भारतबाट मात्र सवा खर्ब रेमिटयान्स

नेपालले भित्र्याएको कुल ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिटयान्समध्ये भारतबाट आएको १५ प्रतिशत हो
यज्ञ बञ्जाडे

काठमाडौँ — गत आर्थिक वर्ष भारतबाट मात्र सवा खर्ब रुपैयाँ रेमिटयान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यो करिब साढे २७ प्रतिशतको वृद्धि हो । पछिल्ला वर्षहरूमा रेमिटयान्स सेवाप्रदायक कम्पनीहरूको विस्तारसँगै भारतबाट आउने रेमिटयान्समा पनि सुधार आएको छ ।

भारतबाट मात्र सवा खर्ब रेमिटयान्स

भारत छिमेकी राष्ट्र हुँदा पनि यसअघि त्यहाँबाट वैधानिक प्रणालीबाट रेमिटयान्स मुलुक भित्र्याउन सकिएको थिएन । पछिल्ला तीन वर्षमा भारतमा रेमिटयान्सलगायत गैरबैंकिङ वित्तीय संस्थाहरूको विकाससँगै बैंकिङ प्रणालीबाट नेपाल भित्रिने रेमिटयान्स पनि बढेको जानकारहरू बताउँछन् ।

गत आर्थिक वर्ष भारतबाट आएको रेमिटयान्स सोही अवधिको कुल रेमिटयान्सको करिब १५ प्रतिशत हो । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष कुल ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिटयान्स भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यो साढे ८ प्रतिशतको वृद्धि हो । गत वर्ष भारतबाहेकका राष्ट्रबाट रेमिटयान्समार्फत ६ अर्ब ४० करोड अमेरिकी डलर (६ खर्ब ४० अर्ब रुपैयाँ) मुलुक भित्रिएको हो ।

कुल ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिटयान्समध्ये बाँकी १ खर्ब १४ अर्ब रुपैयाँ भारतबाट आएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए । ‘पछिल्ला वर्षहरूमा भारतबाट आउने रेमिटयान्समा उल्लेख्य सुधार भएको छ,’ उनले भने, ‘केही बैंक तथा वित्तीय संस्था र रेमिटयान्स कम्पनीको सक्रिय सहभागिताले भारतबाट आउने रेमिटयान्स बढेको हो ।’ आउँदा दिनहरूमा यो क्रम झनै बढ्ने उनको दाबी छ । अघिल्लो आर्थिक वर्ष भारतबाट मात्र करिब ८९ अर्ब ८७ करोड रुपैयाँ रेमिटयान्स भित्रिएको थियो ।

नेपालबाट करिब २० लाख नेपाली रोजगारीका लागि भारत गएको तथ्यांक छ । भारत सरकारले नेपाली मूलका करिब ६० लाख भारतमा बसोबास गर्ने बताउँदै आएको छ । नेपाली मूलका सबै नेपाली नागरिक होइनन् र ती सबैले नेपाल रेमिटयान्स पनि पठाउँदैनन् । यसकारण नेपाल आउने रेमिटयान्स रोजगारीमा गएका २० लाख नेपालीमध्येले नै पठाउने हो । ती नेपालीहरूले यसअघि पनि नेपालमा पैसा पठाउँथे ।

तर, त्यतिबेला वैधानिक (बैंकिङ) प्रणालीमार्फत पैसा आउँदैनथ्यो । कतिपय नेपालीले आफैं पैसा बोकेर आउँथे भने केहीले हुन्डीलगायत गैरकानुनी च्यानल मार्फत पठाउँदै आएका थिए । यसरी ती माध्यमबाट आएको पैसाको रेकर्ड हुँदैन । त्यसो त रोजगारीका लागि नेपाल आएका भारतीयहरूले पनि भारतमा पैसा पठाउँछन् । भारतीयहरूले वार्षिक कति रेमिटयान्स पठाउँछन् भन्ने आधिकारिक तथ्यांक कसैसँग पनि छैन ।

पछिल्ला वर्षहरूमा नेपाल एसबीआई, एभरेस्टलगायत बैंकहरूसँगै आईएमई, प्रभुलगायत रेमिटयान्स कम्पनीहरूले पनि भारत ठूलो मात्रा रेमिटयान्स भित्र्याइरहेको जानकारहरू बताउँछन् । रेमिटयान्स सेवाप्रदायक कम्पनीहरूको विकास र विस्तारसँगै पछिल्ला वर्षहरूमा भारतबाट आउने रेमिटयान्स उल्लेख्य रूपमा बढेको नेपाल रेमिटर्स एसोसिएसनका महासचिव सुमन पोखरेलले बताए । ‘भारतबाट धेरै भन्दा धेरै रेमिटयान्स ल्याउन रेमिटयान्स कम्पनीहरूले निकै मिहिनेत गरेका छन्,’ उनले भने, ‘पछिल्ला वर्षहरूमा रेमिटयान्स आप्रवाहमा उल्लेख्य सुधार आउनु यसकै परिणाम हो ।’

भारत नेपालको छिमेकी राष्ट्र भएकै कारण दुई देशमा आवत–जावतका लागि पासपोर्ट र भिसा चाहिँदैन । यही कारण धेरै भारतीयहरू रोजगारका लागि नेपाल आएका छन् भने त्यत्ति नै संख्यामा नेपालीहरू भारत गएका छन् । भारतमा नेपालीहरूले त्यहाँको बैंकमा सजिलै खाता खोल्न पाउँदैनन् । भारतमा विदेशीलाई बैंक खाता खोल्न निकै झन्झटिलो व्यवस्था छ ।

यही कारण धेरै नेपालीको बैंक खाता छैन । भारत रोजगारीमा जानेहरूमध्ये बहुसंख्यक अशिक्षित छन् । पैसा पठाउनकै लागि उनीहरूले धेरै झन्झट बेहोर्न चाहँदैनन् । यसकारण सबभन्दा नजिकको छिमेकी राष्ट्र भएर पनि यसअघि ठूलो मात्रामा रेमिटयान्स वैधानिक प्रणालीमा आउन सकेको थिएन ।

पछिल्ला वर्षहरूमा रेमिटयान्सलगायत गैरबैंकिङ संघसंस्थाहरूले व्यवसाय विस्तार भएपछि बिस्तारै नेपालीहरूले वैधानिक प्रणालीमार्फत रेमिटयान्स पठाउन थालेका हुन् । ‘गएको तीन वर्षयता भारतबाट आउने रेमिटयान्समा धेरै सुधार भएको छ,’ पोखरेलले भने ।

नेपाल भित्रिने रेमिटयान्समध्ये करिब ७० प्रतिशतभन्दा बढी खाडी मुलुकबाट आउने गरेको छ । खाडी राष्ट्रहरूमध्ये पनि साउदी अरब, कतार, कुबेत, युनाइटेड अरब इमिरेट्स (दुबई) र बहराइनबाट मात्र उक्त रकम नेपाल भित्रिएको हो । सो क्षेत्रका सदस्य राष्ट्रहरू ओमनबाट औपचारिक माध्यमबाट रेमिटयान्स भित्रिने गरेको छैन । हाल परिस्थिति बदलिएको छ । पछिल्ला एक/डेढ वर्षयता साउदी र कतारको हिस्सा घट्दै छ भने मलेसियाको अंश बढन थालेको तथ्यांहरूमा देख्न सकिन्छ ।

अर्थतन्त्रका हिसाबले ठूला र धेरै कमाइ हुने भनिएका राष्ट्र (जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानडा, अमेरिका आदिबाट करिब १२ प्रतिशत रेमिटयान्स मात्र मुलुक भित्रिंदै सरकारी तथ्यांक छ । खाडी राष्ट्रहरूको तुलनामा ती मुलुकमा नेपाली कामदारको संख्या कम भए पनि आम्दानी निकै धेरै हुन्छ । त्यो आम्दानीको ठूलो हिस्सा नेपाल पनि भित्रिन्छ ।

तर, त्यो रकमलाई वैधानिक बाटो (फर्मल च्यानल) मा समेट्न सकिएको छैन । यसले एकातिर नेपालमा अनौपचारिक अर्थतन्त्रले प्रश्रय पाइरहेको छ भने अर्कातिर रेमिटयान्सको वास्तविक अवस्था र योगदानको सही मूल्यांकन हुन नपाएको विज्ञहरू बताउँछन् ।

ठूला भनिएका राष्ट्रहरूमा बैंक र रेमिटयान्स कम्पनीहरूको सम्पर्क कार्यालय खोल्नका लागि जटिल कानुनी व्यवस्था रहेकाले पनि अपेक्षित रूपमा रेमिटयान्स भित्र्याउन समस्या भएको जनाइएको छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?