नेप्से ४० अंक माथि

साप्ताहिक सेयर समीक्षा
कान्तिपुर संवाददाता

काठमाडौँ — गत साता सेयर बजार परिसूचक ४० अंकले बढेको छ भने कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । साताभर लगातार बढेको बजार परिसूचक अन्तिम दिन भने केही घटेर १२२९.७७ अंकमा आएर टुंगिएको थियो ।

स्टक एक्सचेन्जका अनुसार सातामा २ अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरका १ करोड २ लाख ५५ हजार ६ सय ८० कित्ता सेयरहरू खरिद बिक्री भएका छन् । कारोबार रकम अघिल्लो साताको भन्दा २ सय ५९ प्रतिशत बढी हो । अघिल्लो साता ८० करोड ३० लाख ७ हजार रुपैयाँ बराबरका २५ लाख ४२ हजार ७ सय १० कित्ता सेयरहरू खरिद बिक्री भएका थिए ।

साताभर नेप्सेको वृद्धिमा सबैभन्दा बढी योगदान बिमा समूहले गरेका छन् । उत्पादनमूलक, विकास बैंक, लघुवित्त र वाणिज्य बैंक समूहको परिसूचकमा पनि उल्लेख्य वृद्धि भएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८.५५ अंकले बढेर २६०.३५ अंकमा आइपुगेको छ ।

सातामा कारोबार रकम (२२ करोड ५० हजार रुपैयाँ) को आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा छ । कारोबार भएको सेयर संख्या (६ लाख ६४ हजार कित्ता) र कारोबार संख्या (१५४६ वटा) को आधारमा पनि एनएमबीले अग्रता लिएको छ । सातामा झन्डै ८० करोड रुपैयाँ बराबरका नयाँ सेयर बजारमा थपिएका छन् ।

स्टक एक्सचेन्जका अनुसार गत साता पनि ऋणपत्र कारोबार भएन । सातामा ५ दिन कारोबार हुँदा साधारण सेयर र म्युचुअल फन्डका एकाइहरू मात्रै किनबेच भए । वित्तीय क्षेत्रका कम्पनीहरूको सेयर मात्रै किनबेच हुने गरेकोले नेपालमा पुँजी बजारको सन्तुलित विकास हुन नसककेको विज्ञले बताउँदै आएका छन् ।

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र २४, २०७५ ०८:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गाउँभरि काउली खेती

आश गुरुङ

लमजुङ — मर्स्याङदी गाउँपालिका भुस्मेमा भएका ५५ घरधुरी सबैले काउली खेती गरेका छन् ।स्थानीयका अनुसार काउली खेती नगरेको कुनै घर छैन । बेमौसमी खेती बन्दा, गोलभेंडा फलाएका उनीहरूले मुख्यत: काउली रोप्ने र फलाउने गरेका छन् ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका ८ भुस्मेका किसानले लगाएको काउली । तस्बिर : कान्तिपुर

बाँझो रहेको खेतबारी र कोदो, मकै फल्ने खेत मासेर उनीहरू काउली फलाउन लागेका हुन् । केटाकेटीलाई पढाउन सहर झरेका समेत गाउँ फर्केर तरकारी खेतीमा रमाउन थालेका छन् । ३३ वर्षीया सुनसरी तामाङले ५ रोपनीमा काउली र बन्दा खेती गरिएको बताइन् ।

‘बन्दाभन्दा बढी काउली लगाएको छु । अब फुल्ने बेला हुन लाग्यो,’ उनले भनिन् । उनले कोदो र मकै हुँदै आएको खेतमा तरकारी फलाएकी हुन् । ‘मकै र कोदो रोपेर के गर्ने, जाँडरक्सी बनाउन मात्रै भयो । तरकारी खेतीले पैसा आम्दानी हुन्छ,’ उनले भनिन् । ३ वर्षयता तरकारी खेती थालेका उनले महिनैपिच्छे कम्तीमा २० हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताइन् ।

करीब ६ रोपनी जग्गामा ५५ बर्षीया नालमाया तामाङले काउली, बन्दा, कालो भेन्टा, काँक्रो, मुला, लसुनलगायत फलाएका छन् । वैशाखदेखि असोजसम्म बेमौसमी र अर्को ६ महिना मौसमी खेती गर्दै आएकी छन् । कोदो र मकै खेत मासेर उनले तरकारी खेती गरेको बताइन् । ‘हिजो पैसा भन्ने चिज कहाँ देख्न पाइन्थ्यो र । अहिले हातहातै आएको छ,’ उनले भनिन् ।

तरकारीले राम्रो आम्दानी दिएको समयमा ६ महिनामा ३ देखि ४ लाख रुपैयाँ कमाइ भएको उनले बताइन् । उनले ३ रोपनी जग्गामा अलैंची पनि लगाएकी छन् । बालबालिका पढाउन बेंसीसहर बसेकी ३५ वर्षीय सुबिता तामाङ अहिले गाउँ फर्केर तरकारी खेतीमा व्यस्त भएकी छन् । ‘बजारमा बसेर कुनै काम भएन । बच्चा पढाउने मात्रै भयो । अहिले बच्चा हुर्किसकेको छ । गाउँ फर्किएँ र तरकारी खेतीमा लागें ।’ ३ रोपनीमा काउली लगाएका उनले गएको हिउँदमा ६ क्विन्टल गोलभेंडा फलाएको बताइन् । ‘आलुलाई असिनाले खाइदियो । घाटा भयो । गोलभेंडाले नाफा नै भयो । अहिले काउली फलाएको छु,’ उनले भनिन् ।

स्थानीय विष्णुमाया तामाङका अनुसार ३ वर्षअघि स्थानीय बासिन्दा बेंसीसहर, खुदी र भुलभुलेबाट तरकारी ल्याएर खाने गर्थे । अहिले गाउँमा फलेको तरकारी त्यही ठाउँमा पुर्‍याउने गरिएको छ । ‘हामीलाई तरकारीको कुनै आवश्यकता छैन । बरु बजारमा हामीले पुर्‍याएका छौं,’ उनले भनिन् । सुरुमा समूह गठन गरेर गाउँमै बचत गर्न थालेको र बचतबाट ऋणधन गरी गाउँले सबैले तरकारी खेती गरेको उनले बताइन् ।

उनका अनुसार गाउँमा महिला सशक्तीकरणका लागि शान्ति सामाजिक परिवार गठन गरिएको छ । यसको नेतृत्व उनैले लिएका छन् । यसका लागि समग्र विकास सेवा केन्द्रले उत्प्रेरणा जगाउँदै आएको छ । केन्द्रकी उत्प्रेरक रिना तामाङका अनुसार अहिले तरकारी खेती नगरेका कुनै घर छैन । सबैले गरेका छन् ।

सिंगो गाउँमा तामाङ समुदाय बसेको भुस्मे होमस्टे गाउँ हो । १० घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे सञ्चालक समितिका अध्यक्ष होमराज तामाङका अनुसार होमस्टेमा आउने पर्यटकलाई गाउँमै उत्पादित तरकारी खुवाउने गरिएको छ । ‘तरकारीमा युरिया हाल्दैनौं । पशु चौपायाको गोबर, पातपतिंगर कुहाएर बनाइएको कम्पोस्ट राख्ने गरेका छौं,’ उनले भने ।

२०७१ सालदेखि तरकारी खेती गर्दै आएका स्थानीयले टनेल बनाएर बेमौसमी खेती गर्दै आएका छन् । ‘भुस्मे भनेको आलुले प्रख्यात गाउँ हो । आलुमा समस्या देखिने र असिनाले चुटेपछि हामी अन्य तरकारी खेतीमा जुटेका हौं,’ उनले भने ।


आफैंले फलाएको तरकारी लिएर उनीहरू खुदी, भुलभुले तथा बेंसीसहर बजारसम्म झर्छन् । बजारको मागलाई हेरेर आफ्ना उत्पादन विक्री गर्दा कहिले पाउनुपर्ने रकम नपाउने गरेको उनीहरूले बताएका छन् । ‘हामी गाउँले सबैले तरकारी खेती गरेर गाउँलाई तरकारीमय बनाएका छौं । यसमा हामीलाई खुसी छ,’ सामाजिक परिवारकी सचिव किसान सुनसरीले भनिन् ।

समग्र विकास सेवा केन्द्रकी मीरा भण्डारीका अनुसार सुरुमा स्थानीयलाई तरकारी खेतीका लागि तालिम दिइएको थियो । महिलाको जीवनस्तर उकास्न उनीहरूलाई आत्मनिर्भर हुने तरिकाले भन्दा व्यावसायिक तरकारी खेती गर्न सिकाइएको थियो । ‘हामीले तालिम दियौं । बचन गर्न सिकायौं । बाँकी काम महिला आफैंले गर्नुभएको हो’ उनले भनिन् ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT