लगानी सम्मेलन स्थगित

एलपी देवकोटा

काठमाडौँ — चन्दननाथ नगरपालिकाले भदौ २९ गते आयोजना गरेको लगानी सम्मेलन स्थगित भएको छ । जिल्ला समन्वय समितिले लगानी सम्मेलन गर्दा समन्वय नगरेको भन्दै ध्यानाकर्षण पत्र जारी गरी सम्मेलन गर्न नपाइने आशय देखाएपछि स्थगित गरिएको हो ।

लगानी सम्मेलन स्थगित

नगरपालिकाले भने स्थानीय तहमा देशमै पहिलोपटक हुन लागेको कार्यक्रममा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर हस्तक्षेप भएको आरोप लगाएको छ ।

मुलुकमै पहिलोपटक स्थानीय तहले आयोजना गर्न लागेको लगानी सम्मेलनले जिल्लाको विकास सामथ्र्यको पहिचान हुने र आर्थिक समृद्धिको बाटोमा अग्रसर हुने अपेक्षा थिए । नगरप्रमुख कान्तिका सेजुवालले जिल्लाको समग्र विकासका लागि लगानी सम्मेलनको परिकल्पना गरे पनि जिससले ध्यानाकर्षण गरेपछि स्थगित गरिएको बताइन् । ‘जिल्लाका अन्य स्थानीय तहले असहयोग गरेपछि कार्यपालिकाको बैठकले सम्मेलन स्थगित गर्न बाध्य भयौं,’ उनले भनिन्, ‘लामो समयको संषर्घ र प्रयासपछि कार्यक्रमको तयारी थालिएको थियो ।’

लगानी सम्मेलनका लागि अर्थ मन्त्रालयले साउन १५ गते सहमति दिएको थियो । चन्दननाथ नगरपालिका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत लगानी सम्मेलनका आयोजक रहेका थिए ।

राजनीतिक पूर्वाग्रहका कारण लगानी सम्मेलन हुन नदिन षड्यन्त्र गरिएको नगरप्रमुख सेजुवालको भनाइ छ । ‘सम्मेलनको अन्तिम तयारी भइसकेको थियो, प्रचारप्रसारलगायत सरकारी निकायका प्रमुख, प्रदेशका मुख्यमन्त्री, मन्त्री, मन्त्रालयका सचिव, राजदूत, दातृ निकायलगायत तीन सय बढीलाई निमन्त्रणा दिइसकिएको थियो,’ उनले भनिन्, ‘सम्मेलनका लागि जुम्ला सजिइसकेको अवस्थामा महिलाले सञ्चालन गरिरहेको नगरपालिकालाई सफल हुन नदिने षड्यन्त्र भयो ।’ उनले स्थानीय तह स्वायत्त भएकाले सम्मेलन गर्न पाउने अधिकार भए पनि केही राजनीतिक दल र स्थानीय तहका कारण समस्या भएको बताइन् ।

भदौ १६ गते समन्वय समितिले जिल्लाका सबै स्थानीय तहलाई समन्वय गर्न ध्यानाकर्षणपत्र पठाएको थियो । भदौ १७ गते नगरपालिकाले समन्वयका लागि जिल्लाका सबै स्थानीय तहका प्रमुखलाई बैठकमा बोलाउँदा कोही नआएको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताए । ‘हामीले सक्दो प्रयास गरेका हांै,’ उनले भने, ‘तर, एउटा स्थानीय तहले गर्न लागेको कार्यक्रममा अर्को स्थानीय तहले सहयोग गर्नुपर्ने ठाउँमा विरोध गर्दा यस्तो समस्या आयो, लगानी सम्मेलन गर्दा जिल्लाकै विकास हुन्थ्यो ।’

जिल्लालाई विश्वका दातृ निकायले चिन्ने अवसर स्थानीय तहका जनप्रतिनिधिहरूको जुँगाको लडाइका कारण स्थगित हुनु उचित नभएको उद्योग वाणिज्य संघका अध्यक्ष रामदत्त रावलले बताए । ‘देश विदेशका ठूला व्यवसायीहरू जिल्लामा लगानी गर्न आउँदा हाम्रो जिल्लाको विकास हुन्थ्यो,’ उनले भने, ‘तर, यसमा राजनीति हुनु दु:खद कुरा हो ।’

प्रकाशित : भाद्र २४, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?