कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

दुई बेडरुम भएको घरमा बस्छन् यी अर्बपति

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — ५ खर्ब ६३ लाखभन्दा बढी सम्पत्तिका मालिक फिलिपिन्सका म्यानुएल भिलार मात्र दुइटा बेडरुम भएको घरमा बस्छन् ।

दुई बेडरुम भएको घरमा बस्छन् यी अर्बपति

उनी फिलिपिन्सका सबैभन्दा ठूलो मल ‘स्टारमल्स’ तथा घरनिर्माण कम्पनी ‘भिस्टा एन्ड ल्यान्डस्केप्स’ का अध्यक्ष पनि हुन् । सानो छँदा आमासँगै मनिला बजारमा ‘सिफुड’ बेच्न सघाउँथे ।

भिलारको परिवारको नेतृत्वमा रहेको ‘भिस्टा ल्यान्ड एन्ड लाइफस्केप्स’ ले सन २०१९ सम्ममा ३५ मिलियन अमेरिकी डलर खर्चेर १० वटा नयाँ सपिङ मल बनाउने योजना बनाएको छ । उनले यो कम्पनीको जिम्मेवारी छोरा पाओलोलाई दिएका छन् । उनको परिवार मालिक रहेको गोल्डेन हयाभेन मेमोरियल पार्कसमेत सञ्चालनमा छ ।

यो भिस्टा ल्यान्डको मातहतमा रहेको छ । सन् २०१६ को जुनमा मात्रै यो सार्वजनिक भएको थियो । सन् २०१७ डिसेम्बरमा उनको कम्पनीले ब्रिया होम्स नामक कम्पनी खरिद गरेका थिए । उक्त कम्पनीले ठूलो संख्यामा हाउजिङ निर्माण गर्छ । पछि यो कम्पनीको नाम ‘गोल्डेन ब्रिया’ राखे ।

अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार सन् २०१८ मा फिलिपिन्सका ५० जना धनाढयको सूचीमा उनी दोस्रो र विश्वका अर्बपतिहरूमा ७९१ औं स्थानमा छन् । फिलिपिन्सको मनिलामा बसोबास गर्ने ६८ वर्षीय भिलार आफ्नै पौरख र संघर्षबाट सञ्चालन गरेको रियल स्टेट नै उनको सम्पत्तिको स्रोत हो ।

उनको कुल सम्पत्ति ४ दशमलव ९ अर्ब अमेरिकी डलर (रियल टाइम ६ सेप्टेम्बर २०१८) रहेको छ । फिलिपिन्सको राजनीतिमा समेत भिलारले आफ्नो योगदान दिइसकेका छन् । उनी कंग्रेसम्यान, प्रतिनिधिसभाका सभामुख, सिनेटर र सिनेट प्रेसिडेन्टका भूमिका निर्वाह गरिसकेका छन् ।

मनिलाको सबैभन्दा बढी जनघनत्व भएको जिल्ला टोन्डोमा १३ डिसेम्बर १९४९ मा म्यानुएल बम्बा भिलार जुनियर (म्यानुएल भिलार) को जन्म भएको हो । गरिब आमाबुबाको ९ सन्तानमा उनी दोस्रा हुन् । उनका बुबा माछापालन विभागमा निरीक्षक र आमा चाहिँ ‘सिफुड’ बेच्ने गर्थिन् ।

आमाबुबाको आर्थिक अवस्था दयनीय र कमजोर भएकाले त्यत्रो ठूलो परिवार एउटा सानो अपार्टमेन्टमा भाडामा जसोतसो गुजारा गर्थे । सरकारी जागिरे भएकाले फिलिपिन्सको सरकारले उनका बुबालाई अमेरिकामा उच्च शिक्षा ग्रहण गर्नका लागि छात्रवृत्ति प्रदान गरेको थियो । त्यहाँबाट पढेर फर्केपछि भिलारका बुबालाई कृषि तथा प्राकृतिक स्रोत विभागका निर्देशकका रूपमा पदोन्नति गरियो ।

पदको हैसियत बढेपछि उनका बुबाले सरकारी कर्मचारीको जीवन बिमाबाट १६ हजार फिलिपिनी मुद्रा २० देखि २५ वर्षमा तिर्ने गरी घर बनाउन ऋण लिए । त्यसपछि बल्ल उनी आफ्नै घरमा बस्न पाए ।

टोन्डो नजिकैको एउटा सरकारी विद्यालयका विद्यार्थी छँदा उनी आमासँगै माछा बेच्ने डिभिसोरिया नामको बजारमा जाने गर्थे । त्यसताका उनको उमेर मात्र ६ वर्षको थियो । ठूलो परिवार र विद्यालयमा पढदाताका शैक्षिक सामग्री खरिद गर्न रकम जुटाउने उद्देश्यले उनी माछा बिक्री गर्न आमालाई सघाउँथे । यति गर्दा पनि पैसा नपुगेपछि उनकी आमाले भिलारको पढाइ नै छुटाइदिइन् । त्यसताका उनी कक्षा १ का विद्यार्थी थिए ।

केही वर्षपछि फेरि उनले घर नजिकैको एउटा निजी स्कुलमा भर्ना भई प्रारम्भिक शिक्षा हासिल गरे । भिलारले जसोतसो बिजनेस एडमिनिस्ट्रेसनमा स्नातक डिग्री हासिल गरे । पछि उनी स्नातकोत्तर गर्ने सोच पनि बनाए । तर, उनी पढाइभन्दा पनि कामको खोजीमा लागे ।

बाल्यकालमै आमासँग व्यापारमा सहयोग गरेकाले उनी यतै हानिएका हुन् । तर, आफ्नो व्यापार सेवा थाल्नुअघि भिलारले फिलिपिन्सकै सबैभन्दा ठूला एकान्टिङ फर्म ‘सिकिप गोरेस’, भेलायो एन्ड कम्पनीमा एकाउन्टेटका रूपमा काम गरे । केही महिना त्यहाँ काम गरेपछि उनी कम्पनीबाट राजीनामा दिएर माकातीमा सिफुडको पहिलो व्यापार थाले ।

सुरुमा उनको यो व्यापार जमेन तर, उनी चिन्तितचाहिँ भएनन् । ठूलो संख्यामा ग्राहकलाई आफ्नो व्यापारमा सहभागी गराउने उद्देश्यले उनी उधारोमा, सहुलियत दरमा सामग्रीहरू बेच्न थाले । विभिन्न होटलहरूमा खानाका लागि सहुलियत दरमा पाइने टिकटको बिक्री सरकारी कर्मचारीलाई वितरण गर्न थाले । यो काम उनले केही समय मात्रै गरे ।

पछि उनी फिलिपिन्सको एउटा निजी विकास कर्पोरेसनमा वित्तीय विश्लेषकका रूपमा काम थाले । उक्त संस्थामार्फत उनी विश्व बैंकको ऋण उपलब्ध गराउने काम पाएका थिए । उनी त्यही क्रममा ऋण लिने सोच बनाएर जागिर छाडे । आफैंले आकर्षक ऋण दर कायम गरेका उनी त्यसको उपयोग गरे ।

सन् १९७५ मा १० हजार फिलिपिनी मुद्रामा भिलारले दुईवटा पुराना ट्रक खरिद गरी व्यापार थाले । ती दुईवटा ट्रकलाई लस पिनासमा एउटा निर्माण कम्पनीका लागि बालुवा र ढुंगाको आपूर्ति गर्न सुरु गरे । पछि संयोगबस उनी आफैं भवन निर्माण कार्यमा जुट्न पुगे । उनले न्यून ब्याजमा ऋण उपलब्ध गराउने एउटा ग्रामीण बैंकबाट भिलारले सात वर्षका लागि ऋण लिए । त्यो ऋणको उपयोग उनले घर बनाएर बेच्ने परियोजनामा लगाए ।

सुरुमा उनले १६० वटा घर बनाएर बेचेका थिए । त्यसबाट आएको आम्दानीलाई उनले यही क्षेत्रमा लगाउँदै गए । आज उनको त्यो कार्यले कम्पनीलाई मुलुककै सबैभन्दा ठूलो बिल्डिङ कम्पनी बनायो । उनको यो परियोजनाको विशेषता भनेको न्यून दरमा धेरै घरहरू बिक्री गर्ने रहेको थियो । उनले आफ्नो कम्पनीमार्फत २ लाखभन्दा बढी घर बिक्री गरिसकेका छन् ।

सन् १९८४ मा उनले गोल्डेन हयाभेन मेमोरियल पार्क स्थापना गरी समाधि स्थलहरू बनाउने एउटा शृंखला सुरु गरे । यो पार्कमा समाधि स्थल बनाउनेहरूलाई जग्गा उपलब्ध गराउने व्यापार उनले थाले ।

सन् १९९५ को जुलाईमा भिलारको सी एन्ड पी होम्स कम्पनी फिलिपिन्सको स्टक एक्सचेन्जमा सूचीकृत भएपछि एकै दिनमा उनको सम्पत्ति एक तिहाइले वृद्धि हुन गयो । व्यापारमा जसरी अगाडि बढे, राजनीतिमा पनि उनले निकै उचाइसम्म पुग्ने मौका पाए ।

(स्रोत : एजेन्सीहरू)

प्रकाशित : भाद्र २३, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?