कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पूरक बजेट ल्याएर वृद्ध भत्ता बढाउँछौं : दाहाल

चालु बजेटमा वृद्ध भत्ता वृद्धि नगरी बिमाको कार्यक्रम ल्याइएको छ
सुरेश न्यौपाने

नयाँदिल्ली — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पूरक बजेट ल्याएर भए पनि वृद्ध भत्ता वृद्धिसहितका लोकप्रिय कार्यक्रम लागू हुने बताएका छन् । तीनदिने भ्रमणका क्रममा नयाँदिल्ली आइपुगेका दाहालले उक्त जानकारी दिएका हुन् ।

पूरक बजेट ल्याएर वृद्ध भत्ता बढाउँछौं : दाहाल

वाम गठबन्धनको चुनावी घोषणापत्रमा समावेश गरेको मासिक दुई हजारको वृद्ध भत्तालाई बढाएर पाँच हजार पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । तर, गत १५ जेठमा सार्वजनिक भएको चालु आर्थिक वर्षको बजेटमा वृद्ध भत्ता बढाएका थिएनन् । ‘जनतालाई यो सरकारले केही गर्छ भन्ने विश्वास दिलाउन पनि केही लोकप्रिय कार्यक्रम नल्याई भएको छैन । यसमा पार्टीमा समझदारी बनिसकेको छ र चाँडै नै निर्णय हुनेछ,’ पूर्वप्रधानमन्त्री तथा सत्ताधारी दल नेकपाका अध्यक्ष दाहालले भने ।

यस वर्षको बजेटबाट वृद्ध भत्ता वृद्धि गर्न सम्भव नभएको हुँदा नेकपाभित्र पूरक बजेटको बहस सुरु भएको हो । तर, आर्थिक मामिलाका जानकारहरूले चालु आर्थिक वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन नजाँदै लोकप्रिय कार्यक्रम ल्याउने बहानामा पूरक बजेट ल्याउँदा वित्तीय अराजकता निम्तिनेतर्फ सजग रहन सरकारलाई आग्रह गर्दै आएका छन् ।

अर्थमन्त्री युवराज खतिवडाले सामाजिक सुरक्षाका कार्यक्रमलाई व्यवस्थित गर्दै जाने भन्दै वृद्धवृद्धाका लागि बिमा योजना यसपटकको बजेटमा ल्याएका छन् । स्रोतको कमी भएको अवस्थामा पहिलोपटक पूर्ण संघीय संरचनासमेतलाई रकम दिँदा सरकारी ढुकुटीमा चाप परेको छ । गत वर्षको बजेटमा करिब २ खर्ब रुपैयाँका कार्यक्रमलाई रकम नै नभई रकम विनियोजन गरिएको थियो ।

जसले गर्दा स्रोत र खर्चबीच तालमेल मिलाउन कठिन भइरहेको अर्थ स्रोतको भनाइ छ । ‘जथाभावी रकम नछरेर वित्तीय अनुशासन कायम गर्ने प्रयास गरिएको हो,’ अर्थ स्रोतले भन्यो, ‘यसको नतिजा केही वर्षमा देखिनेछ तर फेरि रकम छर्न थालियो भने भन्न सकिँदैन ।’ गत वर्षको बजेट हालका सभामुख कृष्णबहादुर महराले ल्याएका थिए । सोही बजेटमा सरकारी खातामा नभएको रकमलाई स्रोतका रूपमा खर्च देखाइएको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार करिब ८ खर्ब रुपैयाँ बराबरका आयोजनामा हचुवाका भरमा रकम विनियोजन गरिएको छ ।

दाहालले भने पूरक बजेटका सम्बन्धमा नेकपाको नेतृत्व तहमा समझदारी बनिसकेको समेत खुलासा गरेका छन् । शुक्रबार बिहान नयाँदिल्लीको बारखम्बास्थित नेपाली दूतावासमा पार्टीको प्रवास संगठनका पदाधिकारीहरूले सरकारको कार्यसञ्चालनप्रति असन्तुष्टि व्यक्त गरेपछि दाहालले प्रतिक्रिया स्वरूप यस्तो बताएका हुन् ।

दाहालसँगको भेटमा नेकपाका प्रवास संगठनका प्रतिनिधिहरूले दुई तिहाइ सरकारको नेतृत्व गरेर पनि प्रभावकारी काम गर्न नसकेको हुँदा ऐतिहासिक अवसर गुम्ने हो कि भन्ने तर्फ सचेत हुन आग्रह गरेका थिए । त्यसको जवाफमा दाहालले जनताले काम गर्नका लागि पर्याप्त अभिमत दिए पनि जनताको भावनाअनुसार कहाँनेर काम गर्न सकेनौँ भनेर समीक्षा भइरहेको जनाए ।

‘वर्तमान सरकारलाई पाँच वर्षसम्म कसैले हल्लाउन सक्दैन । बरु आफूहरूले नै कति काम गर्न सक्छौं भन्नेमा चिन्ता भने छ,’ उनले भने, ‘जनताका लोकप्रिय मागहरूलाई सम्बोधन गर्ने कुरा होस् वा विकास निर्माणमा कहाँ केन्द्रित हुने ? कर प्रणालीलाई कसरी अगाडि बढाउँदा प्रभावकारी हुन्छ ? एकैपटक गर्दा नकारात्मक सन्देश पो गयो भन्ने हाम्रो विश्लेषण छ ।’

त्यसैगरी सरकारको छ महिनाको कार्यशैलीमाथि पनि गम्भीर समीक्षा भइरहेको र चाँडै नै ठोस निर्णय लिइने दाहालको भनाइ थियो । ‘हामी दुई अध्यक्ष र सचिवालयमा पनि समीक्षा सुरु भएको छ । जनतालाई परिवर्तनको अनुभूति गराउन र उनीहरूको माग सम्बोधन गर्न पनि ठोस कदम चाल्नुपर्ने देखिएको छ,’ चाँडै नै सरकार पुनर्गठन हुनेसमेत संकेत गर्दै उनले भने ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?