१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

धानका लागि मल छैन

‘समयमा मल हाल्न नपाउँदा धानका बिरुवा पहेँला भएका छन्’
देवनारायण साह

मोरङ — धानबालीमा मल हाल्ने समय हो यो । तर, बजारमा मल पाइँदैन । सरकारले यो वर्ष समयमै कृषकलाई पर्याप्त मल उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । त्यो प्रतिबद्धता पूरा हुन सकेको छैन । मल अभावमा धानको उत्पादन घट्ने भन्दै कृषकहरू चिन्तित छन् ।

धानका लागि मल छैन

जहदाका कृष्णा साहले धान रोप्ने र गाँज आउने बेलामा कृषि मल नपाउँदा धान पहेँलो भएको गुनासो गरे । ‘रोप्ने बेलामा डीएपी मल हिलो माटोमा हाल्न पाएनौं र अहिले गाँज आउने बेलामा युरिया मल नपाएर हाल्न पाएका छैनौं,’ उनले भने, ‘समयमा मल हाल्न नपाउँदा धानको बिरुवा पहेँलो भएकाले यस वर्ष लगानी नै डुब्ने भएको छ ।’ उनले ४ बिघामा धान खेती लगाएका छन् ।

यस्तै, सुनसरीको गढी गाउँपालिका ३ छिटहाका सुरेन्द्र मेहताले अहिले धानमा युरिया मल हाल्नै पर्ने समयमा अभाव भएकाले यस वर्ष धान उत्पादनमै ह्रास आउने बताए ।

गढी–३ स्थित चन्द्रउदय कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका उनले सहकारीमा आबद्ध १ सय ६५ किसानलाई अहिले ४ सय बोरा युरिया मल आवश्यक भए पनि दुई सय बोरा मात्रै कृषि सामग्री कम्पनी इटहरीले उपलब्ध गराएको बताए ।

‘धान रोप्ने बेलामा पनि डीएपी र युरिया हाल्न नपाउँदा धान राम्ररी फस्टाउन सकेको छैन,’ उनले भने, ‘अहिले धानमा गाँज आउने बेलामा युरिया नपाएर पहेँलो हुँदै गएको छ ।’ उनले ११ बिघामा धान खेती लगाएका छन् ।

यस्तै, स्थानीय सियालाल यादवले व्यावसायिक खेती गर्ने किसानले धान रोप्ने बेलामा डीएपी र युरिया मिलाएर माटोमुनि हाल्नुपर्ने बताए । उनले गाँज आउने बेला र गम्हरा आउने बेलामा युरिया हाल्नै पर्ने जनाए । उनले भने, ‘धान रोप्ने बेलामा पनि मल पाएका छैनौं ।’

धान पूरै पहेँलो भइसकेपछि स्थानीय व्यापारीबाट लुकाईछिपाई ल्याएको भारतीय युरिया २५ रुपैयाँ किलो खरिद गरेर १० कठ्ठामा हालेको उनले सुनाए । पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका प्रवक्ता राजेन्द्र उप्रेतीले किसानलाई अहिले धानमा युरिया मल हाल्नैपर्ने बेलामा अभाव हुनुले प्रतिफल राम्रो नदिने बताए ।

‘अहिले युरिया हालेपछि धानमा गाँज बढी आउने र राम्ररी बढ्छ,’ उनले भने, ‘गाँज आउने बेलामा युरिया नहालेपछि नाइट्रोजनको कमीले धान पहेलो हुँदै जाने हुन्छ र गम्हरा पनि राम्ररी नआउने हुँदा उत्पादनमा ह्रास आउँछ ।’ उप्रेतीले धानमा अहिले सिठब्लाइट रोग लागेर पनि धानको बिरुवा पहेँलो भएकाले युरियाको माग बढी भएको बताए ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरका सूचना अधिकारी नवरत्न गौतमले अहिले युरिया मलको अभावभन्दा पनि मागबमोजिम आपूर्ति हुन नसकेको बताए । उनले यस वर्ष मल खरिदमा भएको ढिलाइले समयमा डीएपी, युरिया, पोटास नआउँदा वितरणमा समस्या भएको स्विकारे । उनले सहकारीहरूले माग गरेअनुसारको मल आपूर्ति गर्न नसकेको जनाए ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरका शाखा अधिकृत केदार ढकालले चालु आर्थिक वर्षमा अहिलेसम्ममा ३ हजार ३ सय ८१ टन युरिया आएको बताए । उनले अहिले तत्काल पूर्वाञ्चलमा ३ हजार टन युरिया आवश्यक रहेको जनाए । ‘अहिले दैनिक ३/४ ट्रक आइरहेको युरिया सहकारीलाई समान रूपमा वितरण गरिरहेका छौं,’ उनले भने, ‘सरकारले खरिद गरेको ९ हजार ६ सय १९ टन युरिया पूर्वाञ्चलका लागि आउने क्रममा छ ।’

गत वर्ष पहिलो चौमासिकमा पूर्वाञ्चलमा १० हजार ४ सय ८०, डीएपी ७ हजार १ सय १० र पोटास ४ सय ८६ दशमलव ६ सय टन आपूर्ति भएको उक्त कार्यालय तथ्यांकमा छ । अहिले विराटनगरमा १ सय ७०, धनकुटामा ७४, इटहरीमा ३६, इलाममा ४, लहानमा २०, राजविराजमा ५ टन युरिया मौज्दात रहेको र विर्तामोड र उदयपुरमा मौज्दात नरहेको कार्यालय तथ्यांकमा छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?