दुबई जानुपर्ने निगमको जहाज क्वालालम्पुर

दुवई उडान ‘रद्द’ गरेर सोमबार बिहान मलेसिया लगियो
दुबई जाने ६३ र काठमाडौं आउने १५६ यात्रु होटलमा बसे
सुरज कुँवर

काठमाडौँ — पर्यटन प्रवर्द्धनसम्बन्धी नेपालमा शाखा भएको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मलेसियामा बुधबारदेखि आयोजना गर्न लागेको तीनदिने मेलामा भाग लिनका लागि राष्ट्रिय ध्वाजाबाहक एयरलाइन्सको आइतबार रातिको दुवई उडान ‘रद्द’ गरेर विमान सोमबार बिहान मलेसिया लगिएको छ ।

दुबई जानुपर्ने निगमको जहाज क्वालालम्पुर

नेपाल वायु सेवा निगमको उच्च स्रोतका अनुसार, उक्त मेलामा भाग लिन निगमको कर्पोरेट विभागका निर्देशक रवीन्द्र श्रेष्ठ र कमर्सियल विभागका निर्देशक कृष्णगोपाल जोशीसहित ३७ जना नेपालीको टोली सोमबार बिहान साढे नौ बजे काठमाडौंबाट उडेको थियो ।

यसमा निगमका ४ कर्मचारीसहित, पाटा नेपाल, पर्यटन बोर्ड, पर्यटन व्यवसायी र पत्रकार छन् । १ सय ५८ सिट क्षमताको उक्त न्यारो बडी एयरबस विमानमा ६५ जना अन्य टिकट काटेका यात्रु थिए भने पाटाको मेलामा सहभागी ३७ मध्ये ४ जनालाई सित्तैमा टिकट दिइएको थियो भने बाँकी पर्यटन व्यवसायीलाई छुटमा टिकट दिइएको निर्देशक जोशीले मलेसियाबाट बताए ।

निगमका निर्देशक जोशी पाटा नेपालमा द्वितीय उपाध्यक्ष छन् भने अर्का निगमका निर्देशक श्रेष्ठ कार्यकारी सदस्य मात्रै हुन् । पाटा नेपालको अध्यक्ष पोखराको फेवाताल मासेर स्थापना गरिएको विवादास्पद पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टका सञ्चालक सुनील शाक्य हुन् ।

आइतबार राति यो उडान रद्द गरिएपछि काठमाडौंबाट दुबई जाने ६३ यात्रुलाई सिनामंगलका तीनवटा साना होटलमा राखिएको छ भने दुबईबाट काठमाडौं आउन लागेका १ सय ५६ यात्रु उता (दुबई) को होटलमा राखिएको छ ।

यो उडान रद्द भएसँगै होटलको खर्च, अपरेसनलगायतका खर्च जोडा निगमले करोडौं रुपैयाँ बराबर घाटा बेहोर्नुपरेको छ । ‘आइतबारको दुबई उडान रद्द नगरौं, जहाज दुबई पुगेर सोमबार बिहानसम्म काठमाडौं आइपुग्छ अनि मलेसिया उडाउँदा हुन्थ्यो भनेका थियौं तर हाम्रो सुझावको सुनुवाइ भएन,’ स्रोतले भन्यो, ‘मलेसियाको कार्यक्रम नै बुधबारबाट सुरु हुने भएकाले करिब दुई दिन बाँक नै थिए ।’ चालक दललाई खटाउने निगमको अपरेसन विभागले ‘कमर्सियल कारण’ ले मलेसियाको उडान गर्नुपरेको जनाएको छ ।

आइतबार राति दुबईका लागि नियमित उडान भइदिएको भए काठमाडौं र दुबईमा कुल २ सय २१ हाराहारी यात्रुलाई होटलमा राख्नुपर्ने थिएन । काठमाडौंदेखि मलेसिया र दुबईको उडान समय साढे ४ घन्टा हाराहारी हो । यी रुटमध्ये मलेसियाको दुईतर्फी भाडा २८ हजार हाराहारी छ भने दुबईको ३२ हजार हाराहारी छ । ‘इल्डका हिसाबले हामीलाई दुबई उडान गर्दा नाफा हुन्छ । यसबाहेक मलेसियामा अहिले कामदार नजाने भएकाले दुबई उड्दा फाइदा हुन्थ्यो,’ निगम स्रोतले भन्यो ।

शनिबार यो विमानमा प्राविधिक समस्या आएपछि निगमका अन्तर्राष्ट्रिय उडान त्यस दिनयता नियमित भएका छैनन् । हालै ल्याइएका वाइडबडी विमानलाई मलेसिया र दुबई उडानको अनुमति छैन । निगमसँग भएका दुइटा न्यारो बडी एयरबसमध्ये सगरमाथा नामको विमानमा चरा ठोकिएपछि बिहीबारदेखि काठमाडौंमा ग्राउन्डेड छ ।

लुम्बिनी नाम गरेको यो दोस्रो विमानतालिकाअनुसार, आइतबार राति दुबई उडाउन पाइलट समाजकुमार श्रेष्ठ र राजेश कुसुवा विमानस्थल पुगेका थिए । उडान रद्द भएपछि उनीहरू घर फर्केको स्रोतले बतायो । सामेबार बिहान मलेसियाको उडान पी ओल्ट्रा र सुदीप रिजालले उडाएका थिए । ‘निगमका उच्च पदाधिकारीहरूको सल्लाहअनुसार आइतबार दुबईको उडान रद्द गरेर यात्रुलाई गौशालाका होटलमा राति राख्नुपर्‍यो,’ निगम स्रोतले भन्यो, ‘दुबईबाट काठमाडौं आउँदै गरेका यात्रुलाई पनि उतैको स्टेसनका कर्मचारीले निगमको खर्चमा होटलमा राखेका छन् ।’

पाटा नेपालको सदस्यमा निगम पनि छ । पर्यटन प्रवद्र्धन गर्न यसले वर्षमा दुइटा ठूला कार्यक्रम गर्छ । पर्यटन व्यवसायीबाट आन्तरिक रकमको स्रोत जुटाउने यसलाई पर्यटन बोर्डले बिनाप्रतिस्पर्धा हरेक वर्ष दुई करोड हाराहारी रकम दिन्छ । बोर्डले दिने रकम नेपाल सरकारले विदेशी यात्रुको टिकटबाट संकलन हुने रकम हो । सरकारको राजस्व लिएर सञ्चालन हुँदै आएको पाटाले बिनाप्रतिस्पर्धा र कार्यविधिबिना रकम ‘दुरुपयोग’ गर्दै आएको छ ।

विगतमा जस्तै यो पटक पनि भम्रणमा पाटाका सीईओ सरेश बुडालले कार्यविधि मिचेर नेपालबाट सहभागी लिएर गएको पर्यटन बोर्डका एक अधिकारीले बताए । ‘आर्थिक सहयोग हामीले दिन्छौं तर भम्रणमा ककसलाई सहभागी गराइयो थाहै भएन,’ ती अधिकारीले भने, ‘यो पटक पनि भम्रणबारे जानकारी पनि गराएन ।’

मलेसिया पुगेका निगमका कमर्सियल विभाग प्रमुख जोशीले आफू पाटाको द्वितीय उपाध्यक्षका हैसियतमा सहभागी भएको र अर्का निर्देशक श्रेष्ठ निगमका तर्फबाट सहभागी भएको प्रतिक्रिया दिए । दुबईका लागि यात्रु थोरै भएकाले आइतबार रातिको उडान रद्द गरिएको उनले दाबी गरे ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?