नेपालमा लगानी गर्न आग्रह

नयाँदिल्ली — भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै वर्षपछि नेपालमा स्थिर सरकार बनेको हुँदा नेपालमा लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

नेपालमा लगानी गर्न आग्रह

विगतमा राजनीतिक स्थिरता नभएका कारण प्रचुर सम्भावना हुँदाहुँदै पनि अपेक्षाकृत ढंगले लगानी आकर्षित हुन नसकेको समेत दाहालको जिकिर थियो । ‘राजनीतिक स्थिरता नभएसम्म लगानी आउन सक्दैन ।

त्यसैले अहिले नेपालमा स्थायी सरकार छ र यो सरकारको ध्यान वैदेशिक लगानीका लागि अनुकूल वातावरण बनाउनमा छ, अब नेपालमा लगानी गर्नुस्,’ पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (पीएचडीसीसीआई) द्वारा आयोजित भारतका उद्योगी–व्यवसायीहरूसँगको अन्तरक्रियामा दाहालले भने । ‘बिरालो कालो होस् वा सेतो मुसा मारे पुग्छ’ भन्ने चर्चित चिनियाँ भनाइलाई उद्धृत गर्दै नेपालमा लगानी आकर्षित गर्न वर्तमान सरकारले हरसम्भव प्रयास जारी राखेको समेत उनको जिकिर थियो ।

कार्यक्रम भारतीय व्यवसायीहरू जलविद्युत्, प्रविधि, एग्रो प्रोसेसिङ, आयुर्वेद र योग पर्यटनको सम्भावना रहेको बताए । त्यसकासाथै नवउद्यम (स्टार्टअप) को क्षेत्रमा पनि भारत र नेपालबीच सहकार्य हुन सक्ने उनीहरूले जानकारी दिए । पीएचडीसीसीआईका अध्यक्ष अनिल खेतानले राजनीतिक स्थिरताबिना लगानी प्रवद्र्धन असम्भव भएको बताए ।

नेपाल संघीयतामा गएकाले प्रदेशहरूबीच हुने प्रतिपस्र्धाले पनि लगानी आकर्षित गर्न सघाउने भन्दै त्यसको फाइदा लिन सक्नुपर्नेमा उनको जोड थियो । ‘राजनीतिक स्थिरतालाई आर्थिक विकासमा रूपान्तरण गर्नका लागि नेपाल सरकार लगानी आकर्षित गर्न गम्भीर छ,’ उनले भने, ‘तपाईहरूले आगामी दिनमा नेपालमा देखिने परिवर्तन देखिने र नेपालमा लगानीको वातावरण निर्माण हुनेमा पनि उनले जोड दिए ।’ कार्यक्रममा बोल्दै नेपालका लागि भारतका पूर्वराजदूत केभी राजनले अहिलेदेखि काम गर्ने हो भने नेपालले अघि सारेको भिजिट नेपाल कार्यक्रमलाई सहजै सफल बनाउन सकिनेमा विश्वास व्यक्त गरे ।

व्यवसायी एचपी कुमारले साना तथा मझौला उद्यमको क्षेत्रमा नेपालमा र भारतबीच सहकार्यको सम्भावना औंल्याए । यस क्षेत्रले सबैभन्दा बढी रोजगारी दिएको हुँदा यसतर्फ सहकार्य गर्न आवश्यक पहल गर्नुपर्नेमा व्यवसायी एचपी कुमारको जोड थियो । व्यवसायी कृष्ण कुमारले नेपालले आफ्नो सम्भावनाका क्षेत्रमा बढी केन्द्रित गर्न सुझाव दिए ।

उनले ऊर्जा, सीप विकास, अर्गानिक खेतीजस्ता क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न सक्ने बताए । नेपालमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि राजनीतिक स्थायित्व, सुरक्षा र प्रतिलिपि अधिकारको ग्यारेन्टी नहुँदा लगानीका लागि प्रेरित नभएको व्यवसायीहरूको भनाई थियो ।

त्यसको जवाफमा व्यवसायीहरूलाई आश्वस्त पार्दै दाहालले नेपालको परिस्थितिमा उल्लेख्य परिवर्तन आएको र समावेशी संविधान तथा संघीयताले आर्थिक विकासका लागि प्रचुर सम्भावनाका ढोका खोलेको बताउँदै ढुक्क भएर लगानी गर्न व्यवसायीहरूलाई आग्रह गरे ।

दाहालले आजै पीएचडीसीसीआईले नेपाल र भारतबीच व्यावसायिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ गठन गरेको इन्डिया–नेपाल सेन्टरको समेत उद्घाटन गरे । सेन्टरको अध्यक्षमा नेपालका लागि पूर्व भारतीय राजदूत केभी राजन रहेका छन् भने अनिल ठाकुर सेन्टरको सहसंयोजक छन् ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?