कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मलेसिया लगिएको निगमको जहाजबारे छानबिन हुने

आइतबार रातिको दुबई उडान रद्द गरेर सोमबार बिहान निगमको विमान मलेसिया लगिएको थियो
सुरज कुँवर

काठमाडौँ — काठमाडौं– दुबईको कमर्सियल उडान रद्द गरेर मलेसियामा हुने पाटाको ट्राभल मेलाका लागि लगिएको नेपाल वायु सेवा निगमको विमान घटनाबारे छानबिन गर्न पर्यटनमन्त्री रवीन्द्र अधिकारीले निर्देशन दिएका छन् ।

मलेसिया लगिएको निगमको जहाजबारे छानबिन हुने

पर्यटन प्रवर्द्धन सम्बन्धी नेपालमा शाखा भएको गैरसरकारी संस्था पाटाको बुधबारदेखि मलेसियामा हुन लागेको तीनदिने मेलामा भाग लिनका लागि राष्ट्रिय ध्वाजावाहक विमानको आइतबार रातिको दुबई उडान रद्द गरेर सोमबार बिहान मलेसिया लगिएको थियो । यो उडान रद्द भएपछि त्यस रात दुबई उड्न पर्खिरहेका ६३ यात्रुलाई सिनामंगलका तीनवटा साना होटलमा निगमकै खर्चमा राखिएको थियो भने दुबईबाट काठमाडौं आउन लागेका १ सय ५६ यात्रु उतै रोकिएका थिए ।


मन्त्री अधिकारीले यस विषयलाई गम्भीर भएको प्रतिक्रिया दिँदै संलग्नलाई कारबाही गरिने बताए । ‘एउटा रुटको उडान रद्द गरेर अर्कैतिर जहाज लैजानु गम्भीर विषय हो,’ मंगलबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले भने, ‘सरकारले यस्तो विषयमा छुट दिने छैन ।’


निगमको सञ्चालक समितिका अध्यक्ष तथा सचिव कृष्णप्रसाद देवकोटाले वास्तविकता के भएको हो भनी छानबिन गर्न निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निर्देशन दिएको सम्मेलनमा बताए । ‘वास्तविकता के हो ? बुझ्न लगाएको छु,’ पर्यटन सचिव देवकोटाले भने, ‘यसबारे सबै जानकारी उपलब्ध गराउन भनेको छु ।’ मन्त्री अधिकारी र सचिव देवकोटाले सञ्चार माध्यममार्फत यसबारे जानकारी पाएको बताउँदै सत्यतथ्य सार्वजनिक गर्ने बताए ।


उक्त मेलामा भाग लिन निगमको कर्पोरेट विभागका निर्देशक रवीन्द्र श्रेष्ठ र कमर्सियल विभागका निर्देशक कृष्णगोपाल जोशीसहित ३७ जना नेपालीको टोली सोमबार बिहान साढे ९ बजे काठमाडौंबाट उडेका थिए । यसमा निगमका ४ कर्मचारीसहित पाटा नेपाल, पर्यटन बोर्ड, पर्यटन व्यवसायी र पत्रकार छन् । १ सय ५८ सिट क्षमताको उक्त न्यारो बडी एयरबस विमानमा ६५ जना अन्य टिकट काटेका यात्रु थिए भने पाटाको मेलामा सहभागी ३७ मध्ये ४ जनालाई सित्तैमा टिकट दिइएको थियो ।


आइतबार रातिको दुबई उडान गरेको भए भोलिपल्ट (सोमबार) बिहान मलेसियाको उडान पनि हुन्थ्यो । यसबाहेक त्यसदिन निगमका दुईटा वाइडबडी एयरबस र एउटा बोइङ पनि स्टयान्डबाई अवस्थामा थिए । ‘निगमको कर्मसियल र अपरेसन विभागबीच समन्वय नै देखिएन,’ निगम स्रोत भन्छ ।


यसैबीच निगम मुख्यालयमा मंगलबार भएको नियमित निर्देशकहरूको बैठकमा जहाज दुबई नउडाई मलेसिया लगिएको विषयमा छलफल भएको बैठकमा सहभागी एक स्रोतले भन्यो । ‘बैठकमा महाप्रबन्धक कंसाकारलाई निगमका एक प्राविधिक निर्देशकले मलेसिया उडान गरिनु गल्ती भएको सुनाए,’ स्रोतले भन्यो, ‘दुबईको उडान रद्द नगरेको भए पनि मलेसियाको उडान गर्न सकिन्थ्यो ।’ ती निर्देशकको भनाइ उद्धृत गर्दै स्रोतले कान्तिपुरसँग भन्यो ।


बैठकमा निगमभित्रको सूचना सञ्चार माध्यममा गएको विषयमा महानिर्देशकले निर्देशकहरूलाई सचेत गराएका थिए । ‘दुईजना निर्देशक एउटै कार्यक्रममा नगएको भए पनि हुन्थ्यो,’ निगम स्रोतले भन्यो, ‘पाटाको मेलामा मलेसियास्थित निगमको स्टेसनका कर्मचारीलाई पठाउन सकिन्थ्यो ।’ कार्यक्रम सुरु हुन एक दिनअघि नै निगमको टोली मलेसिया जानु जायज नभएको बताउँदै एक अधिकारीले भने, ‘प्रतिदिन होटल भत्ता २ सय ५० र टयाक्सीलगायतको खर्चका लागि पाइने १ सय २० डलर भत्तामा लोभ गरेको देखिन्छ ।


यसैबीच निगमले मंगलबार विज्ञप्ति जारी गर्दै दुबईको उडान ‘बाध्यात्मक अवस्था सिर्जना भएकाले’ रद्द गर्नुपरेको जनाएको छ ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?