उपभोक्तालाई चिनी महँगो पर्ने

आयात रोक्न मिल्दैन : विज्ञ
आवश्यकताअनुसार खुला गर्न सकिन्छ : आपूर्तिमन्त्री
राजु चौधरी

काठमाडौँ — चिनी उद्योग संघका उपाध्यक्ष राजकुमार अग्रवालका अनुसार उनको कारखानाबाट प्रतिकिलो ६३ रुपैयाँमा चिनी बिक्री हुन्छ । बजारमा भने चिनीको खुद्रा मूल्य प्रतिकिलो ५९ रुपैयाँँ छ । यही बीचमा प्रधानमन्त्री केपी ओलीले चिनी आयात रोक्न अर्थ र वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

उपभोक्तालाई चिनी महँगो पर्ने

यदि चिनीको आयात रोकिने हो भने बजार मूल्य प्रतिकिलो ७० रुपैयाँभन्दा बढी पर्ने व्यवसायी बताउँछन् । स्वदेशी चिनी उद्योगीले यहाँ उत्पादित चिनी बिक्री नभएको र किसानलाई पनि भुक्तानी दिन नसकेकाले आयात बन्द गर्न प्रधानमन्त्रीलाई आग्रह गरेपछि उनले आयात रोक्न निर्देशन दिएका हुन् ।


‘सम्बन्धित क्षेत्रका माननीय, उद्योगी, किसानका नेतासहित प्रधानमन्त्रीसँग भएको छलफलमा आवश्यकताभन्दा बढी चिनी भएकाले आयात रोक्ने छलफल र सहमति भएको छ,’ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कान्तिपुरसित भने, ‘चिनीको डम्पिङ क्षेत्र बनाउनु उचित होइन ।’ उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार हाल चिनी उद्योगीले करिब ४ अर्ब रुपैयाँ किसानलाई तिर्न बाँकी छ । गत वर्षसम्म सरकारले उद्योगीलाई भ्याट फिर्ता दिन्थ्यो । सहुलियत हुँदाहुँदै पनि गत वर्षसम्म मात्रै ७ अर्ब उद्योगीले किसानलाई तिरेका थिएनन् । यस वर्षदेखि सरकारले कडाइ गरेपछि भुक्तानी दिन थालेको पछिल्लो ६ महिनामै ३ अर्ब तिरिसकेका छन् ।


त्यसैले आयात प्रतिबन्ध लगाउनु मात्रै उद्योगीलाई संरक्षण गर्ने उपाय नभएको अर्थविद् बताउँछन् । बरु आयात प्रतिबन्ध हुँदा उपभोक्ता मारमा पर्ने विज्ञ बताउँछन् । ‘विश्व व्यापार संगठन (डब्लूटीओ) सदस्यको नाताले आयात नै बन्द गर्न मिल्दैन,’ अर्थविज्ञ पोषराज पाण्डेले भने । अत्यधिक आयातले उद्योगलाई नै असर गरेको हो भने सुरक्षा उपाय अपनाउन सकिन्छ । असर गरे/नगरेको पुष्टि गर्न सक्नुपर्ने पाण्डेले बताए । ‘त्यति हुँदा पनि आयातलाई निरुत्साहित गर्न भन्सार (शुल्क) अवरोधको प्रयोग हुनुपर्छ,’ उनले भने, ‘आयात नै बन्द गर्न मिल्दैन ।’


मन्त्री यादवले भने आवश्यकताअनुसार पुन: आयात खोल्न सकिने बताए । अहिले आयातको आवश्यकता नभएर रोक्ने सहमति भएको उनले बताए । उपाध्यक्ष अग्रवालका अनुसार उद्योगीहरूले मौज्दात बिक्री भएपछि मात्रै खुला गर्नुपर्ने सुझाव दिएका छन् । हाल उद्योगीसँग करिब १ लाख ८ हजार टन चिनी मौज्दात रहेको संघको दाबी छ । ‘आयात बन्द हुँदा तीन महिनाको अवधिमा करिब ५० हजार टन बिक्री हुन सक्छ । पुस १ गतेदेखि नयाँ सिजन सुरु हुन्छ । क्रसिङ चैत मसान्तसम्म चल्छ,’ उपाध्यक्ष अग्रवालले भने, ‘अहिलकै अवस्थामा उद्योगीसहित किसान मारमा पर्छन् ।’ आयात बन्द गर्दा चिनीको मूल्य नबढ्ने अग्रवालले दाबी गरे । तर, आयात बन्दले चाडबाडमा मूल्य अस्वाभाविक रूपमा बढ्ने उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।


अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा गिरावट आएकाले आयात बन्द उचित नहुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । ‘आयातमा नै प्रतिबन्ध लगाउनु पूर्णत: खुला बजार अर्थ नीति र स्वच्छ प्रतिस्पर्धाको नीति विपरीत हुन्छ,’ उनले भने, ‘आयात प्रतिबन्धले चिनीको बजार मूल्य बढ्छ ।’ यसअघि पनि चिनी उद्योगीले चिनी बिक्री नभएको भन्दै भन्सार महसुल बढाउन दबाब दिएका थिए । सरकारले सोहीअनुसार चिनीको भन्सार महसुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्‍याएको थियो । अहिले पुन: चिनी बिक्री नभएको भन्दै आयात नै प्रतिबन्ध गर्नुपर्ने माग गर्दै आएका हुन् ।


‘२०७३ को चैत र २०७४ को वैशाखमा चिनी उद्योगीको लागत मूल्य ५६ देखि ६६ हुँदा स्थानीय बजारमा ८५ देखि ९५ रुपैयाँसम्म बिक्री भएको थियो । व्यवसायीले अधिकतम मुनाफा २६ प्रतिशतसम्म लिएको सरकारी प्रतिवेदनबाट नै देखिएको छ,’ मञ्चका अध्यक्ष महर्जनले भने, ‘स्वदेशी उद्योगीहरू राष्ट्र र जनताको हितभन्दा आफ्नै हितमा मात्र काम गरेको स्पष्ट देखिन्छ । चाडबाडमा चिनीको मूल्य बढाउने खेल हो ।’ आपूर्तिमन्त्री यादवले भने चिनीको मूल्य नबढ्ने दाबी गरे । ‘चिनीको मूल्य बढदैन । त्यसको ज्ञारेन्टी सरकारले गर्छ । मूल्यको सन्दर्भमा फेरि छलफल गर्छौं,’ उनले भने, ‘चिनी अभाव पनि हुन दिँदैनौं ।’ हाल मुलुकमा १३ चिनी उद्योग छन् ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?