१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

चिया मजदुर आन्दोलित

रमेशचन्द्र अधिकारी

काठमाडौँ — चिया मजदुरको पुनर्बहालीको माग गर्दै शनिबार हिले बजारमा प्रदर्शन भएको छ । गुराँसे टी स्टेटमा कार्यरत ७० बढी चिया मजदुर निष्कासित भएसँगै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । मजदुरलाई चिया किसानले समेत साथ दिएका छन् ।

चिया मजदुर आन्दोलित

चिया बगानमा ठेक्का प्रणालीबाट चिया टिप्ने काम जिम्मेवारी दिएपछि टी स्टेट सञ्चालकले ७० मजदुर कटौती गरेको जनाइएको छ । निष्कासित मजदुरहरूले आफ्नो रोजीरोटी खोसिएको भन्दै पुनर्बहालीको माग गरेका छन् ।

मजदुर निष्कासन मजदुरको पुनर्बहाली, श्रम ऐन २०७४ कार्यान्वयन हुनुपर्ने तथा सरकारले निर्धारण गरेको दैनिक पारिश्रमिक कायम गरिनुपर्ने माग अघि सारेका छन् । सरकारले साउन १ देखि लागू हुने गरी चिया मजदुरको साविकको दैनिक पारिश्रमिक २ सय ७८ बाट बढाएर ३ सय ८५ कायम गरे पनि त्यो कार्यान्वयन नगरिएपछि आन्दोलित हुनुपरेको चिया मजदुर संघका केन्द्रीय उपाध्यक्ष नारायण तितुङले बताए ।

‘सरकारले निर्धारण गरेको ज्याला दिन आनकानी गर्नेले उल्टो मजदुर निष्कासन गरिनु हेपाहा प्रवृत्ति हो,’ उनले भने, ‘कयौं मजदुरको हातमुख जोड्ने मेलो नै सकिएकाले पुनर्बहालीको विकल्पै छैन ।’ आन्दोलनका कारण गुराँसे टि स्टेट, जुन चियाबारी तथा नारायणी चिया कारखाना प्रभावित बनेको छ ।

चिया मजदुरले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयनका लागि दुई साताअघि नै श्रम कार्यालय तथा धनकुटा, इलाम र झापाका जिल्ला प्रशासनमा ध्यानाकर्षण गराए पनि चासो नदिएको आन्दोलनरत पक्षले जनाएको छ । धनकुटा जिल्लामा विभिन्न चिया कारखानामा साढे ६ सय बढी चिया मजदुर रहेका छन् ।

२५ वर्षदेखि उक्त चिया बगानमा काम गर्दै आएका पूर्णमाया खनाललाई दुई साताअघि गुराँसे टी स्टेट व्यवस्थापनले निष्कासन गरेको हो । उनले रोजगानी सकिएपछि परिवार पाल्नै मुस्किल परेको बताइन् । वर्षौंदेखि नियमित आम्दानी गरिए पनि व्यवस्थापन पक्षले झुक्याएर कागजमा हस्ताक्षर गर्न लगाएर निष्कासन गरेको उनले बताइन् ।

निष्कासित अधिकांश मजदुरलाई तलब दिने कागज भन्दै हस्ताक्षर (कतिपयले ल्याप्चे) गर्न लगाएर झुक्याएको बताएका छन् । तर, व्यवस्थापन पक्षले ठेक्का प्रणालीबाट थोरै मजदुर मात्र आवश्यक भएकाले समझदारीमै निष्कासन गरेको दाबी गरेको छ ।

टी स्टेटका मेनेजर नवीन कार्कीले केही मजदुर निष्कासन गरेको बताए । सरकारले निर्धारण गरेको ज्याला दिन कठिनाइ भएको उनको भनाइ छ । कारखाना घाटामा गएकाले मजदुर व्यवस्थापन गर्न बाध्य भएको उनको तर्क छ ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?