कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृषि हाटबजारमा ठूला व्यापारीको कब्जा

मोहन बुढाऐर

धनगढी — धनगढी उपमहानगरपालिका–११ कैलाली गाउँकी फुलमती चौधरीले हाल हाटबजारमा तरकारी बेच्न छोडिसकेकी छन् । उनी आफ्नो घरको उत्पादित तरकारी त्यतैका थोक बिक्रेतालाई बेच्ने गर्छिन् ।

कृषि हाटबजारमा ठूला व्यापारीको कब्जा

फुलमतीले हाट बजारमा तरकारी बेच्न छोड्नुपरेको कारण बताउँदै भनिन्, ‘हाटबजारमा ठाउँ पाउन मुस्किल भयो । ठूला तरकारी व्यापारीले ठाउँ कब्जा गरी बस्न थाले ।’ उनले २५ रुपैया शुल्क तिरेर पाइने हाटबजारको बिक्री गर्ने स्टल ठूला व्यापारीले ओगट्ने गरेको बताए ।

‘स्थानीय उत्पादक किसानले भुइँमा आफनो पसल राख्नुपर्ने भयो,’ उनले भनिन्, ‘बर्खामा त भुइँमा बसेर पनि तरकारी बेच्न नसकिने ।’ फुलमतीले तरकारी बेच्न हाटबजारबाटै सुरु गरेको बताइन् । उनले हाटमा तरकारीको उचित मूल्य राम्रो पाउने गरेको बताइन् । तर, अहिले थोक व्यापारीलाई तरकारी सस्तैमा बेच्नुपरेको बताउँछिन् ।

धनगढी जाईका बालाराम चौधरी ठूला व्यापारिक कारण स्थानीय उत्पादक तरकारी मार्कामा परिरहेको बताउँछन् । ठाउँ अभावसँगै ठूला व्यापारिसँगको प्रतिस्पर्धाले स्थानीय उत्पादनले मूल्य पाउन नसकेको उनको भनाइ छ । चौधरीका अनुसार थोक बिक्रेताले आफ्नो सडेगलेको र बिग्रिन लागेको तरकारी र फलफूल बिक्री गर्न हाटबजारको ठाउँ ओगटेर राख्ने गरेको बताए । राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले हाटबजार होल सेलरको कब्जामा रहेको बताए । उनले हाटबजारमा स्थानीयको अर्गानिक र ताजा तरकारी उपभोक्ताले पाउन नसकेको बताए ।

‘हाटबजारको उद्देश्यअनुरूप सञ्चालनमा छैन,’ उनले भने, ‘हाटबजार ठूला तरकारी व्यापारीको कब्जामा छ ।’ उनका अनुसार स्थानीय कृषि उत्पादनको बजार प्रवद्र्धन गर्न हाटबजार स्थापना भएका हुन् । किसानहरू हाटबजारमा २० प्रतिशत पनि स्थानीय उत्पादन बिक्री नहुने बताउँछन् ।

रेग्मीले हाटबजारमा ८० प्रतिशत भारतबाट आयात भएको तरकारी तथा फलफूल बिक्री हुने गरेको दाबी गरे । नेपालीभन्दा भारतीय नागरिकले हाटबजारबाट फाइदा लिइरहेको उनको भनाइ छ । ‘स्थानीय किसानले आफ्नो उत्पादनको मूल्य एकातिर पाउन सकेका छैनन् । अर्काेतिर बिचौलियाको कारण उपभोक्तालाई तरकारी महँगो पर्छ ।

उनले स्थानीय किसानबाट २० रुपैयाँ किलोमा किनेको तरकारी व्यापारीले दुई गुना बढी मूल्यमा बेच्ने गरेको बताए । त्यसैले हाटबजारमा सम्बन्धित निकायले अनुगमन गरी थोक बिक्रेता र बाहिर भारतीय नागरिकलाई हटाउनुपर्ने उनी बताउँछन् । हाटबजार व्यवस्थापन समितिको मिलोमतोमा ठूला व्यापारीले हाटबजार कब्जा गरेको राष्ट्रिय उपभोक्ता मञ्चका रेग्मीले बताए ।

हाटबजार व्यवस्थापन समितिका सचिव शंकर कोलीले हाटबजारको ठाउँको अभावको समस्या बताए । तर, उनले हाटबजार थोक बिक्रेताको कब्जा भन्ने कुरा गलत भएको बताए । ‘हाटबजारमा प्रत्यक्ष होलसेलको कारोबार हुँदैन,’ उनले भने, ‘सबैले २५ रुपैयाँ शुल्क तिरेर तरकारी तथा फलफूलजन्य वस्तु फुटकर बेच्ने गर्छन् ।’

हाटबजार व्यवस्थापन समितिको गठन गैरसरकारी संस्था सीसीएसअन्तर्गत रहने गरेको छ । सीसीएसले धनगढी उपमहानगरपालिकासँग हाटबजार व्यवस्थापनको वार्षिक ठेक्का दस वर्षका लागि लिएको छ । सीसीएसका अध्यक्ष प्रकाश विष्टले स्थानीय उत्पादन किसानको बजार प्रवद्र्धनका लागि हाटबजार सञ्चालनमा ल्याएको बताए ।

स्थानीय त्रिनगर माध्यमिक विद्यालयको एक बिघा जग्गामा नगरपालिकाले हाटबजार सञ्चालनका लागि जग्गा संयुक्त सार्वजनिक निजी साझेदारी अवधारणअन्तर्गत लिएको उपमहानगरपालिका लेखनाथ ओझाले बताए । उनकाअनुसार सञ्चालनको जिम्मेवारी गैरसरकारी सस्था सीसीएसले दिएको हो । सीसीएसले वार्षिक साढे ६ लाख रुपैयाँ नगरपालिकालाई भुक्तानी गर्ने गरी हाटबजार व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?