट्रिय वाणिज्य बैंकमा लैजाँदा बैंकले प्याकमा एउटा नक्कली नोट फेला पारेको बताए ।

उनका अनुसार उक्त नोट सनराइज बैंकको छापसहितको टाँचा लागेको थियो । बैंकका प्रबन्धक मानबहादुर खत्रीका अनुसार ग्राहकले सुन चुक्ता गर्न आउँदा उक्त १ लाख रुपैयाँको प्याकभित्र उक्त नोट परेर आएको हो । ‘नक्कली नोट जफत गरेर राखेका छौँ । राष्ट्रबैंकमा पठाउँछौं’ उनले भने ।


मेगा बचत तथा ऋण सहकारीका प्रबन्धक सुमन सेवदीका अनुसार बजारमा किस्ता संकलन गरेर आएका बजार प्रतिनिधिबाट १ हजार रुपैयाँका २ वटा नक्कली नोट सहकारीमा आइपुगेको छ । दुवैको एउटै नम्बर रहेको छ ।


‘मंगलबार र बिहीबार लगातार बेंसीसहर क्षेत्रबाट उठाइएको किस्ता रकममा नक्कली नोट पर्न आएको छ । यसलाई खिचेर राखेका छौँ । बैंकमा बुझाउँछौँ ।’ उनका अनुसार नक्कली नोटमा लालिगुराँसको छायाँ छैन ।


स्टीकरमा एनआरबी (नेपाल राष्ट्र बैंक) लेखिएको छैन । पेपर क्वालिटी कमजोर छ । ‘फिल्डका साथीहरुले पैसा उठाएर ल्याएपछि आफैँ गन्छौँ । गन्दागन्दै नोटमा शंका लाग्यो । अनि हेर्दा नक्कली रहेछ’ उनले भने ।


बुधबार बेंसीसहरकै संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाबाट जम्मा गर्ने भनी रिलायन्स फाइनान्समा बुझाएको रकममा १ हजार रुपैयाँको नक्कली नोट परेको छ ।


फाइनान्सका प्रबन्धक विशाल जोशीका अनुसार बिहीबार उक्त रकम फेला परेको हो । नवील बैंकका सहायक प्रबन्धक नारायणप्रसाद आचार्यले ग्राहकले बुझाएको रकममा १ हजार रुपैयाँको नक्कली नोट फेला परेको तर, कसले बुझाएको हो भनी थाहा नभएको बताए ।


लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले नक्कली नोटकको बिगबिगीले व्यवसायीलाई समस्या परेको बताए । ‘नक्कली नोट बजारमा देखिएको छ । पैसा आउने ग्राहकबाट व्यवसायीलाई हो । कसले कसरी ल्याउँछन् र दिन्छन् थाहा हुँदैन’ उनले भने, ‘छामेर पत्ता लगाउनुपर्ने, सबैको ख्याल नपुग्न सक्छ ।’

बैंकमा सक्कली नक्कली छुट्याउने मेशिन नहुँदा समस्या परेको उनले बताए । ‘बैंकमा भीड छ । त्यही भीडमा १ लाख रुपैयाँको नोटमा एउटा नक्कली नोट जाने गरेको पाइएको छ’ उनले भने, ‘कहाँबाट कसरी आयो, यसले त्रास फैलाएको छ ।’


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले यसबारे औपचारिक जानकारी नभएको बताए । ‘बजारमा हल्ला छ । तर, उजुरी कसैले लिएर आएको छैन’ उनले भने । उजुरी लिएर आएमा यसबारे कारबाही अघि बढाउने उनले बताए ।

प्रकाशित : भाद्र २२, २०७५ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?